राष्ट्रिय वाणिज्य बैंकले पेन्सन र भत्ता रेमिटेन्सजस्तै गाउँमै बाँड्ने

सुदर्शन सापकोटा
काठमाडौं, पुस २६
सबैभन्दा बढी शाखा सञ्जाल रहेको राष्ट्रिय वाणिज्य बैंकले निजामती कर्मचारीको पेन्सन र सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा पुर्‍याउने भएको छ। बैंकले स्थानीय एजेन्ट नियुक्त गरी गाउँगाउँ गएर पैसा भुक्तानी गर्ने तयारी गरेको हो।
'ग्राहकलाई समय सुहाउँदो र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउन गाउँगाउँ गएर सरकारी पेन्सन तथा अन्य भत्ता भुक्तानी गर्ने तयारीमा लागेका छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले नागरिकसँग भने 'भत्ता वितरणको जिम्मेवारी पाएको स्थानीय विकास मन्त्रालयले राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई यसको जिम्मा दिइसकेको छ।' अहिले यी दुवै बैंकमार्फत पेन्सन र जेष्ठ नागरिक, अपांग-असक्त, एकल महिला, लोपोन्मुखलगायतको भत्ता वितरण भइरहेको छ।
सरकारले उपलब्ध गराउने पेन्सन बैंकले १ सय ३३ शाखा कार्यालयमार्फत भुक्तानी दिँदै आएको छ। काठमाडौं उपत्यकालगायत अधिकांश जिल्ला सदरमुकाममा बैंकले सबै किसिमका भत्ता आफ्ना शाखामार्फत वितरण गरिरहेको छ। गाउँमा भने भत्ता पाउनेहरुले त्यो रकम गाविसमा गएर लिनुपर्छ।

सेवा सुरु गरेपछि वाणिज्य बैंकले रेमिटेन्स कम्पनीकाजस्तै एजेन्टमार्फत भत्ता उपलब्ध गराउने छ। शर्माले पेन्सन र भत्ता लिनेको सदरमुकामहरुमा भिड बढेकाले पनि गाउँमा सेवा पुर्‍याउन खोजेको बताए। 'अरु मुलुकहरुमा पनि यस्तो सुविधा दिइएको रहेछ,' उनले भने। शर्माका अनुसार गाउँमा पेन्सन र भत्ता पुर्‍याउन आवश्यक कम्प्युटर नेटवर्क तयार भइसकेको छ।
'गाउँगाउँ गएर भुक्तानी हुने भएपछि बैंकको सञ्जाल पनि थप बढ्ने छ,' शर्माले भने, 'देशभरका चार हजार गाविसमा सेवा उपलब्ध हुनेछ।' अहिलेलाई बैंकसँग देशभर पुग्ने शाखा नभएकाले एजेन्ट नियुक्त गरिने उनले जानकारी दिए।
'हामीले पनि स्थानीय विकास मन्त्रालयलाई बैंकिङ प्रणालीबाट भत्ता उपलब्ध गराउन भनिरहेका छौं,' अर्थसचिव कृष्णहरि बास्कोटाले नागरिकसँग भने, 'बैंकबाट पैसा गए गलत मान्छेले पाउने र दुरुपयोग तथा हराउने हुँदैन।' सचिव बास्कोटाले राष्ट्रिय वाणिज्य बैंकले पहल थाले सरकारको तर्फबाट पूर्ण सहयोग गरिने जानकारी दिए।
सरकारी खर्च तथा क्रियाकलाप बैंकिङ प्रणालीमार्फत होस् भन्ने उद्देश्यले अर्थमन्त्रालयले स्थानीय विकास मन्त्रालयलाई सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न अनुरोध गरेको थियो। सरकारले सहरी क्षेत्रमा वितरण गरिने सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी गर्ने बताए पनि अहिलेसम्म गर्न सकेको छैन।
शर्माका अनुसार बैंकले स्थानीय एजेन्टसँग सम्पर्क राखेर भुक्तानीका लागि आवश्यक पैसा उपलब्ध गराउने छ। एजेन्टले दिनभरि पेन्सन र भत्ता भुक्तानी गर्छ। उसले भुक्तानी गरेपछि बैंकले त्यो पैसा एजेन्टलाई उपलब्ध गराउने छ। एजेन्ट र बैंकबीच 'कम्प्युटर लिंक' मार्फत प्रत्यक्ष सम्पर्क हुने शर्माले जानकारी दिए।
'बैंकले एजेन्टसँग एउटा निश्चित रकम धरौटीका रुपमा आफूसँग राख्छ,' शर्माले भने, 'धरौटी रकमको सीमाभन्दा कम बैंकले एजेन्टलाई उपलब्ध गराउँछ।' एजेन्टले भने रकम भुक्तानी गरेबापत निश्चित कमिसन पाउने शर्माले जानकारी दिए। 'एजेन्टको कमिसनबारे अध्ययन भइरहेको छ,' उनले भने, 'निश्चित भइसकेको छैन।'
सरकारले भने पेन्सन भुक्तानीका लागि राष्ट्रिय वाणिज्य र नेपाल बैंकलाई १ प्रतिशत कमिसन दिँदै आएको छ। सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीका पूर्वकर्मचारीलाई वार्षिक ११ अर्ब ५५ करोड रुपैयाँ पेन्सन उपलब्ध गराउँदै आएको छ। शिक्षकहरुलाई २ अर्ब २५ करोड रुपैयाँ दिन्छ। यस्तै सामाजिक सुरक्षावापत विभिन्न शीर्षकमा ९ अर्ब ५० करोड रुपैयाँ भत्ता उपलब्ध गराउँछ।

No comments:

Post a Comment

thanks for comment