वृहत्त लगानी क्षेत्र राष्ट्र बैंकले दिन्छ : गभर्नर

  • खाद्यान्न मूल्य घट्छ 
  •  सेयर बजार सुधार हुने
काठमाडौं माघ २
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकिङ क्षेत्रमा कर्जा संकट भएको तथ्यांक प्रस्तुत गर्दै यसको समाधानका लागि वृहत्त क्षेत्र पहिचान गरी बैंकहरुलाई दिइने तयारी भइरहेको बताएका छन् । उनले असारयता वाणिज्य बैंकहरुमा निक्षेप ६३ अर्ब वढे पनि लगानी जम्मा २५ अर्ब मात्र हुन सकेको बताए ।
युवराज खतिवडा
गभर्नर
राष्ट्र बैंक
गभर्नरले कर्जा लगानी नभएका बेला क्रेडिट क्रन्च पहिचान भएको वृहत्त क्षेत्रमा लगानी विस्तार गरेर जाँदा आर्थिक वृद्धि हासिल गर्नसमेत सघाउ पुग्ने बताए । 'वृहत्त क्षेत्र पहिचान गरेर दिने तयारीमा छौं,' आर्थिक पत्रकार समाज सेजन सँगको अन्तक्रृया कार्यक्रममा सोमबार गभर्नरले भने, 'बैंकहरुले राष्ट्र बैंकले दिएको क्षेत्रमा लगानी विस्तार गरे आर्थिक वृद्धि हासिल गर्न सहज हुने छ ।'
खतिवडाले बैंकहरुसँग तीन वर्षमा उत्पादनमूलक क्षेत्रमा लगानी दोब्बर बनाउने रणनीति तयार पार्न निर्देशन दिएको भन्दै योजना सफल भए उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी पुग्ने जानकारी दिए । उनले कृषि साना तथा मझौला उद्योग पर्यटनलगायतका क्षेत्रमा लगानी विस्तारको योजना माग गरिएको बताए ।
उनले पछिल्लो समयमा वढेको रेमिट्यान्सले समेत आर्थिक विकास गर्नका लागि आधार दिइरहेको बताए । गभर्नरले ऊर्जा संकट पुर्वाधारलाई दोस लगाइ पन्छिन छाडेर कृषि पर्यटन क्षेत्रमा लगानी वढाउनु पर्ने बताए । 'सँधै ऊर्जा संकट भयो भनेर गीत गाएर मात्र हुँदैन,' उनले भने, 'ऊर्जा कम प्रयोग हुने क्षेत्र कृषि पर्यटनलगायतमा लगानी वढाउनु पर्यो ।' 
गभर्नरले बैंकहरुको परम्परागत लगानी गरेकाले निक्षेप वढ्दासमेत नयाँ क्षेत्रमा जान नसकेको बताए । उनले तरलता वढेसँगै ब्याज घट्ने अपेक्षामा ऋणको माग नभएको बताए । 'बैंकहरुले ८५ प्रतिशतबाट कर्जा-निक्षेप अनुपात ८० मा झार्नु पर्ने वाध्यता छ,' उनले भने, 'भोलीका दिनमा तरलता अभाव हुने कि भन्ने आशंकाले पनि का लगानी विस्तार हुन नसकेको हो ।'
गभर्नरले विस्तारै ऋणको व्याज घट्न थालेको र पुसपछि पनि अधिक तरलताको अवस्था रहेकाले लगानी विस्तार हुने जानकारी दिए । पुसमा कर प्रयोजनका लागि ठूलो रकम बैंकहरुबाट सरकारी ढुकुटीमा गएर तरलता अभाव हुने अनुमान गरिएको थियो ।
मूल्य घट्छ
गभर्नर खतिवडाले मौसमी प्रभावले खाद्यान्न उत्पादन बढेकाले मूल्य वृद्धि घटन् बताए । कात्तिकको तुलनामा मंसिरमा मूल्य वृद्धि घटिसकेको छ । मंसिरमा मूल्यवृद्धि साढे ८ प्रतिशत छ ।
खतिवडाले भारतमा खाद्यान्न मूल्य वृद्धिको दर ऋणात्मक भएकाले समेत नेपालमा घट्ने दावी गरे । उनले पेट्रोलियमको मूल्य वढेको र सेवा लागत वढेका कारणले अपेक्षा गरेजस्ता मूल्य वृद्धि नघट्ने जानकारी दिए ।
सेयर बजार सुधार हुने
गभर्नरले वित्तीय क्षेत्रप्रति विश्वास वढ्दै गएकाले बैंक तथा वित्तीय संस्थाका सेयर मूल्यमा सुधार आउने बताए । उनले चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको अवस्था खराव नभएकाले बजार सुधार हुने जानकारी दिए ।
'अबका दिनमा बैंक तथा वित्तीय संस्थाका सेयर राम्रो विक्री हुन्छ,' उनले भने, 'यसले बजार सुधार गर्छ ।' गभर्नरले सेयर बजारले कहिले धेरै र कहिले कम प्रतिकृया दिने जानकारी दिँदै बैंक तथा वित्तीय संस्थाहरुको अवस्थामा सुधार आकाले बजारले यसलाई सकारात्मक रुपमा लिने बताए ।
गभर्नरले रियलस्टेटमा वढी मूल्य कायम भएकाले कारोबार नभएको बताए । उनले सर्वसाधारण उपभोक्ता कारोबार रोकिएकाले मूल्य घट्ने अनुमान गर्दै वसेको बताए । 'रियलस्टेट व्यवसायी व्याजसमेत जोडेर मूल्य तय गरिरहेका छन्,'  उनले भने, 'अहिले बजारले मूल्यमा छलफल गरिरहेको छ ।'  गभर्नरले बजारले नै रियलस्टेटको मूल्य तय गर्न खोजिरहेका बेला राष्ट्र बैंकले शंवोधन गर्न आवश्यक नभएको बताए ।

No comments:

Post a Comment

thanks for comment