बैंक ब्याज घट्न थाल्यो

सुदर्शन सापकोटा
काठमाडौं, माघ १०-
पैसा धेरै जम्मा हुँदा पनि लगानी गर्ने ठाउँ नपाएपछि बैंकहरुले ऋणको ब्याज घटाउन थालेका छन्। सबैभन्दा बढी अल्पकालीन ऋणको ब्याज घटाएका छन्। उनीहरुले उपभोक्तासँग प्रत्यक्ष जोडिने कार तथा घरको ब्याजसमेत घटाएका छन्।
'बैंकले नयाँ ऋणीलाई दिने ब्याजदर पुरानो अवस्थामा आइसकेको छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले सोमबार नागरिकसँग भने, 'पुराना ऋणीको पनि चाँडै पहिलोको अवस्थामा आउँछ।'
पुराना ऋणको प्रकृतिअनुसार पुनर्मूल्यांकन समयमा ब्याज घटाइने उनले बताए। बैंकहरुले प्रकृति अनुसार त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा ऋणको पुनर्मूल्यांकन गरी ब्याज थपघट गर्छन्। बैंकहरुले ब्याज घटाउन थाले पनि २ वर्षअघिको अवस्थामा भने आइपुगेको छैन।
पुसमा अग्रिम कर भुक्तानी गर्न ठूलो रकम बाहिरिएर पहिलेजस्तो तरलता अभाव हुने आशंकामा बैंकहरुले ऋण लगानी गरेका थिएनन्। निक्षेप बाहिरिने र कर्जा-निक्षेप अनुपात ८० प्रतिशतमा झार्नुपर्ने कारणले बैंकहरुले ब्याज घटाइरहेका थिएनन्।
अहिले बैंकहरुले अल्पकालिन ऋण (बढीमा एक वर्षसम्मको) १२ प्रतिशतसम्म दिइरहेका छन्। गाडी र घर किन्न बढीमा साढे १३ प्रतिशतसम्ममा ऋण पाइन थालेको छ। नयाँ ब्याजदर तालिका प्रकाशित गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सबै प्रकृतिको ऋणको ब्याज २ प्रतिशत बिन्दुले घटाएको छ। एनआइसी बैंकले १ प्रतिशत बिन्दु घटाइसकेको छ।
'पुसपछि बैंकिङ तरलता असहज हुने भन्ने डर थियो। तर त्यसयता पनि निक्षेप बढेकाले ब्याज घटेको हो,' जोशीले भने, 'अहिले ऋण लगानीमा प्रतिस्पर्धा बढेकाले ब्याज घटाउन मद्दत गर्‍यो।' बैंकहरुसँग अहिले कर्जा-निक्षेप तथा तरलता अनुपात छुट्याएपछि ६५ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ।
'ऋणको ब्याजदर घटाउनमा बैंकहरुबीच प्रतिस्पर्धा चलेको छ,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशी सोमबार नागरिकसँग भने, 'विस्तारै अझै ब्याज दर घट्छ।'
पुसपछि पैसा बाहिरिने अनुमान बैंकरहरुको थियो। पुरानो ऋण नउठेर आम्दानी घटिरहेका बेला बैंकहरुले ब्याज घटाउन अटेर गरेका थिए। कर्जा-निक्षेप अनुपातले पनि ब्याज घटाउन बैंकहरुलाई समस्या थियो।
वित्तीय संस्थालाई दिने निक्षेपको ब्याज अधिकांश बैंकले शून्यमा झारिसकेका छन्। केही बैंकले मात्र ३ प्रतिशतसम्म लगानी गरिरहेका छन्। कल डिपोजिट एकाउन्ट (माग्ने बित्तिकै पैसा फिर्ता दिने खाता) को ब्याजसमेत घटिसकेको छ। अधिकांश बैंकले बचत खाताको ब्याज घटाउन भने सकेका छैनन्। नबिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्र बचत खाताको ब्याज घटाएका छन्।
मुद्दति निक्षेपको ब्याज दर घट्न सुरु भइसकेको छ। यसले बैंकहरुको लागत घटेकाले सस्तोमा ऋण दिन सजिलो भएको हो।
'बजारमा तरलताको अवस्था सहज देखिएकाले निक्षेप र ऋण दुवैको ब्याज घटाएका हौं,' स्ट्यान्डर्ड चार्टर्डका कर्पोरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले भने, 'ब्याज दर बढेको थियो। तरलता स्थिति राम्रो भएकाले वास्तविक हुन घटाएका हौं।'
पुससम्म सय रुपैयाँ निक्षेपमध्ये १५ मात्र राष्ट्र बैंकमा जम्मा गरे पुग्थ्यो। तर, पुसदेखि यो अनुपात बढाएर २० रुपैयाँ कायम गर्नुपर्ने बाध्यताले बैंकहरुले ८० रुपैयाँबाट कमाएर एक सय रुपैयाँ निक्षेपको ब्याजसहित अन्य खर्च कटाएर आम्दानी निकाल्नुपर्थ्यो। बिस्तारै निक्षेपको ब्याज घटेर लागत ओरालो लाग्न थालेको छ। ब्याज तिरेर लिएको निक्षेप त्यसै बस्दा बैंकहरुको खर्च बढिरहेको थियो।
बैंकहरुले ग्राहकको आवश्यकता अनुसार प्रकाशित ब्याज दरभन्दा घटाएर पनि ऋण लगानी गर्न थालेका छन्। 'ठूला र वास्तविक ऋणीले प्रकाशितभन्दा कम ब्याजमा ऋण पाइरहेका छन्,' नबिल बैंकका प्रमुख लगानी अधिकृत भुवन दाहालले नागरिकसँग भने, 'बजारमा छोटो अवधिको ऋण प्रकाशित ब्याजभन्दा कममै लगानी भइरहेको छ।'

No comments:

Post a Comment

thanks for comment