राष्ट्र बैंकले घरजग्गा ऋणको अध्ययन थाल्यो

सुदर्शन सापकोटा
काठमाडौं, पुस १७ -
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट घरजग्गामा गएको ऋणको वास्तविक अवस्था पत्ता लगाउन विस्तृत अध्ययन सुरु गरेको छ । घरजग्गा ऋणले पुसमा ठूलो समस्या निम्त्याउने चर्चा चलिरहेका बेला राष्ट्र बैंकले त्यसको 'स्टे्रस टेस्टिङ' सुरु गरेको हो।
दिएको ऋण उठेन, जोखिम बढ्यो, नोक्सानी व्यवस्थामा ठूलो रकम छुट्ट्याउनु पर्‍यो भने बैंकको 'समस्या' बढ्छ। कुन बैंकको समस्या कति छ भनेर जाँच्ने काम (स्टे्रस टेस्टिङ) राष्ट्र बैंकले पहिलो पटक प्रयोग गरेको हो। चालू वर्षको मौद्रिक नीतिमा स्टे्रस टेस्टिङ गरिने व्यवस्था छ।
'प्रत्येक बैंकले दिएको घरजग्गा ऋणको विशेष अध्ययन गरिरहेका छौं,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले नागरिकसँग भने, 'कुन बैंकले कुन वर्गमा कति लगानी गरेको छ भनेर विस्तृत हेरिरहेका छौं।' राष्ट्र बैंकले अध्ययनबाट आएको नतिजाअनुसार बैंकहरूसँग घरजग्गा कर्जाबारेमा निर्णय लिनेछ।

विश्व आर्थिक मन्दीका बेला सन् २००८ मा अमेरिकाको चर्चित लेहम्यान ब्रदर्स बैंक टाट पल्टिएपछि स्टे्रस टेस्टिङ अवधारणा आएको हो। नेपालमा तरलता अभाव, घरजग्गा ऋण समस्या, अन्तर बैंकमा दबाब आएपछि चालू वर्षको मौद्रिक नीतिमार्फत् यसलाई समेटिएको हो।
'कुन बैंकलाई कस्तो खालको असर परेको छ, अध्ययनबाट देखिन्छ,' उनले भने, 'ब्याज नउठेर परेको असर वा घरजग्गा ऋण खराब अवस्थामा परिवर्तन भएर पर्ने असरबारे विश्लेषण गछर्ौं।' उनले अध्ययनबाट असर पर्ने देखिएका संस्थासँग नियमित छलफल र परामर्श गरिने बताए।
वाणिज्य बैंकहरूको घरजग्गामा करिब ९० अर्ब रुपैयाँ ऋण लगानी छ। यो कूल कर्जा लगानीको १६ प्रतिशत हो। पुसमा यसको २५ प्रतिशत नोक्सानी व्यवस्था गर्नु परे अधिकांश बैंक घाटामा जान सक्छन्। त्यही भएर राष्ट्र बैंकले घरजग्गा ऋणले पार्ने असरबारे अध्ययन गरेको हो। घरजग्गा ऋणबाहेक अन्य क्षेत्रका असरबारे पनि अध्ययन भइरहेको छ।
राष्ट्र बैंकले आफ्नो अध्ययनमा वित्तीय प्रणालीमा ठूलो असर पर्ने देखिए विशेष खालको उपकरणमार्फत् बैंकिङ प्रणालीलाई ठिक ठाउँमा ल्याउन तयारीसमेत गरिसकेको छ। 'ऋणको ब्याज तथा किस्ता भुक्तानीमा समस्या भए, १३/१४ प्रतिशतहाराहारीमा खराब कर्जा पुग्ने अवस्था आए बैंकिङ प्रणालीमै नकारात्मक असर पर्न सक्छ,' अधिकारीले भने, 'त्यस्तो समस्या आए राष्ट्र बैंक विशेष खालको उपकरण तयार पारेर वा सम्पत्ति व्यवस्थापन कम्पनी ल्याएर प्रणाली जोगाउन तयारी अवस्थामा बसेको छ।'
समस्या ठूलो रूपमा आए यसका विकल्पमा सम्पत्ति व्यवस्थापन कम्पनीका बारेमा पनि छलफल भइरहेको उनले बताए। सबै पक्ष मिलेर सार्वजनिक-निजी साझेदारीबाट वा राष्ट्र बैंक र सरकार मिलेर कम्पनीमा जानेबारे छलफल भए पनि निष्कर्ष निस्की नसकेको जानकारी दिए। 'कम्पनी स्थापना गर्न कानुनी कुरा आउने भएकाले समय लाग्न सक्छ,' उनले भने, 'ऐन पनि चाहिने हुन सक्छ वा अन्य उपाय पनि हुन सक्छ।'
उनका अनुसार घरजग्गामा गएको सबै ऋण खराब अवस्थामा नरहेकाले बैंकहरू घाटामै जाने अवस्था छैन। तर, बैंकर तथा घरजग्गा व्यवसायीले कारोबार नभएर पुसको किस्ता उठ्न समस्या पर्ने बताउँदै आएका छन्। उनीहरूले राष्ट्र बैंक र सरकारले घरजग्गा व्यवसायलाई सुविधा दिएर उद्धार गर्नुपर्ने बताइरहेका छन्। विगतमा गरेजस्तो नाफा नभएर बैंकले सेयरधनीलाई बाँड्ने लाभांश घट्न सक्छ।

No comments:

Post a Comment

thanks for comment