भिवोरमा राष्ट्र बैंकको निरिक्षण- पहिलेको अवस्थामा फर्किन पुँजी थप्नु पर्ने


सुदर्शन सापकोटा
काठमाडौं माघ १२
राष्ट्र बैंकले गरेको स्थलगत निरिक्षणले भिबोर विकास बैंकले अतिरिक्त पुँजी थपे मात्र पहिलेको अवस्थामा फर्किन सक्ने देखाएको छ । पुँजी वृद्धिपछि पनि सेयरधनीलाई प्रतिफल दिन केही वर्ष लाग्ने छ ।
'बलियो संस्थासँग मर्जर वा साझेदारीमा गएर वा आफैले पुँजी हालेमा मात्र बैंक पहिलेको अवस्थामा फर्किन सक्छ,' राष्ट्र बैंकका एक अधिकारीले निरीक्षणपछि आएको निष्कर्ष सुनाए, 'ऋणात्मक जगेडा कोष र घाटामा बैंक भएकाले लाभांश बाँड्ने अवस्थामा पुग्न केही वर्ष कुर्नै पर्छ ।'
मर्जर प्रकि्रयामा रहेकाले भिबोरको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा रोक्का छ । कारोबार रोक्का हुनअघि भिबोरको प्रति सेयर मूल्य १ सय १२ रुपैयाँ थियो । भिबोरको ३९ प्रतिशत सेयर सर्वसाधारणमा छ ।
खुद नोक्सानमा रहेको बैंकले आम्दानीको प्रमुख स्रोत असल ऋणको केही अंश बिक्री गरेको छ । स्थिर सम्पति अपार्टमेन्ट जग्गा मा ठूलो रकम लगानी गरेको बैंकले कारोबार नभएर बिक्री नभएकाले त्यहाँबाट तत्काल आम्दानी गर्ने अवस्था छैन ।
चरम तरलता अभाव भएपछि राष्ट्र बैंकसँग भिबोरले लिएको कुल ६८ करोड ८६ लाख रुपैयाँ स्थिर सम्पति र असल ऋण बिक्री तथा अन्तर बैंक सापटी लिएर भुक्तानी गरेको थियो । गत जेठमा लिएको ऋण तिर्ने अवधि सकिएको एक सातापछि भिबोरले चुक्ता गरेको थियो ।
'कम्तिमा तीन वर्ष बैंकलाई धान्न सके भिवोरले असल मूल्यमा सम्पति बिक्री गरेर राम्ररी अगाडि बढ्ने अवस्था रहन्छ,' ती अधिकारीले भने, 'अहिले अरु नै उपायबाट पुँजी वृद्धि गर्न सके पछि सम्पतिले राम्रो मूल्य पाउँछ । यसले बैंकको स्वास्थ सुदृढ बनाउने छ ।'
६८ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी भएको भिबोर ८ करोडभन्दा बढी खुद नोक्सानमा छ । बैंकले राष्ट्र बैंकको ऋण चुक्ता गर्न बाँसबारीको जग्गा बिक्री गरेको थियो । विभिन्न विकास बैंकहरुलाई आफ्नो साढे नौं करोडको असल कर्जा बिक्री गरेको थियो । त्यति नै रकम अन्तर बैंक सापटीबाट चलाएको थियो ।
राष्ट्र बैंकले केही दिनअघि बैंकका अधिकारीहरुलाई बोलाएर पुँजी वुद्धि गर्न अनौपचारिक निर्देशनसमेत दिइसकेको छ । पुँजी वृद्धिमा सघाउन राष्ट्र बैंकले ज्योति समूहसँग समेत आग्रह गरेको छ । भिबोरसँग ज्योति समूहले प्रवद्र्धन गरेको भाजुरत्न फाइनान्स मर्जरको तयारीमा छ ।
'ज्योति समूहले केही पैसा बैंकमा हाल्ने बताएका छन्,' राष्ट्र बैंक स्रोतले भन्यो, 'राम्रो पैसा लगानी भएमा बैंकले आगामी दिनमा राम्रो गर्ने सम्भावना बलियो छ ।' भाजुरत्नको पुँजीबाहेक ज्याति समूहले २० करोड रुपैयाँ बैंकमा थप्ने तयारी गरेको छ । थप रकम आएपछि बैंकको पुँजी ९५ करोड रुपैयाँ पुग्ने छ ।
बैंकले पनि पुँजी वृद्धिका लागि सेयर दिने निक्षेप योजना ल्याइसकेको छ । बैंकले एक लाख रुपैयाँको खाता खोल्नेलाई ग्राहकको रोजाइमा संस्थापक सेयर दिने योजना ल्याएको छ ।
यस बाहेक बैंकले ललितपुरको पुल्चोकमा रहेको अपार्टमेन्ट कम्प्लेक्स सुश्री अपार्टमेन्ट कमलपोखरी ठाडो ढुङाको जग्गा र भैंसेपाटी वुङमति हाउस अपार्टमेन्ट बिक्रीमा राखेको छ । बैंकसँग बाँसबारीमा १ सय ३२ आना जग्गासमेत छ । यसमध्ये केही बिक्री गरिसकेको छ ।
२ अर्ब २३ करोड रुपैयाँ कुल कर्जा दिएको बैंकको ५० करोड रुपैयाँ रियलस्टेटमा छ । अहिले रियलस्टेटको मूल्य घटेसँगै कारोबारसमेत नभएकाले बैंकलाई समस्या छ । यद्यपी पुँजी पर्याप्तता अनुपात भने करिब साढे १२ प्रतिशत छ । बैंकसँग २ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ ।
भिबोरले वित्तीय अवस्था सुधार्न हङकङको इन्भेस्टमेन्ट च्यानल लिमिटेडलाई साझेदारका रुपमा भित्राउन प्रयाससमेत गरेको थियो । कम्पनीले एक अर्ब ३१ करोड १ करोड ६० लाख डलर रुपैयाँ उपलब्ध गराउने तयारी गरेको बैंकका अधिकारीहरुले बताएका थिए । तर कम्पनी नआएपछि बैंकले असल ऋण बिक्री गर्नु परेको थियो ।

No comments:

Post a Comment

thanks for comment