घरजग्गा ब्याज असुलीमा सुधार

- सरकारले सुधारको प्याकेज ल्याउने अनुमान
- बैंकरहरुबाट ब्याज र किस्ता तिर्न थप कर्जा 
- लिलामीमा नाम निस्कने डर

काठमाडौं माघ २
बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नतिर्ने ऋणीको घरजग्गा लिलामी गर्न सूचना निकालेपछि ऋण असुलीमा सकारात्मक प्रभाव परेको छ ।
बैंकरहरुले घरजग्गामा दिएको ऋणमध्ये पुसमा धेरैले किस्ता र ब्याज तिरेको बताएका छन् । 'कर्जाको ब्याज र किस्ता नतिर्नेहरुको नाम सार्वजनिक हुन थालेपछि धेरै सर्वसाधारण र व्यवसायीले ब्याज र किस्ता तिरेका छन्,' एक बैंकरले मंगलबार नागरिकसँग भने, 'कतिपय व्यवसायी र सर्वसाधारणले सरकारले केही राहत दिन्छ भन्ने आशामा पैसा भएर पनि नतिरी बसेका थिए ।'
ती बैंकरका अनुसार सरकारले घरजग्गा व्यवसायका लागि केही रुपमा नीतिगत सुविधा मात्र दिएको छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाले कर्जा नतिर्नेका तस्बिरसहित नाम सार्वजनिक गर्न थालेपछि पैसा हुने र जोहो गर्न सक्नेहरुले तिरेको उनी बताउँछन् । जोहो गर्न नसक्नेलाई बैंकहरुले ब्याज र किस्ता तिर्न थप कर्जा दिएका थिए ।
अर्कोतिर सरकारले घरजग्गा व्यवसाय उकास्न प्याकेज ल्याउने घोषणा गरेपछि कारोबार सुधार हुने अपेक्षाले पनि ऋणको ब्याज भुक्तानी गरिएको हो ।
'अपेक्षा गरेभन्दा बढी ऋण उठेको छ पहिलाको जस्तो निरासाजनक नतिजा छैन,' ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले नागरिकसँग भने । उनका अनुसार घरजग्गाका केही ऋणले ब्याज नतिरे पनि ुनगद प्रवाहु हुने खालको धितो भएकाले बाहिर चर्चा गरिएजस्तो ऋण डुब्ने अवस्था छैन ।
बैंकहरुले चालु वर्षको दोस्रो किस्ता उठाइसक्नुपर्ने अन्तिम दिन शनिबार पनि कार्यालय खोलेर काम गरिरहेका थिए । एक किस्तामात्र पैसा नउठ्दा पनि नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने भएकाले बैंकहरुले पुस दोस्रो साताबाटै ऋणीहरुलाई ताकेता गरिरहेका थिए ।
'निरन्तरको ताकेताले पनि यसपाला हामीले सोचेभन्दा बढी घरजग्गाको ऋण उठेको छ,'  नबिल बैंकका मुख्य लगानी अधिकृत भुवन दाहालले भने, 'पैसा उठे पनि घरजग्गा ऋणको असर भने सकिएको छैन ।'
वाणिज्य बैंकहरुको घरजग्गामा करिब ९० अर्ब रुपैयाँ लगानी छ । अस्वभाविक रुपमा बढेको मूल्य एउटा बिन्दुमा पुगेर रोकिएपछि घरजग्गा कारोबार हुन छाडेको छ । कारोबार नभएर 'नगद प्रवाह' हुन छाडेपछि बैंकहरुको ऋण उठ्न छाडेको हो ।
'सरकारले रियलस्टेट उकास्न प्याकेज ल्याउने घोषणा नगरेको भए अवस्था नाजुक हुने थियो,' एक बैंकरले भने, 'सरकारी प्याकेज आउने अपेक्षामा ब्याज भुक्तानी प्रयोजनका लागि बैंकहरुले व्यवसायीलाई थप ऋण दिएकाले पुसको अवस्था खराब नदेखिएको हो ।'
राष्ट्र बैंकका अनुसार पुस तेस्रो सातादेखि मसान्तसम्म ५ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको ऋण लगानी बढेको छ । ऋण ५ सय ५० अर्बबाट बढेर ५ सय ५५ अर्ब पुगेको थियो ।
केही ऋणको ब्याज र किस्ता नउठेकाले खराब कर्जासँगै नोक्सानी व्यवस्था वापतको रकम भने बढेको बैंकरहरु बताउँछन् । 'केही ऋणमा गढबडी हुँदा नाफाको वृद्धि दर राम्रो भएको छैन,' वज्राचार्यले भने ।
उनका अनुसार ऋण उठ्ती घट्ने र बढी भएको तरलता लगानी योग्य पुँजी लगानी गर्न नसक्दा नाफावृद्धि दर राम्रो नभएको हो । 'यही बेला टे्रजरी विलको दर घटेर तल जाँदा आम्दानीलाई प्रभावित पारेको छ,' उनले भने । गत असोजमा मात्रै बैंकहरुको ब्याज आम्दानी १८ प्रतिशत र नाफा २३ प्रतिशतले घटेको थियो ।
'नाफाको वृद्धि दर कम छ,' किस्ट बैंकका नायव महाप्रबन्धक बिएन घर्तीले नागरिकसँग भने, 'असारको तुलनामा असोज निरासाजनक र असोजको तुलनामा पुस थप निरासाजनक रह्यो ।' उनका अनुसार ऋणबाट हुने आम्दानी घटेका बेला लगानी गर्नुपर्ने रकम त्यतिकै थन्क्याउनुपरेकाले नाफावृद्धि घटेको हो ।
सरकार तथा राष्ट्र बैंकले घरजग्गा क्षेत्रका लागि खुकुलो नीति लिएको बाबजुद पनि घरजग्गा कारोबारमा सुधार नआएकाले बैंकको कर्जा नउठेको हो । कारोबार नभएर घरजग्गा क्षेत्रमा समस्या आएपछि राष्ट्र बैंकले भर्खरैमात्र ८० लाखको सीमालाई १ करोड बनाइसकेको छ । साथै रियलस्टेट ऋण २५ प्रतिशतमा झार्नुपर्ने समय सीमा एक वर्षलाई बढाएर २०७० साल पुर् याएको छ ।
निक्षेप बढ्यो
पुसमा अगि्रम कर भुक्तानीका लागि ठूलो निक्षेप झिकिने विगतको अनुभवभन्दा फरक नतिजा देखिएको छ । राष्ट्र बैंकका अनुसार पुस महिनामा मात्रै निक्षेप झिकिनुका साटो ५ अर्ब रुपैयाँले बढेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा ६ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । राष्ट्र बैंकका अनुसार चालु वर्षको ६ महिनामा विकास बैंकहरुको निक्षेप ५ अर्बले बढेको छ । फाइनान्स कम्पनीको भने २ अर्बले निक्षेप घटेको छ ।





No comments:

Post a Comment

thanks for comment