लिलामी चढाइएका सेयरमा आकर्षण कम

सुदर्शन सापकोटा
काठमाडौं माघ १०
बैंक तथा वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्जमा कारोबार रोक्का भएर तत्काल नामसारी नहुने भएपछि यसमा व्यवहारिक कठिनाइ आएको छ । मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिन बैंक तथा वित्तीय संस्थाले आफ्नो सेयर कारोबार रोक्का गर्नु पर्छ ।
'कारोबार रोक्का राखिएका कम्पनीको नामसारी हुदैन,' प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले भने, 'नामसारी नहुने भएपछि लगानीकर्ताको आकर्षण स्वत कम हुन्छ । लिलामीमा राखेको सेयर नामसारी गर्न सकिएको छैन ।'
प्राइमले माछापुच्छे्र बैंकको जगमोहन गौचनको १ लाख ७० हजार ८ सय ९३ किक्ता संस्थापक सेयर नामसारी गर्न सकेको छैन । माछापुच्छे्र स्टेन्डर्ड फाइनान्ससँग मर्जरमा जान तयार भएर बसेको छ ।
लिलामीमा राखेको सेयर राफसाफ नभएसम्म सेयर स्वामित्व कायम हुँदैन । सेयर स्वामित्व कायम नभइ मर्जरमा जान सकिन्न । नामसारी नहुँदा बैंकहरुलाई ऋण उठाउनसमेत अप्ठेरो भएको छ ।
मर्जर प्रकि्रयामा रहेको बिजिनेस डेभलपमेन्ट बैंकको सेयर नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट प्रमोसन बैंक एन्डेप ले बिक्री गर्न खोज्दा यस्तै समस्या आएको छ ।
'सेयर स्वामित्व हस्तान्तरण नहुँदा समस्या भएको छ,' माछापुच्छे्र बैंकका एक अधिकृतले भने, 'राष्ट्र बैंकसँग कुराकानी गरिरहेका छौं । समाधानको उपाय चाँडै दिन्छौं भन्नुभएको छ ।' राष्ट्र बैंकको मर्जर विनियमावली अनुसार मर्जरका लागि सैद्धान्तिक स्वीकृति माग गर्नुअघि सेयर कारोबार रोक्का गरेर आउनु पर्ने व्यवस्था छ ।
'मर्जर प्रकि्रयालाई भजाएर कसैले गलत रुपमा नाफा नकमाओस् भन्ने उद्देश्यले कारोबार रोक्का गरेका हौं,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'साँच्चै समस्या आएको रहेछ भने आवश्यक अनुसन्धान गरी सहयोग गरिने छ ।' उनले विशेष समस्याका बारेमा लिखित रुपमा आए त्यसलाई समाधान गर्न सकिने व्यवस्था नियमावलीमा भएको जानकारी दिए ।
राष्ट्र बैंक स्रोतका अनुसार सेयर नामसारी नभएर समस्या भएको बारेमा केही दिनयता राष्ट्र बैंकका अधिकारीबीच छलफल चलिरहेको छ । समग्र बजार नै ओरालो लागेकाले पनि लिलामीमा राखिएका सेयरमा आकर्षण कम भएको हो । मर्जरमा जान लागेका कम्पनीहरु 'कमजोर' हुन् भन्ने लगानीकर्ताको मनोविज्ञानका कारण पनि आकर्षण नभएको लगानीकर्ता बताउँछन् ।
राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले परिस्थितिले माग गरे विशेष अवस्थामा कारोबार खुला गरिदिन सकिने जानकारी दिए । 'औचित्यपूर्ण देखिए कारोबार खुला गरिदिन समस्या छैन,' उनले भने, 'अहिलेसम्म समस्या भयो भनेर कोही पनि आएका छैनन् ।'
कारोबार खुला मर्जर नहुने भनेर राष्ट्र बैंकमा आवेदन दिए वा मर्जर भएपछि मात्र हुन्छ । मर्जरका लागि राष्ट्र बैंक गएका बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक स्वीकृति अघि नै कारोबार रोक्का व्यवहारिक नभएको भन्दै यसलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।
'सैद्धान्तिक स्वीकृति पूर्व कारोबार रोक्का राख्नु त्यति व्यवहारिक हुँदैन । यसले साना सेयर लगानीकर्तालाई असर पार्छ,' एक बैंकरले भने, 'सैद्धान्तिक स्वीकृति पाएपछि कारोबार रोक्काको व्यवस्था गर्नु पर्छ ।' उनले सैद्धान्तिक स्वीकृति पूर्व मर्जरहरु भाँडिन सक्ने भएकाले पनि कारोबार रोक्का गर्नु व्यवहारिक नहुने दावी गरे ।
राष्ट्र बैंकबाट ६ वटा वित्तीय संस्थाले मर्जरका लागि सैद्धान्तिक स्वीकृति लगिसकेका छन् । ४ वटा वित्तीय संस्था स्वीकृतिको पर्खाइमा छन् भने १२ वटा मर्जरमा जाने बारे छलफलमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

1 comment:

  1. Crystal Finance under NRB scanner
    http://sharesansar.com/viewnews.php?id=4972

    ReplyDelete

thanks for comment