नेपाली व्यवसायी इन्टरपोलद्वारा पक्राउ

काठमाडौं, माघ १२-
 नेपाल र भारतमा ठगी गरेको अभियोगमा इन्टरपोलद्धारा रेडकर्नर नोटिस भएकी एक नेपाली व्यवसायीलाई थाइल्यान्ड प्रहरीले पक्राउ गरी नेपाल पठाइदिएको छ। एभ्को इन्टरनेसनलकी सञ्चालक विनिता प्रधानलाई थाई विमानबाट बुधबार मध्यान्ह काठमाडौं आउनसाथ नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 
 प्रधान भारतको हुन्डाई कम्पनीको नेपालका लागि आधिकारिक डिलर एम्भोकी सञ्चालक हुन्। आफ्नो नाममा भारतमा रहेको सुहरित प्रालिमार्फत उनले हुन्डाईसँग कारोबार गर्दै आएकी थिइन्।
थाइल्यान्डमा लुकेर बसेको सूचनाको आधारमा भारतको इन्टरपोल डेस्कले बैंककको समकक्षी डेस्कलाई सूचना दिएको थियो। थाई इन्टरपोलले उनलाई पक्राउ गरी नेपाल पठाइन लागेको सूचना नेपालस्थित इन्टरपोल शाखालाई दिएको थियो।
इन्टरपोलले प्रधानविरुद्ध पुस २१ गते रेडकर्नर नोटिस जारी गरेको थियो। उनीविरुद्ध भारतमा आपराधिक विश्वासघात, ठगी, धोकाधडी र जालसाजी लगायतका पाँच वटा अभियोग छ।

नयाँ दिल्लीको भारतीय इन्टरपोल शाखाले नेपालको समकक्षी शाखालाई पठाएको विवरण अनुसार कारोबारका क्रममा १२ करोड १८ लाख भारतीय रुपैया बराबरको ठगी गरेको र १३ करोड ...क्यास त्रे्कडिट लिमिट'को दुरुपयोग गरेको अभियोग छ। नक्कली कागजपत्रका आधारमा प्रधानसहितले भारतको स्टेट बैंक अफ इन्डियालाई समेत ठगी गरेको अभियोग पनि लगाइएको छ।
नेपालमा ठगी उजुरी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार उनीविरुद्ध नेपालमा समेत ठगी अभियोगको उजुरी छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा भारतको हुन्डाई कम्पनीको आधिकारिक बिक्रेता रहेको एभ्कोले करिब ८ करोड रूपैया ठगी गरेको उजुरी दर्ता छ।
हुन्डाईको गाडी खरिद गर्न गएका ग्राहकसँग पैसा लिएर गाडी नदिएको भन्दै उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा करिब ६० जनाले २०६७ मंसिरमा उजुरी दर्ता गराएलगत्तै उनी अर्का सञ्चालक आफ्ना श्रीमान अनुप प्रधानस"गै फरार भएकी थिइन्।
ब्युरोले ठगी अभियोगमा अनुसन्धान र कार्बाहीका लागी उनलाई बुधबारै काठमाडौं परिसरलाई बुझाएको छ।
एभ्कोले हुन्डाई मोटर्सबाट उत्पादित कार र माइक्रोबस नेपालमा आयात गरेर बिक्री वितरण गर्दै आएको थियो।
सवारी साधन बुकिङका लागि ग्राहकसँग अग्रिम रकम लिएर गाडी नदिई सञ्चालकहरू बेपत्ता भएका थिए। पूरै रकम चुक्ता गरेका ग्राहकको गाडी समेत माछापुच्छ्रे बैंकमा धरौटी राखेर ठगी गरेको उजुरी पहिल्यैदेखि दर्ता छ।
उक्त कम्पनीका अर्का सञ्चालक भनिएका सञ्जय प्रधानलाई प्रहरीले एक वर्षअघि पक्राउ गरे पनि कारबाहीविना रिहा भएका थिए। उनको नाममा पनि भारतको इन्रपोलले रेडकर्नर नोटिस जारी गरेको छ।
अन्य चार पनि रेडकर्नरमा
एभ्कोका सञ्चालकमध्येका सञ्जय प्रधान र अनुप प्रधानसहित माधव श्रेष्ठ र धिरेन तामाङ पनि इन्टरपोलको रेडकर्नर नोटिसमा छन्। फरार रहेका भनिएका उनीहरूविरुद्ध समेत जालसाजी, धोकाधडी, ठगी लगायतका पाँच अभियोग छन्।
भारतको आग्रहमै विनिता पक्राउ परे पनि उनलाई नेपालमै राखेर कारबाही गर्ने कि भारतलाई बुझाउने भन्ने अन्यौल रहेको जानकारहरूले बताएका छन्।
नेपाल र भारतबीच सुपुर्दगी सन्धि छैन। इन्टरपोलको रेडर्कनरमा रहेका व्यक्तिलाई अनुसन्धानका लागि रेडकर्नरको आग्रह गर्ने मुलुकलाई सुर्पुदगी गर्ने गरिए पनि विनिता नेपाली नागरिक समेत भएकाले भारतलाई बुझाउन सहज छैन।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारी विनितालाई भारत सुपुर्दगी गर्न कानुनी जटिलता रहेको बताउँछन्। नेपालमै समेत उनीविरुद्ध उजुरी रहेकाले प्रारम्भमा सोही अनुसार कारबाही प्रक्रिया सुरू हुने र अदालतको आदेश अनुसारमात्र उनलाई भारत पठाउने या नपठाउने टुंगो लाग्ने अनुसन्धान अधिकारी बताउ"छन्।
'नेपालमा रहेको मुद्दा किनारा लागेपछि पनि कानुनतः उनलाई भारत बुझाउन सकिँदैन,' ती अनुसन्धान अधिकारीले भने, 'इन्टरपोलको नोटिसमा भए पनि कूटनीतिक पहलका आधारमा मात्र यसको छिनोफानो हुनसक्छ।'
माछापुच्छ्रे संकटमा
एभ्को समूहसँग माछापुच्छे्र बैंकले सहकार्य गरेको थियो। एभ्को डुबेपछि बैंक समेत संकटमा पर्‍यो। बैंकले एभ्कोसँग एक अर्ब २४ करोड रुपैयाँ कर्जा उठाउन बाँकी छ। गाडी बिक्री गर्ने एभ्को इन्टरनेसनलमा मात्र बैंकको करिब ४५ करोड रुपैयाँ फसेको छ।
कर्जा उठ्न नसकेपछि बैंकले समूहका बिनिता राजभण्डारी प्रधान, सञ्जयप्रसाद प्रधान, रविन्द्रप्रसाद प्रधानलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा राखिसकेको छ।
एभ्कोले माछापुच्छे्र बैंकमार्फत प्रतितपत्र (एलसी) खोलेर कोरियाली कम्पनी हुन्डाइको सान्ट्रो गाडी बिक्रीका लागि ल्याएको थियो। बिक्रीका लागि ल्याएका १ सय ६७ वटा गाडीको पैसा बैंकलाई तिरेको छैन। जबकि उसले ग्राहकसँग पैसा उठाइसकेको थियो।
बैंकको नाममा रहेको गाडीको पैसा भुक्तानी नभएकाले बैंकले ग्राहकको नाममा गाडी पास गरिदिएन। यसले गाडीको पैसा भुक्तानी गरिसकेका ग्राहकले एभ्को समूह विरुद्ध आन्दोलनै गर्नुपर्‍यो।
नेपाल राष्ट्र बैंक, उपभोक्ता मञ्चको रोहबरमा बैंकले ग्राहकको सजिलोका लागि ५३ वटा गाडीको ब्लु बुक उपलब्ध गराएको थियो। पछि ग्राहक आफैले पैसा भुक्तानी गरेपछि गाडी पाएका थिए।
एभ्कोले ग्राहकबाट पैसा लिएर नामसारी नगरिदिएको समाचार सार्वजनिक भएपछि कोरियास्थित हुन्डाइ कम्पनीका उच्च अधिकारीको एक टोली आएर छानबिन गरेका थिए। त्यसपछि एभ्कोलाई नेपालका लागि हुन्डाईको अधिकृत बिक्रेताबाट हटाइएको थियो। अहिले एभ्कोका सबै बिक्री केन्द्र बन्द छन्।
एभ्को समूहले सुरुमा पाँच करोड रुपैयाँ ऋण लिएर माछापुच्छे्र बैंकसँग कारोबार सुरु गर्‍यो। एयरलाइन्स, मोटरसाइकललगायत आधा दर्जन कम्पनी सञ्चालन गरिरहेको एभ्को समूह माछापुच्छे्र बैंकसँगै अन्य आधा दर्जन बैंकको ग्राहक सजिलै बन्यो।
कम्पनीको कारोबार बढिरहेको र आफ्नो भरपर्दो ग्राहक अरुले लैजाने हो कि भन्ने प्रतिस्पर्धामा बैंकहरू लागेको बुझेपछि एभ्कोले कर्जाको रकम बढाउन थाल्यो। अन्य बैंकले पनि कर्जा दिन थाले।
आफ्नो ग्राहक अरुले लैजाने भयले माछापुच्छे्र बैंकले एभ्कोलाई रिझाउन खोज्यो जसले गर्दा माछापुच्छे्र बैंकमा एभ्को निर्भरता बढेसँगै कर्जाको आकार पनि बढ्यो। जुन विस्तारै एभ्कोको सम्पत्तिले धान्नै नसक्ने भयो।
आफ्नो सम्पतिबाट धान्न नसक्ने भएपछि एभ्को समूह बैंकसँग टाढिन थाल्यो। बैंकले कर्जा उठाउन कडाइ गर्न थालेपछि ऋण नतिर्न समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी हाल्नेदेखि अदालतसम्म गयो।
बैंकले कर्जा उठाउन धमाधम लिलाम बिक्रीको सूचना सार्वजनिक गर्न थालेको छ। यससँगै एभ्को समूहले भन्सारबाट नछुटाएका ९० वटा गाडी ल्याएर बिक्री गर्ने योजना बैंकले बनाएको छ।
सरकारसँग मिलेर बैंकले ती गाडी ल्याएर बिक्री गर्न पहल गरिरहेको बैंक स्रोतले बतायो। बैंकले थापाथलीमा रहेको एभ्कोको करिब तीन रोपनी जग्गा बिक्रीको तयारी समेत सुरू गरेको छ। 
 
 यसरी डुब्यो एउटा कम्पनी एभ्को समूह अन्तर्गतका एभ्को इन्टरनेसनल, कस्मिक अटोमोबाइल, कस्मिक एयर सञ्चालनमा थिए। करिब १० वर्षअघि एभ्को समूहले एउटा महत्वाकांक्षी योजना ल्याएको थियो। विभिन्न बैंकसँग कर्जा लिएर उसले दुई ठूला आकारका जहाज ल्याएर सस्तोमा भारत र बंगलादेश उडान सुरू पनि गर्‍यो।
सामान्यतयाः ३ हजार रुपैयाँ लाग्ने विराटनगर-काठमाडौं उडानमा कस्मिकले १ हजार ९ सय रुपैयाँमा टिकट बिक्री गरेको थियो। प्रत्येक उडानमा सहभागीमध्येबाट एक जनालाई मोटरसाइकल उपहार दिने योजनासमेत ल्यायो।
धान्न सक्नेभन्दा बढी घाटा खाएर उसले हवाइ उडान व्यवसायमा समकक्षी कम्पनीहरूलाई पछि पार्न त्यो आक्रामक योजना ल्याइएको थियो। बुद्ध एयर र यति एयरलाइन्स प्रतिस्पर्धी थिए। एभ्को समूहको वास्तविक समस्या कस्मिक एयरबाटै सुरू भयो।
कारोबारबाट घाटा दिनहुँ बढ्ने र त्यहीअनुसार उसले बैंकमा तिर्नु पर्ने ऋणको आकार बढ्दै गयो। बैंक कर्जासँगै कस्मिक एयरले सरकार, विमानस्थल र इन्धनमा पनि ठूलो रकम तिर्नुपर्ने भयो जुन अझै तिर्न बाँकी छ।
एभ्को समूहले कस्मिक इङयाङ मोटरसाइकल नेपालमा उत्पादन गर्ने प्रयास गर्‍यो। उत्पादन गरेको मोटरसाइकल बिक्री गरेर बजार हिस्सा बढाउन आफैले प्रवर्द्धन गरेको वित्तीय संस्था कस्मिक फाइनान्सबाट ऋण दियो। यो मोटरसाइकलले बजारमा कुनै प्रभाव पारेन। यसले कस्मिक फाइनान्समा समेत असर पर्‍यो। अहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी बन्द छ।
एकमात्र आधिकारिक बिक्रेताका रुपमा कोरियाली कम्पनी हुन्डाइको गाडी बिक्रीमा पनि समस्या आयो। समग्र असरले यो समूह ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो।
आफू निकट र आफ्ना कम्पनीहरूलाई कर्जा दिन एभ्को समूहले कस्मिक फाइनान्स सञ्चालन गरेको थियो। समूहले आफ्ना कम्पनीमा लगानी गर्न नयाँ फर्महरू खोलेर कर्जा दिएको थियो। फाइनान्सबाट कुल कर्जाको ७० प्रतिशतसम्म एभ्को समूहअन्तर्गतकै व्यक्तिहरुले ऋण लिएका थिए जुन कर्जा पछि उठेन।
कर्जा नउठेपछि कम्पनीको पुँजी क्षय नै भएको थियो। कस्मिक फाइनान्सको वित्तीय स्वास्थ्य दिनदिनै बिग्रिन थालेपछि राष्ट्र बैंकले त्यसका सञ्चालक तथा प्रवर्द्धकलाई बोलाएर आफ्नो सेयर हिस्सा घटाउन वा सम्पूर्ण सेयर बिक्री गर्न निर्देशन दियो। एभ्कोले नयाँ समूहलाई सम्पूर्ण सेयर बिक्री गरेर बाहिरियो।
कस्मिक फाइनान्सको कर्जा तत्काल चुक्ता गर्न सक्ने अवस्थामा एभ्को समूह नभएकाले नयाँ समूहले त्यो ऋणसमेत खरिद गरेर फाइनान्स सकार्नु परेको थियो। हाल सफल रुपमा सञ्चालन भइरहेको यो फाइनान्समा अझै पनि पुरानो केही ऋण उठ्न बाँकी छ।

No comments:

Post a Comment

thanks for comment