बीओकेको विवाद मिलाउन राष्ट्रबैंकको पहल

बैंक अफ काठमाण्डू (बिओके) को संचालकको विवाद मिलाउने राष्ट्रबैंकले पहल शुरु गरेको छ। गत चैतको पहिलो साता प्रबन्ध निर्देशकको पद खारेज गर्दै संचालक समितिले कार्यकारी प्रमुखबाट राधेश पन्तलाई हटाएपछि तीव्र भएको विवाद मिलाउन राष्ट्रबैंकले अनुरोध गरेको छ।

बैंकका अध्यक्ष संजय शाह र पन्तलाई केही दिनअघि राष्ट्र बैंकमा बोलाएर छलफल गरेको केन्द्रीय बैंकका अधिकारीले बताएका छन्। 'शाह र पन्तलाई विवाद मिलाएर बैंक चलाउन अनुरोध गरिएको छ'- एक अधिकारीले भने-'धेरै लामो समयसम्म बैंकमा कार्यकारी प्रमुख खाली नराख्न भनिएको छ।'

राष्ट्रबैंकका अधिकारीहरुले बैंकको विवादका विषयमा अध्ययन गरेपछि राष्ट्रबैंकका अधिकारीले मौखिक सुझाव दिएका हुन्। सविनराज श्रेष्ठलाइ अर्को व्यवस्था नभएसम्मका लागि कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ।

संचालक समिति अध्यक्षमा थापा छन् भने सदस्यमा पन्तसिताराम थपलिया रीता मल्ल बलराम न्यौपाने सुदर्शनराज पौडेल र सन्तवरिसंह थापा दिपकनरिसंह श्रेष्ठ छन्।

बैंकको ५८ प्रतिशत सेयर सर्वसाधारणको हातमा छ। ४२ प्रतिशत सेयर मात्रै संस्थापकको हो।

सिदार्थ बैंकको नाफा १६ करोड

सिद्धार्थ बैंकले नौ महिनाको अवधिमा १६ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ। गतवर्ष यही अवधिमा बैंकले १० करोड ७३ लाख कमाएको थियो। चुक्तापूँजी ९५ करोड २२ लाख रहेको बैंकको २७ करोड ७३ लाख संचित कोषमा छ। बैंकले १३ अर्ब ६० करोड ५४ लाख निक्षेप संकलन गरी १३ अर्ब ४७ करोड १० लाख कर्जा प्रवाह गरेको छ। दुई अर्ब दुई करोड ६० लाख ऋणपत्रमा लगानी रहेको बैंकले जनाएको छ। बैंकको पूँजीकोष १० दशमलव ३० प्रतिशत छ। खराबकर्जा शुन्य दशमलव ४९ प्रतिशत छ।

नेपाल बंगलादेश(एनबी) बैंक: संस्थापन पक्षले एक अर्ब ३० करोड तिर्‍यो

निजी क्षेत्रको पुरानो बैंकमध्येको एक नेपाल बंगलादेश(एनबी) बैंकको वित्तीय अवस्था कमजोर भएपछि नेपाल राष्ट्र बैंकले २६ कात्तिक २०६३ मा व्यवस्थापनमा हस्तक्षेप गरेको थियो । दुई वर्षसम्म राष्ट्र बैंकको विज्ञ समूहले सञ्चालन गरेकोमा पुस मसान्तपछि कर्मचारीको व्यवस्थापनमा बैंक सञ्चालित छ ।

४० वर्षदेखि बैकिङ पेसामा संलग्न गोविन्दबाबु तिवारी अहिले सो बैंकको कायम मुकायम महाप्रबन्धकका रूपमा कार्यरत छन् । राष्ट्र बैंकको दसवर्षे एवं राष्ट्रिय वाणिज्य बैंकको १५ वर्ष अनुभव बटुलेका तिवारी नेपाल बैंगलादेश बैंकमा स्थापनाकालदेखि नै आबद्ध छन् । बैंकको अहिलेको वित्तीय अवस्था एवं नयाँ साझेदार थपिएपछिको योजनाका विषयमा तिवारीसँग गरिएको कुराकानी :



राष्ट्र बैंकको विज्ञसमूहले व्यवस्थापन छाडेको तीन महिना भइसकेको छ । अहिले बैंकको अवस्था कस्तो छ ?

राष्ट्र बैंकको व्यवस्थापन हुँदा पनि बैंक सुधारोन्मुख थियो । अहिले पनि सुधारोन्मुख नै छ । पछिल्लो तीन महिनामा हामीले नकारात्मक पुँजीको मात्रा ५० प्रतिशत घटाएका छौँ । यसैगरी, ३० करोड खराब कर्जा असुली गर्‍यौँ र निक्षेप वृद्धिदर कायम गर्न सफल भयौँ । हाम्रो निक्षेपको ७६ प्रतिशत बचत खातामा छ । यसैगरी, खराब कर्जा पाँच प्रतिशतले घटेको अनुमान छ ।

बैंकको कुन पक्षमा विशेष ध्यान दिइरहनुभएको छ ?
अहिले हाम्रो टार्गेट भनेको पुँजी पर्याप्तता अनुपात सकारात्मक बनाउने र खराब कर्जा अनुपातलाई स्वीकार्य स्तरमा ल्याउने हो ।

यसका लागि के गरिरहनुभएको छ ?

पुँजी पर्याप्तता सकारात्मक पार्नका लागि भर्खरै हामीले हकप्रद सेयर जारी गर्‍यौँ, यसैगरी, खराब कर्जा असुली तीव्र पारेका छौँ । खराब कर्जा असुलीका लागि कानुनी तथा अन्य सबै उपाय अपनाइरहेका छौँ । जेठ महिनासम्ममा खराब कर्जा उल्लेख्य मात्रामा घटाउने कार्ययोजना छ । सोहीअनुरूप सम्पत्ति लिलामीदेखि अन्य उपाय अपनाएरै भए पनि खराब कर्जा घटाउन लागिपरेका छाै । नकारात्मक पुँजी कम गर्नाका लागि नाफा संचितीबाट घटाउनेलगायतका कार्ययोजना हामीले तयार गरेका छौँ ।

संस्थापकहरूले नै लिएको ऋणका कारण बैक संकटग्रस्त भएको भनिन्छ । संस्थापन पक्षको कर्जा असुली कत्तिको भएको छ ?

संस्थापन समूहले लिएको कर्जाले मात्रै बैंकको अवस्था बिगि्रएको होइन । बैंकको अवस्था खराब हुनुमा मुलुकको आर्थिक अवस्था पनि जिम्मेवार छ । विगतमा हाम्रो लगानी गार्मेन्ट क्षेत्रमा उच्च थियो । विविध कारणले गर्दा तयारी पोसाक व्यवसाय धराशायी भएपछि बैंकलाई पनि त्यसको असर परेको हो । संस्थापकहरूले संस्थागत सुशासन कायम गर्न भने सक्नुभएन । आफैं संस्थापक भएका र आफैं ऋण लिनुभयो, यसले गर्दा बैंकको छविचाहिँ बिगि्रयो । संस्थापकहरूको ऋणबाट विगत डेढ वर्षको अवधिमा एक अर्ब ३० करोड जति ऋण असुली भएको छ ।

आर्थिक अवस्था नकारात्मक हुँदा अन्य बैंकलाई पनि असर परेको थियो । तैपनि, अन्यको तुलनामा बंगलादेशको खराब कर्जा किन बढी छ त ?

अरू बैंकलाई पनि यसको असर परेको थियो, नपरेको होइन । फरक के मात्रै भयो भने, अरू बैंकले खराब कर्जा घटाउने थोरै समय लिए, हामीलाई धेरै समय लाग्यो । हाम्रो अवस्था पनि सुधारोन्मुख छ ।

तपाईंहरूलाई मात्रै समय किन लाग्यो त ?

अन्य बैंकको तुलनामा हामीले गार्मेन्टमा उच्च लगानी गरेकाले रिकोभरीका लागि समय लागेको हो ।

राष्ट्र बैंकको व्यवस्थापनमा बैंकमा कस्ता परिवर्तन भए ? जुन स्तरको सुधार अपेक्षित थियो, भयो त ?

जुन उद्देश्यले लिएर व्यवस्थापन राष्ट्र बैंकले सम्हालेको थियो, त्यो उद्देश्य प्राप्त भए/नभएको मूल्यांकन राष्ट्र बैंकले नै गर्ने हो ।

नयाँ लगानीकर्ता थपिएपछिको पुँजी संरचना कस्तो छ ?

बंगलादेशको बैंक एसिया र केही नयाँ लगानीकर्ता थपिएका छन् । अहिलेको संरचनाअुनसार बैंक एसियाको १५ प्रतिशत, साविकको लगानीकर्ता आइसिएफसीको १० प्रतिशत, क्यापिटल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्राइभेट लिमिटेडको आठ प्रतिशत, मनास्लु इन्भेस्टमेन्टको आठ प्रतिशत, संस्थापन समूह एनबीको १० प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारण सेयरधनीको छ ।

सर्वसाधारण थपिएपछि बैंकको योजना कस्तो छ ?

नयाँ लगानीकर्ता थपिएपछि हामी उत्साहित भएका छौँ । हाम्रो साझेदार बैंक एसियाको बृहत भिजन छ । अन्य मुलुकमा शाखा स्थापना गर्ने, रेमिट्यान्स बिजनेसमा जाने, नेटबर्क विस्तार गर्नेलगायतका योजना छन् । तर, अहिलेको मुख्य योजना भनेको पुँजी पर्याप्तता सकारात्मक बनाएर खराब कर्जा प्रतिशत तल झार्नु हो ।

उद्यमीहरूले देशमा लगानीको वातावरण बिगिँर्दै गएको भनिरहेका छन्, तैपनि बैंक अफ एसियाले नेपाली बैंकमा लगानी किन गर्‍यो होला त ?

शान्ति-प्रक्रियापछि लगानीको वातावरण सुधि्रएको मेरो अनुभव छ । मुलुक शान्ति-प्रक्रियामा प्रवेश गरेपछि केही सकारात्मक परिवर्तन भएका छन् । यसैले गर्दा उनीहरू नेपालप्रति आकषिर्त भएका हुन् । जलविद्युत्, कृषि तथा उद्योग क्षेत्रमा नेपालको पर्याप्त सम्भावन भएकाले नै एसियाले लगानी गरेको हो । यसैगरी, एसिया बैंकले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । कृषिको उच्च सम्भावना भएकाले उनीहरू नेपालप्रति आकषिर्त भएका हुन् ।

बैंकको ग्राहकमुखी योजना कस्ता छन् त ?

विगत १५ वर्षदेखि सञ्चालित बैंकको राम्रो ग्राहक आधार छ । हामीसँग एक लाख सात हजार निक्षेपकर्ता छन् । विभिन्न आरोह-अवरोहका बाबजुद हामीप्रति ग्राहकको विश्वास नघटेको मैले पाएको छु । ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा दिन हामी सधैं प्रयत्नशील रहनेछौँ । हामी निकट भविष्यमा एटिएम संख्या, सेफ डिपोजिट लकर थप्दै छाँ । सदैव समय-सापेक्ष बैंकिङ सुविधा उपलब्ध गराउने बैंक प्रतिबद्ध रहने ग्राहकहरूलाई विश्वास दिलाउँछु ।

सनराइज : बचतमा नौ प्रतिशत ब्याज

सनराइज बैंकले नौ प्रतिशत ब्याज दिनेगरी एकवर्षे मुद्दती खाता सञ्चालनमा ल्याएको छ । नेपालका वाणिज्य बैंकहरूले दिने ब्याजदरमा आफ्नो सबैेभन्दा बढी रहेको बैंकको दाबी छ ।
'नयाँ वर्ष २०६६ मुद्दती पत्र' नाम दिइएको खाता एक वैशाखदेखि सुरु गरिएको हो । पाँच लाख न्यूनतम बचतमा खोल्न सकिने खाता जेठ मसान्तसम्म सञ्चालनमा रहने जनाइएको छ । बैंकहरूमा देखिँदै आएको पैसा अभाव (तरलता संकट) सुल्झाउन खाता सञ्चालन गरेको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । '
बैंकहरूमा एक वर्षदेखि पैसा अभाव बल्झँदै आएको छ,' बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'अभावका वेला पैसा दिँदै आएका कर्मचारी सञ्चय कोष, बिमा संस्थान, नागरिक लगानी कोषलगायतले माथिल्लो तामाकोसीजस्ता ठूला परियोजनामा लगानी गर्ने घोषणा गरिसकेका छन् । त्यसैले अब सर्वसाधारणसँग घरमा रहेको पैसा बैंकिङ प्रणालीमा ल्याउन अनिवार्य भएकाले मुद्दती पत्र खाता सुरु गरेका हौँ ।'

अबको ६ महिनादेखि एक वर्षभित्र तरलता अभावले चर्को रूप लिने देखिएको र त्यो वेला अन्तरबैंक कारोबारमा आफूहरूले ठूलो हिस्सा ओगट्ने दाबी उनले गरे । खाता सुरु भएपछिका आठ कारोबार दिनमा ४० करोडबराबरको निक्षेप संकलन भइसकेको जनाइएको छ ।
बैंकले मुद्दती पत्रसँगै सेयर लगानी खाता पनि सुरु गरेको छ । आउँदो २० गतेदेखि बिक्री गर्न लागिएको सर्वसाधारण सेयरका लगानीकर्तालाई लक्षित गरी सो खाता सुरु गरेको महर्जनले बताए । '
आज (आइतबार) सम्ममा एघार सयले खाता खोलिसकेका छन् र एक सातामा १०/१२ हजारले खाता खोल्ने अपेक्षा गरेका छौँ,' उनले भने । न्यूनतम एक हजारमा खोल्न सकिने सो खातामा ६.७५ प्रतिशत ब्याज दिने जनाइएको छ ।

एक महिनामा हिमचुलीका चार शाखा थप

क्षेत्रीय स्तरको हिमचुली विकास बैंक पोखराले शुक्रवार स्थानीय पृथ्वी चौकमा शाखा विस्तार गरेको छ । बैंकले पछिल्लो एक महिनामा सोसहित चार शाखा विस्तार गरेको हो ।
बैंकिङ क्षेत्रमा आएको तिब्र प्रतिष्पर्धाका कारण बैंकले साताको अन्तरमा पोखराभित्र तीन र तनहुँमा एक शाखा विस्तार गरेको छ । बैंकले एक महिनाभित्र तनहुको खैरेनीटार पोखराको छोरेपाटन र लेकसाइडमा शाखा विस्तार गरिसकेको छ ।
बढीभन्दा बढी ग्राहकसम्म पुग्ने बैंकको लक्ष्य रहेका कारण शाखा विस्तारमा तिव्रता दिइएको प्रमुख कार्यकारी मनीराम पोखरेलले बताए । उनले चाडै चितवनको नारायणघाटमा पाँचौैं शाखा खोल्ने तयारी भईरहेको जानकारी दिए ।
१० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले बैशाक १० सम्म एक अर्ब ८ करोड निक्षेप संकलन गरेको छ । सथै ९६ करोड रुपैया कर्जा तथा लगानी गरेको छ । स्थापनाको साढे तीन वर्षमा बैंकको ११ हजार ग्राहक पुगेको पोखरेलले दावी गरे । उनले सो अवधिमा बैंकले दुई करोड ५१ लाख रुपैया नाफा कमाएको बताए ।
अन्य चारवटा वित्तीय फाइनान्स कम्पनी संस्थाहरुसँग गाभिएर वाणिज्य बैंकमा स्तरोन्नती हुन बैंक राष्ट्र बैंकको स्वीकृति पर्खिएर वसेको छ ।
हिमचुली विकास बैंकसहित बुटवल फाईनान्स सिद्वार्थ फाईनान्स महालक्ष्मी फाईनान्स र वीरगाज फाईनान्स गाभिएर वाणिज्य बैंकमा स्तरोन्नती हुन लागेका हुन् । पाचै कम्पनी गाभिएपछि चुक्ता पुजी दुई अर्ब १० करोड रुपैयाँ पुग्ने छ ।

मध्यपश्चिममा बैंकिङ गतिविधि वढ्यो

द्वन्दका कारण आर्थिक गतिविधि हुन छाडेको मध्यपश्चिममा शान्ति स्थापनासगै बैंकिङ गतिविधि वढेको छ ।

रुकुम, रोल्पा, सल्यान, प्युठान र दाङमा अहिले बैंकका शाखा धमाधम खुल्न थालेका छन् । निक्षेप संकलन तथा विदेश गएकाहरुले पठाएको पैशा सजिलै उपलब्ध गराउने उदेश्यले बैंकले शाखा विस्तार गरेका हुन् ।

दाङ उद्योग वाणिज्य सघंका अध्यक्ष चन्द्रराज पन्त बैंकहरुका कारण व्यापारिक गतिविधिमा तीब्रता आएको बताउछन ।

बैंकहरुले त्यहाको सम्भाव्यता हेरेर लगानी गर्न पनि शाखा विस्तार गरेका हुन् । शाखा विस्तारसगै प्रतिस्पर्दा पनि वढेको छ । स्थानीय स्तरमा पहिलो पटक खुलेको वेष्टर्न डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर केसीले कसरी वढी निक्षेप संकलन गर्न सकिन्छ भन्नेमा नै बैंकहरुको प्रतिस्पर्धा वढेको वताए ।

दाङको प्रमुख बजार घोराही र तुल्सीपुरमा नविल र बैंक अफ काठमाडौंले शाखा विस्तार गरेका छन् । त्यस्तैगरी चैतमा नेपाल एसबीआई बैंकले पनि शाखा विस्तार गरेको थियो भने हिमालयन बैंकले गत साता घोराहीमा शाखा खोलेको छ । शाखा उद्घाटन कार्यक्रममा दाङ आएका बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले आगामी वर्ष तुल्सीपुरमा पनि बैकको शाखा विस्तार गरिने जानकारी दिए । बैंकले साना तथा मझौला उद्यमीहरुका लागि स्थानीय तहमै लगानी गर्ने योजना बनाएको श्रेष्ठले बताए ।

स्थानीय तहमा निर्माण हुन लागेको सिमेन्ट कारखाना, कोइला खानी लगायत अन्य क्षेत्रमा लगानीको वातावरण देखेर सिद्धार्थ र एभरेष्ट बैंकले पनि आफ्नो शाखा विस्तारका क्रममा दाङ्लाई प्राथमीकतामा राखेका छन् ।

बैकिङ सेवालाई घरदैलोसम्म पुर्याउने उद्देश्यका साथ केन्द्रीय तहका वाणिज्य तथा स्थानीय विकास बैक र सहकारी संस्थाहरुले पनि सेवा विस्तारमा लागेका छन् । नयाँ लगानीका लागि संभावनायुक्त ठाउँकारुपमा दाङ विकास भइसकेको हिमालयन बैंकका श्रेष्ठले बताए । उनले स्थानीय स्रोत साधनको परिचलन नै बैंकको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै निक्षेप संकलन गरी स्थानीय तहमै रोजगारी सिर्जना गर्न शाखा विस्तार गरेको बताए ।

दाङमा वाणिज्य बैंकहरु खुल्न थालेपछि स्थानीय विकास बैंकहरुले नयाँ योजनाका साथै पहाडी जील्लामा पनि शाखा विस्तारको योजना वनाएका छन् । दाङको वेष्टर्न डेभलपमेण्ट बैंकले प्युठान र सल्यानमा शाखा विस्तारका लागि नेपाल राष्ट्र बैंकको अनुमति पर्खेर बसेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर केसीले बताए ।

त्यस्तै देउखुरी, गढवा, बेलझुण्डी र बिजौरीमा काउण्टर स्थापना गरी सर्वसाधारणलाई बैंकिङ दायरामा समेट्न लागिएको उनले बताए । नेपालगाजमा स्थापना भएका बागेश्वरी विकास बैंक, भार्गव विकास बैंक र कर्णाली विकास बैंकले पनि दाङका व्यापारिक केन्द्रहरुमा शाखा विस्तार गरेका छन् ।

कृषि विकास बैंकको सेयर बिक्री सम्झौता

कृषि विकास बैक लिमिटेडले साधारण सेयर निष्काशनका लागि एस डेभलपमेन्ट बैकलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

९६ करोडकॊ प्राथमिक सेयर निष्काशन सम्बन्धी संझौतापत्रमा कृषि विकास बैक प्रमुख कार्यकारी अधिकृत जनकराज शाह र एसका प्रमुख कार्यकारी अधिकृत सिद्धान्त राज पाण्डेले मंगलबार हस्ताक्षर गरेका छन्। अहिले सम्मकै सवैभन्दा बढी ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

बैंक व्यवस्थापनले वैशाख सम्म साधारण सेयर बिक्री गर्ने जनाए पनि सेयर निष्काशनको मिति तय नभएको पाण्डेल बताए।

किन किन्ने सनराइजको सेयर ?

विगतमा लगानीगर्दा निराश भएका सर्वसाधारणलाई एकसाता पछि अर्को अवसर सनराइज बैंकको सेयर आउने भएकॊ छ। वैशाख २० देखि सर्वसाधारणका लागि बैंकले ३७ करोड ५० लाख रुपैयाँको सेयर बिक्री गर्दैछ।

दुई महिना अघि सिटिजन्स बैंक र बैंक अफ एसियाको ६० करोडको सेयर भर्दा बैंकखाता अनिवार्य थियो। त्यसपछि धितोपत्र बोर्डले आवेदन फारममा फोटो अनिवार्य गरेपछि वास्तविक लगानीकर्तालाई सेयर पर्ने संभावना बढेको छ।

बैंकको सेयर बिक्री नभइ समय थप हुने संभावना कम छ। सिटिजन्स बैंक र बैंक अफ एसियाको ६० करोड रुपैयाँको सेयर भरेका सर्वसाधारणले करिव ११ अर्ब फिर्ता लिईरहेका छन्। यो मध्ये अधिकांश रकम फेरि सनराइज बैंकको सेयरमा पर्ने अनुमान बिक्री प्रबन्धकको छ।

साधारण लगानीकर्तालाई ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेपछि बैंकको चुक्तापूँजी १ अर्व २५ करोड रुपैयाँ पुग्ने छ। यो बैंकले २०६७ सम्ममा नै दुई अर्ब रुपैयाँको चुक्तापूँजी बनाउनुपर्ने भएकोले यसले थप सेयर जारी गर्नुपर्ने हुन्छ।

बैंकले कर्मचारीका लागि एक लाख ८७ हजार पाँच सय कित्ता सेयर छुट्याईएको बिक्री प्रबन्धक एनएमबी बैंकले जनाएको छ। उद्योगपति तोलाराम दुगड बैंकका अध्यक्ष हुन भने प्रमुख कार्यकारी अधिकृतमा किशोर महर्जन छन्। महर्जन अनुभवी बैंकर हुन्। गत आर्थिक वर्ष नोक्सानीमा रहेको बैंकले चालु आवको ६ महिनामा चार करोड ६७ लाख खुद नाफा गरेको छ।