एक अर्ब भ्रस्टाचार गर्न वावुराम सरकार कानुन विपरीत विद्युत आयोजनाको क्षमता वृद्धिको तयारीमा

रामशरण महत
कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री
अहिले सरकारलाई 'चेक एन्ड
व्यालेन्स' गर्ने संसद छैन।
संसदीय समिति छैन।
 त्यही भएर सरकारले
अहिले वद्नियतपूर्ण रुपमा
माथिल्लो त्रिसुली एको
क्षमता वढाउन लागिपरेको हो।
सरकारले यो आयोजनालाई
सुनको अन्डा दिने
कुखुराका रुपमा लिएको छ।
माओवादीले चुनाव घोषणा
गरेकाले त्यसमा पैसा
जुटाउन आयोजनाको
क्षमता बढाउने तयारी गरेको छ।
जबकी आयोजना बढाएर राज्यलाई
कुनै फाइदा छैन। यसले कुनै
योगदान गर्न सक्दैन। निर्वाचित
कुनै पनि निकाय नभएको बेला
सरकारले सवैभन्दा ठूलो भ्रस्टाचार
गर्न खोजेको छ। सत्तारुढ दल
माओवादीले सरकारमार्फत
क्षमता वढाएर १ अर्ब रुपैयाँ
भ्रस्टाचार गर्न खोजेको छ।
यसले मुलुकको हित गर्दैन।
कानुनी रुपमा पनि
आयोजनाको क्षमता
वढाउन मिल्दैन। तर मन्त्रीपरिषद्मार्फत
 निर्णय गराएर भ्रस्टाचार
गर्न खोजिदैछ।
सरकारले १ अर्ब भष्ट्राचार गर्न खोजेको छ
 सुदर्शन सापकोटा
काठमाडौं, असर ३
सरकारले सार्वजनिक खरीद ऐन विपरीत थप तीन अर्ब रुपैयाँ खर्च गरेर माथिल्लो त्रिसुली 'ए' परियोजनाको क्षमता बढाउने तयारी गरेको छ।
तोकिएको क्षमतालाई बढाउन नयाँ टेन्डर आह्वान गर्नुपर्ने व्यवस्थालाई लत्याउँदै सरकारले मन्त्रिपरिषद्बाटै क्षमता वृद्धिको तयारी गरेको हो।
प्रधानमन्त्रीले सम्हाली रहेको ऊर्जा मन्त्रालयले क्षमता वृद्धिका लागि अर्थमन्त्रालयमा आइतबार औपचारिक पत्र पठाएको छ। अर्थ मन्त्रालयले आर्थिक स्रोतको टुङ्गो लगाएपछि मन्त्रिपरिषद्मा लग्ने छ। प्रधानमन्त्री वावुराम भट्टराईको सहमतिमा आयोजनाको क्षमता वृद्धि गर्ने तयारी गरिएको हो।
निर्माणमा गइसकेको आयोजनाको अहिलेको क्षमता ६० मेगावाट छ। सरकारले अहिलेको क्षमता वृद्धि गर्दै ९० मेगावाट पुर्‍याउने सबै तयारी पूरा गरिसकेको स्रोतले बतायो। अहिलेकै अनुसार निर्माण भइरहे आयोजना आगामी तीन वर्षसम्म सम्पन्न भइसक्छ। क्षमता वढाइए आयोजना निर्माण गर्ने समय अर्को तीन वर्ष थपिने छ।
सरकारले क्षमता बढाए पनि सवैभन्दा वढी विजुली चाहिने बेलामा भने आयोजनाले उत्पादन बढाउन सक्दैन। उत्पादन भएको विजुली खेर जाने वर्षा याममा मात्र आयोजनाले तोकिएजति विजुली उत्पादन गर्न सक्छ।
आयोजनाको थपिएको क्षमताले वर्षायाममा त्रिशूली नदीको भेलको समयमा मात्र क्षमता अनुसार बिजुली उत्पादन गर्न सक्छ। हिउँदमा बढी बिजुली चाहिने समयमा भने उत्पादन झनै कम हुन्छ।
'बर्षा याममा वढी भएर खेर गएको विजुली कसरी प्रयोग गर्ने भन्ने योजना नभएका बेला सरकारले क्षमता वढाएर अतिरिक्त तीन अर्ब रुपैयाँ राज्यलाई भार पार्न खोजेको छ,' अर्थमन्त्रालय स्रोतले भन्यो, 'सरकारको यो दुरासायपूर्ण निर्णय हो। यसले राज्यलाई आर्थिक रुपमा ठूलो घाटा पुर्‍याउँछ।'
यो आयोजना क्यू–६० मोडलमा निर्माण गर्न लागिएको हो। यो भनेको वर्षभरिको ६० प्रतिशत दिनमा क्षमता अनुसारको ६० मेगावाट बिजुली उत्पादन हुन्छ। प्राधिकरण सञ्चालक समितिदेखि लिएर प्रधानमन्त्री कार्यालयले समेत क्यू–४० मा झारेर क्षमता बढाउन लागिएको हो।
क्यू–४० मा झार्दा वर्षभरिमा ४० प्रतिशत दिनमात्र ९० मेगावाट बिजुली उत्पादन हुन्छ। 'जुन बेलामा बिजुली चाहिन्छ त्यो बेलामा उत्पादन घट्ने र वर्षामा मात्र बढ्ने प्रणाली हामीलाई आवश्यकनै होइन,' स्रोतले भन्यो।
यो आयोजना आउँदो दुई वर्षभित्र पुरा गर्ने लक्ष्य लिइएको छ। क्यू–४० मा झारेर क्षमता बढाउँदा कम्तिमा तीन वर्ष थपिनेछ।
चाइनिज कम्पनीले इन्जिनियरिङ, खरीद र निर्माण (इपिसी) अन्तर्गत बनाइरहेको आयोजनाको अनुमानित लागत १० अर्ब ६ करोड रुपैयाँ छ। इपिसी प्रणालीमा समय र लागत दुबै बढाउन मिल्दैन। ठेकेदारको स्वार्थमा लागत र समय समेत बढाउन यो चलखेल भएको हो।

शशिन जोशी भन्छन्, 'निर्देशित लगानीलाई समर्थन गर्न सकिदैन'

बर्ष सकिन लाग्यो। बैंकहरुको यस पटकको वासलात कस्तो निस्कन्छ?
शशिन जोशी
प्रमुख कार्यकारी अधिकृत
एनआइसी बैंक
यो वर्षको असारको परिणाम  चैतमा आएको परिणामभन्दा खराव हुने छ। चैतमा नाफा १६ प्रतिशतले घटेको थियो। नोक्सानी व्यवस्था ५१ प्रतिशतले वढेको थियो। बैंकहरुले साँच्चै नै पारदर्शी भएर वासलात निकाले भने राम्रो निस्कने छैन। मुख्य असर नोक्सानी व्यवस्था र व्याज आम्दानीले पारेको छ। अहिले स्प्रेड र व्याज दुवै घटेको छ। यसको ठूलो असर रहन्छ।

 बैंकहरुमा ऋण पोहोरबाटै विग्रिन थालेको हो। यसको पुरै असर देखिन अझै वाँकी छ। पुरै देखिन दुई तीन वर्ष अरु लाग्छ। तर विग्रिएको ऋण नउठ्ने नै अवस्थामा भने छैन।

बैंकले लिलामीमा राखेका सम्पत्ति बिक्न छाडे

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ३१
घरजग्गाका ऋणीले पैसा तिर्न नसकेपछि बैंकले लिलाम गर्न राखेका धितो बिक्री हुन छाडेका छन्। ऋण नउठ्ने र लिलामीका सम्पत्ति पनि नबिकेपछि बैंकहरूको नाफा–नोक्सान खाता बिग्रिने भएको छ।
'लिलामीमा राखिएका सम्पत्ति बिक्री भएका छैनन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले नागरिकसँग भने,'दिनदिनै लिलामीको सूचना बढ्नु र धितो बिक्री नहुनुले स्थिति नाजुक बन्दै गएको छ भन्ने देखाउँछ।'
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अधिकांश ग्राहकले घरजग्गा तथा अचल सम्पत्ति धितो राख्छन्। बिगँ्रदो आर्थिक अवस्था, सम्पत्तिको स्रोत देखाउनुपर्ने व्यवस्था र घरजग्गा कारोबार हुन छाडेकाले लिलाममा राखिएको सम्पत्ति बिक्री हुन छाडेको हो। 'व्यक्तिहरूको आम्दानी स्रोत घटेर क्रयक्षमतामा  पनि ह्रास आएको छ,' वित्तीय कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले भने।

सहरी बजार सुस्तायो

काठमाडौं, जेठ ३१- 
राजनीतिक अस्थिरताले आर्थिक गतिविधि हुन छाडेपछि उपभोक्ताले अतिआवश्यक बाहेकका वस्तु किन्न कम गरिरहेका छन्। होटल रेस्टुरेन्टमा खान जानेदेखि नयाँ गाडी र विद्युतीय सामग्री आउने वितिकै माग गरिहाल्ने उपभोक्ताको संख्या पहिलेभन्दा पातलीन थालेको हो।
अस्थिरताले पैसा कमाउने स्रोत खुम्चिन थालेपछि उपभोक्ताको मुड नयाँ सामान किन्नेमा छैन। अलिअलि भएको पैसा पनि भोलीलाई साँच्न थालेका छन् । दैनिक कारोबारमा ३० देखि ५० प्रतिशतसम्म कमी आएपछि शहरी बजार पुरै सुस्ताएको सरोकारवालाहरु बताउँछन्।
बजारमा होटल-रेस्टुरेन्टमा खानेदेखि गाडी, विद्युतीय उपकरण किन्ने उपाभोक्ता पातलिन थालेका छन्। जसले इलोक्ट्रोनिक्स, सवारी साधन, रेष्टुरेन्ट र निर्माण सामाग्रीको बिक्री घटाएको छ। दैनिक प्रयोग हुने सागसब्जीजस्ता उपभोग्य वस्तु पनि महँगो भएका कारण कम परिमाणमा मात्र खरीद विक्री हुन्छ।

कालो धनलाई सेतो बनाउन रोक्ने कानुन यसै साता

काठमाडौं, जेठ ३०
मुलुक अन्तर्राष्ट्रियरुपमा कालोसुचीमा पर्ने खतरा बढेपछि सरकारले अध्यादेशमार्फत यसैसाता तीन कानुन ल्याउने भएको छ। 'यही साताभित्र सम्पति सुद्धीकरण सम्बन्धी ऐन जारी हुनेछ,' प्रधानमन्त्री कार्यलयका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'अध्यादेशबाट कानुन ल्याउन प्रधानमन्त्रीले राष्ट्रपति रामवरण यादवसँग औपचारिक कुराकानी गरिसक्नु भएको छ।'
सरकारले संगठित अपराध नियन्त्रण, सुपुर्दगी र पारस्परिक कानुन ऐन अध्यादेशमार्फत ल्याउन लागेको हो। एक वर्षअघि नै ल्याइसक्नु पर्ने यी कानुन नल्याएको भन्दै फ्रान्सको पेरिसस्थित मुद्रा निर्मलीकरण अनुगमनसम्बन्धी अन्तरसरकारी वित्तीय कार्यदल (एफएटिएफ) ले नेपाललाई कालोसूचीमा राख्ने तयारी गरेको थियो। कार्यादलको वैठक आगामी साता पुनः हुँदैछ।

लोकप्रिय बजेट ल्याउन नपाउने

काठमाडौं, जेठ ३० - 
निर्वाचन आयोगले सरकारलाई बजेटमार्फत कुनै पनि नयाँ कार्यक्रम ल्याउन रोक लगाएको छ। मंसिर ७ मा चुनाव घोषणा गरिसकेकाले त्यस्तो बजेट ल्याउन नमिल्ने निर्वाचन आयोगले जनाएको छ।
'अहिलेको सरकारले निर्वाचनलाई प्रभावित बनाउने गरी नयाँ र लोकप्रिय कार्यक्रम ल्याउन पाउँदैन,' निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले सोमबार नागरिकसँग भने, 'यस्ता कार्यक्रमले निर्वाचनलाई प्रभावित पार्ने भएकाले यो आचारसंहिताविपरीत हुन्छ।'

हुलाकी राजमार्गको ठेक्का लाग्यो

पहिलो चरणमा ६ सय किलोमिटर निर्माण गरिने 

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २७
६ वर्षअघि नै निर्माण थालिने भनिएको पूर्व–पश्चिम हुलाकी राजमार्गको काम सुरु भएको छ। १५ सयमध्ये ६ सय किलोमिटर निर्माण गर्नलाई ठेक्का दिइ काम सुरु गरिएको हो।
दुई चरणमा निर्माण गर्न लागिएको राजमार्गको पहिलो चरणमा ६ सय किलोमिटर निर्माण हुने छ। दोस्रो चरणमा बाँकी ९ सय किलोमिटर निर्माण गरिने छ।
'पहिलो चरणको सडक निर्माणका लागि ६ ठाउँमा ठेक्का लागिसकेको छ,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौंलाले नागरिकसँग भने, 'एउटा ठेक्काको काम ३५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ।'  ३५ प्रतिशत काम कैलाली जिल्लामा सम्पन्न भइसकेको हो।

ऋण उठाउन अहिलेबाटै कस्सिए बैंकर



सुदर्शन सापकोटा
काठमाडौं, जेठ २५
'ऋण उठाउनलाई अहिलेदेखि स्टाफ खटाइरहेको छु,' चालु वर्ष सकिने दिन नजिकिँदै गर्दा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'अहिलेदेखि नखटाए व्यालेन्सिट (वासलात) राम्रो बनाउन गाह्रो छ।'
राजनीतिक अन्यौलसँगै घरजग्गा तथा औद्योगिक ऋण समस्यामा परेपछि ग्राहकलाई असार (चालु वर्षको चौथो किस्ता) को पैसा समयमा नै तिर्न दवाव दिन शाहजस्तै अधिकांस बैंकर अहिलेदेखि नै दौडधुप गर्न थालेका हुन्।
आर्थिक गतिविधि नहुँदा उद्योग क्षेत्रमा गएको ऋणले समयमा किस्ता तिर्न सकेको छैन। राष्ट्र बैंकले ऋणको सीमा तोेकेदेखि घरजग्गा कारोबार नभएर त्यहाँ लगानी भएको पैसा पनि उठेको छैन। यही गत डेढ वर्षदेखि बैंकहरुको खराव ऋण वढेर नाफा घटिरहेको छ।

आगामी वर्ष सबै सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिने


काठमाडौं, जेठ २३
सरकारले आगामी वर्षसम्म देशभरका सबै केन्द्रीय सडकका खाल्डाखुल्डी हटाएर कोलोपत्रे बनाउने भएको छ। सडक मर्मत गर्नका लागि आवश्यक वजेट विनियोजन भए भौतिक योजना तथा निर्माण मन्त्रालयले आगामी बर्षसम्म सबै सडक कालोपत्रे गर्ने भएको हो।
मन्त्रालयले कुल १४ सय किलोमिटर जिर्ण सडकमध्ये ४३ प्रतिशत सडकको मर्मत सम्भार गरिसकेको छ। मन्त्रालयले एक वर्ष लगाएर ६ सय किलोमिटर सडकको मर्मत सम्भार सकेको हो। वाँकी ८ सय किलोमिटर सडकको मर्मत सम्भार गर्न ३ अर्ब रुपैयाँ लाग्ने छ।
'आगामी वर्षसम्म देशभरका केन्द्रिय सडकका खाल्डा खुल्डी हटेर कालोपत्रे बनिसक्ने छ,' भौतिक मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले मंगलबार नागरिकसँग भने, 'अब देशका कुनै पनि राजमार्ग खराव अवस्थामा हुने छैन।' उनले बजेट उपलब्ध भए आगामी वर्ष सम्पूर्ण सडकलाई वास्तविक अवस्थामा फर्काउन सकिने जानकारी दिए।

फास्ट ट्रयाकको ट्रयाक बजेट अभावले खोल्न नसकिने


सुदर्शन सापकोटा
काठमाडौं, जेठ २३
सरकारले सवैभन्दा बढी महत्व दिएर निर्माण सुरु गरेको काठमाडौं–तराई जोड्ने द्रुत मार्गको ट्रयाक खोल्ने काम चालु वर्ष नसकिने भएको छ। स्थानीयको जग्गा अधिक्रमण गरे वापत दिइने मुआब्जाको रकम भुक्तानी गर्ने बजेट अभावका कारण ट्रयाक खोल्न नसकिने भएको हो।
सरकारले राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दुरीको काठमाडौं–निजगढ द्रुत मार्गको ट्रयाक आगामी असार मसान्तसम्म खोलिसक्ने लक्ष्य राखेको थियो।
'मुआब्जा रकम अभावका कारण यो वर्ष दुरत मार्ग (फास्ट ट्रयाक) को सम्पूर्ण ट्रयाक खोल्ने काम सकिँदैन,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले मंगलबार नागरिकसँग भने, 'आगामी बर्ष बजेटमा मुआब्जा रकम थप गरिएपछि ट्रयाक खोल्न सक्छौं। यस वर्ष छुट्याइएको पैसा सकिसक्यो।' ट्रयाक खोल्न ३० करोड रुपैयाँ अपुग भएको छ।

अन्तर बैंक सापटी विकास बैंक र फाइनान्सलाई महँगो



सुदर्शन सापकोटा
काठमाडौं, जेठ २२
विश्वास अभावका कारण वाणिज्य बैंकको भन्दा १६ गुणासम्म वढी तिरेर विकास बैंक र फाइनान्स कम्पनीले अन्तर बैंक सापटी चलाउन थालेका छन्। बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) वढिरहे पनि विश्वास अभावले गर्दा 'ख' र 'ग' वर्गका वित्तीय संस्थाहरुले भने महँगोमा सापटी चलाउनु परेको हो।
एक वाणिज्य बैंकले अर्को बैंकसँग एक प्रतिशतभन्दा कममा नै सापटी चलाइरहेका छन्।

विदेशमा काम गर्नेलाई रोजगार बचतपत्र


– एनआरएन र भारतमा गएका नेपाली कामदारले पनि किन्न सक्ने
– व्याज १० प्रतिशत
– तीन वर्ष अवधिको बचत पत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २१
नेपाल राष्ट्र बैंकले निस्कासन गर्ने वैदेशिक रोजगार बचत पत्र गैरआवसिय नेपाली र भारतमा रहेका नेपाली कामदारले समेत खरीद गर्न पाउने भएका छन्। असार पहिलो साता निस्कासन गर्न लागिएको बचतपत्रको अवधि तीन वर्षको हुने छ।
बचत पत्र दक्षिण कोरिया, मलेसिया, युएइ, साउदी अरेविया र कतारमा गएका नेपालीले मात्र खरीद गर्न पाउँथे। राष्ट्र बैंकले लगानीमा वृहत्त सहभागी गराउनका लागि यसपालीबाट भारतमा रहेका नेपाली कामदार र एनआरएनका लागि पनि बचतपत्र खुला राखेको हो।

क्लियरिङ हाउसलाई अख्तियारको सफाइ


काठमाडौं, जेठ २१
नेपाल क्लियरिङ हाउस लिमिटेडले सफ्टवेयर खरीदमा कुनै अनियमितता नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ। सफ्टवेयर खरीदमा ठूलो रकम अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।
क्लियरिङ हाउसले विद्युतीय माध्यममार्फत बैंक तथा वित्तीय संस्थाले जारी गरेको चेक राफसाफ गर्छ।
उजुरीमा जम्मा तीन करोड नेपाली रुपैयाँ पुर्ने सफ्टवेयर कम्पनीले १६ लाख डलर (१४ करोड ३२ लाख) रुपैयाँमा खरीद गरेर आर्थिक अनियमितता गरिएको आरोप लगाइएको थियो। उजुरी परेपछि केही बैंक तथा वित्तीय संस्थाले क्लियरिङ हाउसको सदस्यतासमेत लिएका थिएनन्।

अस्थिरताले बैंक ऋण रोकियो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २०
चार महिनायता क्रमशः सुधार हुँदै आएको बैंक ऋण राजनीतिक अस्थिरताका कारण  जेठ लागेपछि रोकिएको छ।  जलविद्युत, सिमेन्ट, उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा जाने ऋण रोकिएको हो।
अस्थिरताका कारण लगानीकर्ताले जोखिम लिन नखोज्दा बैंकमा ऋणको माग छैन। लगानीकर्ताबाट माग पनि नभएको र दिएको पैसा सजिलै उठ्ने प्रत्याभूतिसमेत हराएकाले ऋण रोकिएको हो।
बैंक ऋण रोकिँदा अर्थतन्त्र चलायमान हुँदैन। पूर्वाधार, उद्योग र उत्पादनमूलक क्षेत्रमा ऋण लगानी नहुँदा यसले रोजगारी घटाउँछ। 

उपत्यकाको सडक विस्तार अलपत्र, असारमा सक्ने लक्ष्य पुरा नहुने

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १८
अर्थमन्त्रालयले वजेट नदिएपछि उपत्यकाको सडक विस्तार कार्य चालु वर्ष नसकिने भएको छ। असारसम्म विस्तार कार्य सक्ने लक्ष्य लिइए पनि पैसा अभावले चैत अन्तिम साताबाट सवै काम रोकिएको छ।
उपत्यकामा गैरकानुनी रुपमा बनेका घर तथा टहरा, सरकारी बाटो मिचिएका पुर्वाधार भत्काएर बाटो विस्तार गर्न प्रधानमन्त्रीले नगर विकास समितिलाई निर्देशन दिएका थिए। सरकारले आर्थिक रुपमा पूर्ण सहयोग गर्ने भएपछि समितिले सडक विस्तार योजना अगाडि वढाएको थियो।
उपत्यकालाई व्यवस्थित बनाउन अझ शक्तिशाली निकायको आवश्यकता महशुस भएपछि सरकारले समितिलाई विघठन गरेर प्राधिकरण बनाएको छ।
'सरकारले पैसा दिन्छु भन्ने तर नदिने गर्नाले उपत्यकाको सडक विस्तार रोकिएको हो,' प्राधिकरणका काठमाडौं जिल्ला आयुत्त भाइकाजी तिवारीले बिहीबार नागरिकसँग भने, 'पैसा अभावले सडक विस्तार गर्न नसकिएकाले अहिले शहर कुरुप बनेको छ।'

विपन्न परिवारको ब्याज घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १३
वास्तविक गरिवमा लगानी गर्ने उद्देश्य भएका लघुवित्त संस्थाहरुले ऋणको ब्याज घटाएका छन्। वार्षिक २५ प्रतिशतका दरले ऋण काड्दै आएका गरिवले अब १५ प्रतिशतमा नै ऋण प्रयोग गर्न पाउँछन्।
बैंक तथा वित्तीय संस्थाले सस्तोमा पैसा उपलब्ध  गराउन थालेपछि लघुवित्त संस्थाले गरिवलाई दिने ऋणको ब्याज घटाएका हुन्।  लघुवित्त संस्थाहरुले ब्याज घटाउँदा साढे १६ लाख विपन्न परिवार  प्रत्यक्ष लाभांवित भएका छन्। लघुवित्त संस्थाले अहिलेसम्म विपन्न परिवारमा १५ अर्ब रुपैयाँ लगानी गरिसकेका छन्।

माघ र फागुनमा ७ प्रतिशत रहेको मूल्य वृद्धि चैतमा साढे ७ पुग्यो


मूल्य वृद्धि अकासिन थाल्यो
पहाडमा धेरै, काठमाडौंमा कम

काठमाडौं, जेठ १०
पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै यातायात भाँडा वढेका कारण समग्र मूल्य वृद्धि उकालो लागेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्र बैंकले बुधबार चैतसम्मको देशको वर्तमान आर्थिकस्थिति सार्वजनिक गर्दै मूल्य वृद्धि ७.५ प्रतिशतले वढेको जनाएको छ।
माघ र फागुनमा मूल्य वृद्धि ७ प्रतिशत थियो। पुसमा ६.८ प्रतिशत मात्र थियो। अघिल्लो वर्षको चैतमा भने मूल्यवृद्धि १०.६ प्रतिशतले वढेको थियो।

अमेरिकी डलर अहिलेसम्मकै महँगो


– १ डलर किन्न ८८.२३ रुपैयाँ लाग्ने
– रेमिट्यान्स आयमा सुधार हुने, सरकारी ऋणको भार वढ्ने


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ९
नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। एक अमेरिकी डलर खरीद गर्न ८८ रुपैयाँ २३ पैसा खर्च गर्नु पर्ने भएको छ।
डलरसँग भारतीय मुद्रा कमजोर हुँदा यसको सीधा असर नेपाली रुपैयाँमा पर्छ। भारतीयसँग नेपाली रुपैयाँको स्थीर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तिने गरेको हो।
गत शनिबार र आइतबार डलरको मूल्य ८८ रुपैयाँ कायम भएको थियो। सोमबारबाट केही सस्तिएको मंगलबार साँझ अहिलेसम्मकै महँगोभ एको हो।

बैंकले दिन ठिक्क पारेको ऋणसमेत गएन


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ९
लगातारको बन्द र राजनीतिक अनिस्चितताले बैंकहरुले दिन ठिक्क पारेको ऋणको रकम ग्राहक लिन आएका छैनन्। व्यापार, व्यवसाय गर्नका लागि महिनौ बैंक धाएर ऋण मिलाएका व्यवसायी अन्तिम समयमा पैसा लिन नगएका हुन्।
अहिले ऋण लिएर व्यापार व्यवसाय गर्ने अवस्था छैन,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले मंगलबार नागरिकसँग भने, यस्तो बेलामा ब्याज तिर्नलाई मात्र कसले ऋण लैजान्छ र?'

बैंकले निक्षेपको ब्याज घटाए

ऋणको पनि घट्न थाल्यो
सुदर्शन सापकोटा
काठमाडौं, जेठ ८
वाणिज्य बैंकहरुसँग पैसा धेरै हुन थालेपछि ग्राहकलाई दिने (निक्षेपको) ब्याज घटाएका छन्। पैसा कम हुँदा १२ प्रतिशतसम्म दिएका बैंकले अहिले एक वर्षे मुद्दति खाताको ब्याज घटाएर ४ देखि १० प्रतिशतसम्म पुर्‍याएका छन्।
सवैभन्दा वढी ब्याज घटाउनेमा पुराना र ठूला बैंक छन्। यि बैंकले ४ देखि ७ प्रतिशतसम्म ब्याज दिएका छन् । नयाँ र निक्षेप कम भएका बैंकले १० प्रतिशतसम्म दिएका छन्।

घरजग्गा ऋण समस्यामा


काठमाडौं, जेठ ७
घरजग्गा कारोवारमा मन्दी आएर मूल्य घट्न थालेपछि बैंक ऋण समस्यामा पर्न थालेको छ। राष्ट्र बैंक नीतिपछि घरजग्गा कारोबार सुस्ताएर व्यवसायीले ऋण तिर्न नसकेपछि बैंकहरु समस्यामा परेका हुन्।
घरजग्गाका ऋणीले बैंक कर्जा तिर्न छाडेपछि बैंकको खराव कर्जासँगै नोक्सानी व्यवस्था वापतको रकमसमेत वढेको छ। एक वर्षमा नै नोक्सानी व्यवस्था ६६ प्रतिशतले वढेको छ।

बन्दले बैंकहरुले आधा दिन पनि खुल्न सकेनन्


काठमाडौं, जेठ ७
आदिवासी जनजाति संघर्ष समितिले आयोजना गरेको बन्दले राजधानीका अधिकांस बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ। आधा दिनसम्म पछाडिको ढोका खुला राखेका बैंक तथा वित्तीय संस्था एक बजेपछि बन्द भए।
बैंक तथा वित्तीय संस्थालाई बन्द गरेर सहयोग गरिदिन बन्द आह्वानकर्ताले पत्रसमेत पठाएका थिए।
असुरक्षाका बाबजुत पनि राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले शाखा खोलेका थिए। सार्वजनिक विदाका दिन वाहेक कार्यालय बन्द गर्दा राष्ट्र बैंकले कारवाही गर्छ।
बैंकहरुले शाखा खुलुन्जेल पनि आधा सटर बन्द गरेका थिए। मूख्य बजार र चोकका सवै एटिएम काउन्टर बन्द गरिएको थियो।

घरजग्गाको ऋण उठेन, बैँकको नाफा पौने २ अर्बले घट्यो


बढी नाफा गर्ने बैंक
बैंक नाफा (रु . करोड मा)
कृषि विकास बैंक ११४.५९
नबिल बैंक ११२.९७
स्ट्यान्डर्ड चार्टर्ड ८५
नेपाल इन्भेस्टभेन्ट ८०.१
एभरेस्ट ७८.८४ 
 


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ७- 
घरजग्गाको ऋण नउठेर वाणिज्य बैंकहरूको नाफा १ अर्ब ७५ करोड रुपैयाँ घटेको छ। बैंकको नाफामा आएको कमीसँगै सेयर लगानीकर्ताले आगामी आर्थिक वर्षमा पाउने लाभांश प्रभावित हुनेछ।  'घरजग्गा ऋण नउठेर बैंकहरूको नाफा धेरै प्रभावित भएको छ,' ग्रान्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने, 'यसले आगामी वर्ष सेयरधनीले पाउने लाभांश घट्छ।'

सुरुङ मार्ग निर्माण गर्न यस्तो छ लगानी योजना

काठमाडौं, जेठ २
काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने स्वीकृति पाएको नेपाल पूर्वाधार विकास कम्पनीले दुई चरणमा पुँजी संकलन गर्ने भएको छ। चार वटा वेग्लावेग्लै समुहबाट पुँजी संकलन गरेर कम्पनीले आयोजना सम्पन्न गर्ने छ।
सात करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले प्रत्येक समुहबाट २५ प्रतिशतका दरले पुँजी संकलन गर्ने छ। सरकारले सुरुङ मार्ग निर्माण गर्न कम्पनीसँग सोमबार सम्झौता गरेको थियो।

सुरुङ मार्ग निर्माणको जिम्मा निजी क्षेत्रलाई

  • चार वर्षमा निर्माण सकिने
  • २० अर्ब रुपैयाँ लाग्ने  प्रारम्भिक अनुमान
  • काठमाडौं–हेटौंडा ५० किलोमिटर, एक घण्टामा पुगिने

काठमाडौं, जेठ १
सरकारले काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको निर्माण चार वर्षमा सक्ने गरी निजी क्षेत्रको कम्पनीलाई जिम्मा दिएको छ।
निर्माण स्वीकृति पाएको निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनीले आगामी ६ महिनाभित्र संभाव्यता अध्ययन सक्ने छ। अध्ययन सकिएको साढे तीन वर्षभित्र कम्पनीले आयोजनाको सम्पूर्ण निर्माण सक्ने सम्पन्न गरिसक्ने छ।

अरुण फाइनान्सलाई सुधारात्मक कारवाही

काठमाडौं, बैशाख ३१ 
पुँजी पर्याप्तता अनुपात ८ प्रतिशतभन्दा कम भएपछि राष्ट्र बैंकले अरुण फाइनान्स एन्ड सेभिङ कम्पनीलाई शिघ्र सुधारात्मक कारवाही अन्तर्गत ऋण लगानी र निक्षेप संकलनमा रोक लगाएको छ। बिहीबार मात्र राष्ट्र बैंकले हिमालयन फाइनान्सलाई शिघ्र सुधारात्मक कारवाही गरेको थियो।

घरजग्गा ऋणले बैंकको नाफा घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ४ - 
घरजग्गा कारोबारमा परेको मन्दीको असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ। घरजग्गामा गएको ऋण असुली गर्न नसकेको र नाफाबाट नोक्सानी व्यवस्थामा उल्टै रकम छुट्टाउनुपर्ने भएपछि अधिकांश वाणिज्य बैंकको नाफा गत वर्षको तुलनामा घटेको हो।
बैंकहरुले अहिले नाफा घटेको वासलात(साउनदेखि चैतसम्म) सार्वजनिक गरिरहेका छन्। अझै केही वाणिज्य बैंकहरुले वासलात सार्वजनिक नगरेकाले कति प्रतिशतले नाफा कम भयो यकिन हुन सकेको छैन।
बैंकका वासालातअनुसार नबिल, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड, ग्रान्ड बैंक नेपाल, नेपाल एसबिआइलगायत केहीको मात्र नाफा बढेको छ भने अधिकांशको घटेको छ।
'घरजग्गा कारोबार सुस्ताउँदा बैंकहरुको ऋण प्रभावित भएर नाफामा असर परेको हो,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनील शाहले सोमबार नागरिकसँग भने, 'यसले अझै केही समय बैंकहरुलाई गाँज्ने छ।'

बैंक ऋण वढ्न थाल्यो

समय           निक्षेप           ऋण  (रु. अर्बमा)
असार मसान्त  ६७३             ५२१
पुस मसान्त     ७५४             ५५५
चैत मसान्त     ७९०              ५८६
अहिले           ७९३              ५८८ 

सुदर्शन सापकोटा
काठमाडौं, बैशाख २५
लामो समयदेखि लगानी गर्न नसकेका वाणिज्य बैंकहरुले पुसयता ऋण लगानीमा सुधार गरेका छन्। चालु वर्षको साउनदेखि पुसमा बैंकहरुले ३४ अर्ब रुपैयाँ ऋण लगानी गरेकोमा माघदेखि यताको अवधि (करिव चार महिना) मा ३१ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन्।

नेपालमा १ हजारमा १०७ को बैंक खाता


२५ जनाले मात्र ऋण पाउँछन्
काठमाडौं, बैशाख २४
नेपालमा एक हजारमध्ये १ सय ७ जनाको मात्र बैंक खाता भएको अध्ययनले देखाएको छ। प्रति एक हजारमध्ये २५ जनाले मात्र बैंकबाट ऋण पाउने गरेका छन्।
विश्व बैंकका लागि गावी जि ऋफ्राम र एन्जेलिका साल्भी डेल पेरोले गरेको अध्ययनले नेपालमा बैंकिङ संस्थाको विकास भएपनि सेवा र सुविधा विस्तार भने हुन नसकेको उल्लेख गरेको छ। बैंकिङ संस्था थपिएसँगै अर्थतन्त्रमा लगानी वढेको अध्ययनले देखाएको छ।
नेपालमा भएका २ सय ६० बैंक तथा वित्तीय संस्थामध्ये तीन वटा ठूला वाणिज्य बैंकले मात्र कुल निक्षेप खाताको २५ प्रतिशत हिस्सा ओगटेका छन्। अध्ययन अनुसार, सरकारी स्वामित्वका बैंकहरुसँग बैंकिङ उद्योगको २५ प्रतिशत खाता छ। वाँकी ७५ प्रतिशत खाता २ सय ६० संस्थामा छरिएको छ।
अध्ययनका अनुसार, पछिल्लो आठ वर्षको अवधिमा एटिएम प्रयोगकर्ता भने वढेका छन्। तर, एक लाख जन संख्याको एउटा एटिएममा पहुँच छ। तर २ शाखामा एक लाख जनसंख्याले पहुँच पाएको छ। अध्ययनका अनुसार नेपालमा बैंकिङ पहुँच दक्षिण एसियाकै कमजोर अवस्थामा छ।

पर्शुराम कुँवर क्षेत्रीले बैंक अफ एसिया छाड्ने

काठमाडौं, बैंशाख २१
बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बैंक छाड्ने भएका छन्। उनले आगामी जेठ ९ गते सकिन लागेको आफ्नो पदावधि नथप्न सञ्चालक समितिलाई आग्रह गरिसकेको जानकारी दिए।

ग्लोबल र आइएमइसँग लर्ड वुद्ध पनि गाभिने


सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन
काठमाडौं, बैंशाख २१
आपसमा गाभिन राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेका ग्लोबल बैंक र आइएमइ फाइनान्सियल इन्स्टिच्युसनसँग लर्ड वुद्ध फाइनान्ससमेत मिसिने भएको छ। आपसमा गाभिनका लागि तीन लर्ड वुद्धले ग्लोबल र आइएमइसँग बिहीबार संयुक्त सम्झौता गरेको छ ।
'हामीसँग लर्ड वुद्ध पनि मिसिएको छ,' मर्जर समितिका संयोजक सन्दिप अग्रवालले नागरिकसँग भने, 'राष्ट्र बैंकमा स्वीकृतिका लागि आवेदन आजै (विहीबार) दिइसकेका छौं। असारभित्र मर्जर गर्ने तयारी छ।'
वाणिज्य बैंकसँग दुई फाइनान्स कम्पनी गाभिन लागेको यो पहिलो हो। यसअघि तीन फाइनान्स कम्पनीले गाभिनका लागि सैद्धान्तिक स्वीकृति पाएका थिए।
बैंक र फाइनान्स मर्जरपछि चुक्ता पुँजी २ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ। अहिले ग्लोबलको चुक्ता पुजी १ अर्ब ६० करोड, आइएमइको ३६ करोड र लर्ड वुद्धको १८ करोड रुपैयाँ छ।

घर तथा अपार्टमेन्ट अब १० प्रतिशत ब्याजमै


सुदर्शन  सापकोटा
काठमाडौं, बैशाख २०
पहिलो पटक घर किन्न लागेका उपभोक्ताले १० प्रतिशत ब्याजमा नै बैंक ऋण पाउने भएका छन्। व्यवसायीसँगको सहकार्यमा वाणिज्य बैंकहरुले घर तथा अपार्टमेन्टको ब्याज १० प्रतिशतमा झार्ने भएका हुन्। नयाँ दर कायम भएसँगै उपभोक्तालाई प्रचलितभन्दा चार प्रतिशत विन्दुले व्याज सस्तो पर्ने छ।
विगतमा महँगो व्याजका कारण घर किन्न हच्किएका ग्राहकलाई नयाँ ब्याज दरले आकर्षित गर्ने छ। घरजग्गा व्यसायीहरुले १० प्रतिशतभन्दा माथि पर्ने व्याज आफूले व्यहोर्ने भएपछि बैंकहरुले ब्याज घटाउने तयारी गरेका हुन्।
'पहिलोचोटी घर र अपार्टमेन्ट किन्ने ग्राहकले अबदेखि १० प्रतिशत ब्याजमा नै ऋण पाउने गरी सहमति भएको छ,' नेपाल जग्गा तथा आवास विकास संघका एक सदस्यले बुधबार नागरिकसँग भने, '१० प्रतिशतभन्दा माथि लाग्ने ब्याज हामी आफै व्यहोर्ने छौं।' उनले बैंकरहरुसँग एक–दुई दिनमा हुन लागेको औपचारिक छलफलपछि नयाँ व्याज दर कार्यान्वयनमा आउने जानकारी दिए।

दुरुपयोग भएको भन्दै भिवोरलाई पाँच करोड तिर्न निर्देशन

सुदर्शन सापकोटा
काठमाडौं, बैशाख १८
राष्ट्र बैंकले अमेरिकी दुतावासको स्वामित्वमा रहेको रवि भवनको जग्गा खरीद गर्दा अनावश्यक रुपमा ५ करोड रुपैयाँ भुक्तानी गरेको भन्दै भिवोर बैंकलाई पैसा उठाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले २ दिनअघि दिएको निर्देशन अनुसार, बैंकका संञ्चालकहरुले पाँच करोड रुपैयाँ व्यक्तिगत रुपमा बैंकलाई फिर्ता गर्नु पर्ने हुन्छ।
स्रोतका अनुसार, विभोर बैंकको सहायक कम्पनी भिवोर प्रोपर्टीले रवि भवनको जग्गा खरीद गर्नका लागि दुर्गा हाउजिङलाई पाँच करोड रुपैयाँमा सकारेको थियो। दुतावासको जग्गा किन्न ठेक्का पारेको दुर्गा हाउजिङलाई सकारे मात्र रविभवन हात पार्न सकिने भएपछि बैंकले पाँच करोडमा कम्पनी खरिद गरेको थियो।

सवै बैंक वित्तीय संस्था क्लियरिङ हाउसको सदस्य हुनु पर्ने


काठमाडौं, बैशाख १८
विद्युतीय माध्यममार्फत चेक राफसाफ गर्ने कम्पनी नेपाल  क्लियरिङ हाउसको सदस्य बन्नका लागि राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको छ।
क्लियरिङ हाउसमा ३६ वटा बैंक तथा वित्तीय संस्था मात्र सदस्य हुँदा यसले प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्र बैंकले सदस्य बन्न पत्राचार गरेको हो। सवै बैंक तथा वित्तीय संस्था सदस्य नबन्दा क्लियरिङ साउसका साथै राष्ट्र बैंकले पनि चेक राफसाफको काम गर्नु परेको थियो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुलाई पत्राचार गर्दै  सदस्यता लिनका लागि पहल गर्न भनेको छ। राष्ट्र बैंकले नेपाल बैंकर्स संघ, विकास बैंक संघ र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गरेको हो।

ब्याज घटाउन घरजग्गा व्यवसायीको माग

काठमाडौं, बैशाख १७
घरजग्गा व्यवसायीले सुस्ताएको घरजग्गा कारोबारलाई उकास्न ब्याज दर घटाएर सहुलियत दिन वाणिज्य बैंकहरुसँग माग गरेका छन्। उनीहरुले अधिकतम ११ प्रतिशतको हाराहारीमा ब्याज दर कायम गर्नका लागि माग गरेका हुन्।
तर बैंकरहरुले भने, घरजग्गा व्यवसायीले ग्राहकको तर्फबाट केही लागत व्यहोर्ने भए मात्र चाहे अनुसारको ब्याज घटाउन सकिने बताए।
घरजग्गाको प्रतलित १४ प्रतिशतको व्याजदरलाई १० मा झार्नका लागि ४ प्रतिशत व्यवसायीले व्यहोर्नु पर्ने बैंकरले प्रस्ताव गरेका हुन्। केही वर्षअघि गाडीको बजार खस्किदाँ व्यासायीहरुले निस्चित प्रतिशत व्याज आफूले व्यहोरेर बैंकबाट 'फाइनान्सिङ' गराएका थिए। बैंकरहरुले यही 'मोडल' अनुसार गएर कारोबार बढाउन घरजग्गा व्यवसायीलाई प्रस्ताव गरेको हो।

तीन फाइनान्सले पाए मर्जर स्वीकृति

काठमाडौं, चैत १६ 
राष्ट्र बैंकले तीन वटा फाइनान्स कम्पनी गाभिनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। राष्ट्र बैंकले वुटवल फाइनान्स, एल्पिक एभरेस्ट र सिएमबी फाइनान्सलाई गाभिनका लागि सैद्धान्तिक स्वीकृति दिएको हो।
फाइनान्स कम्पनीहरु आगामी असार मसान्तसम्म गाभिइसक्ने छन्। गाभिएपछि नयाँ कम्पनीको नाम एबिसी फाइनान्स हुने छ। 'मर्जरका लागि सैद्धान्तिक स्वीकृति दिएका छौं,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले शनिबार नागरिकसँग भने, 'तीन वटै कम्पनीको  वित्तीय अवस्था राम्रो छ।'
सुरुमा वुटवल र एल्पिक एभरेस्ट फाइनान्स गाभिने तयारीमा थिए। यसका लागि यि कम्पनीले सैद्धान्तिक स्वीकृति समेत पाइसकेका थिए। एक महिनाअघि मर्जरका लागि सिएमबी फाइनान्स मिसिएको हो।