अमेरिकी डलर अहिलेसम्मकै महँगो


– १ डलर किन्न ८८.२३ रुपैयाँ लाग्ने
– रेमिट्यान्स आयमा सुधार हुने, सरकारी ऋणको भार वढ्ने


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ९
नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। एक अमेरिकी डलर खरीद गर्न ८८ रुपैयाँ २३ पैसा खर्च गर्नु पर्ने भएको छ।
डलरसँग भारतीय मुद्रा कमजोर हुँदा यसको सीधा असर नेपाली रुपैयाँमा पर्छ। भारतीयसँग नेपाली रुपैयाँको स्थीर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तिने गरेको हो।
गत शनिबार र आइतबार डलरको मूल्य ८८ रुपैयाँ कायम भएको थियो। सोमबारबाट केही सस्तिएको मंगलबार साँझ अहिलेसम्मकै महँगोभ एको हो।
डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रमा मिश्रित प्रभाव पर्दछ। डलर महँगिएकाले विदेशबाट भित्रिने वस्तु, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जान महँगो पर्ने छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) पाउने परिवारलाई डलर महँगो हुँदा फाइदा हुन्छ।
विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्ने छ। औषधि उपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेहरूलाई महँगिएको डलरले प्रभावित पार्ने छ।
डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा उत्पादन गर्ने उद्योगको लागत पनि बढ्ने छ।
सवैभन्दा वढि प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पर्ने छ। डलर महँगिदा पेट्रोलियमको मूल्यसमेत माथि पुग्छ। अघिल्लो वर्ष ७६ अर्ब रुपैयाँको पेट्रोलियम आयात गरेको नेपालले डलर महँगिएका कारण त्यति नै परीमाण भित्राउन १ सय अर्ब खर्च गर्नु पर्ने अनुमान गरिएको छ।
डलर महँगिदा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीका लागि तोकिएभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्नेछ। यसले बजेट घाटा बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने छ।
विदेशी मुद्राको विनिमय दर निर्धारण गर्ने राष्ट्र बैंकले डलरको मूल्यवृद्धिबारे औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन। अनौपचारिक रुपमा भने त्यहाँका अधिकारीहरुले 'रिजर्व बैंक अफ इन्डिया (आरविआई) ले हस्तक्षेप नगरीकन डलर कमजोर नहुने' बताएका छन्। आरविआइ भारतको केन्द्रिय बैंक हो।
पछिल्लो समय भारतमा डलरको माग वढिरहेको छ। माग वढेका कारण डलर महँगिएको हो। भारतमा सुन, पेट्रोलियम पदार्थलगायत विदेशी सामानका आयातकर्ताले ठूलो मात्रामा डलर किनेका छन्। भारतीय अर्थतन्त्रमा उच्च मूल्य वृद्धि, वढ्दै गएको व्यापार घाटालगायत समस्या देखिएका छन्। आर्थिक वृद्धि दर पनि घटेको छ। डलर महँगो हँदै गएकाले डलर बेच्ने घटेका छन्।
आरबिआइले बजार हस्तक्षेप नगरे डलर अझ वलियो हुँदै जाने सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय गभर्नर डि सुब्बारावले खुला बजार प्रतिस्पर्धामा वाधा पुग्ने गरी कुनै किसिमको हस्तक्षेप नगरिने बताउँदै आएका छन्। उनको भनाइले आरविआइले  डलर कमजोर बनाउन तुरुन्तै बजार हस्तक्षेप नगर्ने बुझाउँछ।
'माग र आपूर्तिले डलरको मूल्य निर्धारण गरिरहेको छ,' आरविआइका अधिकारीहरुको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्, 'हस्तक्षेपको आवश्यकता छैन।'



No comments:

Post a Comment

thanks for comment