तीन फाइनान्सले पाए मर्जर स्वीकृति

काठमाडौं, चैत १६ 
राष्ट्र बैंकले तीन वटा फाइनान्स कम्पनी गाभिनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। राष्ट्र बैंकले वुटवल फाइनान्स, एल्पिक एभरेस्ट र सिएमबी फाइनान्सलाई गाभिनका लागि सैद्धान्तिक स्वीकृति दिएको हो।
फाइनान्स कम्पनीहरु आगामी असार मसान्तसम्म गाभिइसक्ने छन्। गाभिएपछि नयाँ कम्पनीको नाम एबिसी फाइनान्स हुने छ। 'मर्जरका लागि सैद्धान्तिक स्वीकृति दिएका छौं,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले शनिबार नागरिकसँग भने, 'तीन वटै कम्पनीको  वित्तीय अवस्था राम्रो छ।'
सुरुमा वुटवल र एल्पिक एभरेस्ट फाइनान्स गाभिने तयारीमा थिए। यसका लागि यि कम्पनीले सैद्धान्तिक स्वीकृति समेत पाइसकेका थिए। एक महिनाअघि मर्जरका लागि सिएमबी फाइनान्स मिसिएको हो।

तीनै कम्पनीले सम्पति र दायित्वको मूल्यांकन गराएर प्रतिवेदन तयार पारेपछि राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिनु पर्छ। मूल्यांकन प्रतिवेदन तयारीका क्रममा रहेका कम्पनीलाई चाँडै स्वीकृति दिने तयारीमा राष्ट्र बैंक छ। अन्तिम स्वीकृति पाएपछि कम्पनीहरुले औपचारिक मर्जरको घोषणा गरी कारोबार सञ्चालन गर्न पाउने छन्।
यसअघि आधा दर्जन बैंक तथा वित्तीय संस्था आपसमा गाभिइसकेका छन्। एकैचोटी तीन संस्था मर्ज हुन लागेको यो पहिलो हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्ज गर्ने नीति लिएपछि यसमा आकर्षण देखिएको हो। राष्ट्र बैंकले वित्तीय अवस्था सन्तोषजनक नभएका र एकाघर परीवारका संस्थालाई मर्जरका लागि दवावसमेत दिँदै आएको छ।


No comments:

Post a Comment

thanks for comment