सुरुङ मार्ग निर्माण गर्न यस्तो छ लगानी योजना

काठमाडौं, जेठ २
काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने स्वीकृति पाएको नेपाल पूर्वाधार विकास कम्पनीले दुई चरणमा पुँजी संकलन गर्ने भएको छ। चार वटा वेग्लावेग्लै समुहबाट पुँजी संकलन गरेर कम्पनीले आयोजना सम्पन्न गर्ने छ।
सात करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले प्रत्येक समुहबाट २५ प्रतिशतका दरले पुँजी संकलन गर्ने छ। सरकारले सुरुङ मार्ग निर्माण गर्न कम्पनीसँग सोमबार सम्झौता गरेको थियो।

५० किलोमिटर लामो सडकमा तीन किलोमिटर मात्र सुरुङ मार्ग पर्छ। निर्माण सम्पन्न भएपछि काठमाडौंबाट हेटौंडा पुग्न १ घण्टा मात्र लाग्ने छ। सम्पूर्ण सडक चार लेनको हुने छ।
कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी, निर्माण व्यवसायी महासंघका सदस्यहरु, गैरआवसिय नेपालीहरु र सर्वसाधारणबाट पुँजी संकलन गर्ने छ। कम्पनीले १० अर्ब रुपैयाँ यसरी संकलन गरेपछि वाँकी पुँजी बैंक तथा वित्तीय संस्थासँग सहवित्तीयकरणबाट ऋण लिने छ। सुरुङ मार्ग निर्माण गर्न २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
'आयोजना सुरु गर्न एकैचोटी पुरै पैसा लगाउनु पर्दैन। त्यही भएर दुई चरणमा पुँजी उठाउँछौं,' कम्पनीका अध्यक्ष कुशकुमार जोशीले मंगलबार नागरिकसँग भने, 'सामाजिक हिसावले मात्र नभइ आर्थिक हिसावले समेत संभावना भएकाले हामी उत्साहित भएर लागेका हौं।'
कम्पनीले पहिलो चरणमा उठाउन लागेको १० अर्ब रुपैयाँमध्ये २५ प्रतिशत रकम मकपानपुरका २६ गाविसका वासिन्दा र अन्य सर्वसाधारणबाट उठाइने जोशीले जानकारी दिए। वाँकी ७५ प्रतिशत रकम २५ प्रतिशतका दरले उद्योग वाणिज्य महासंघका उद्योगी, निर्माण व्यवसायी र गैरआवसिय नेपालीबाट उठाइने छ।
कम्पनीले आगामी ६ महिनाभित्र संभाव्यता अध्ययन सक्ने छ। अध्ययन सकिएको साढे तीन वर्षभित्र कम्पनीले आयोजनाको सम्पूर्ण निर्माणसम्पन्न गरिसक्ने छ। 'हामी चार महिनामै अध्ययन सक्छौं तर कुनै अलमल होला भनेर ६ महिनाको अवधि राखिएको हो,' जोशीले भने, 'निर्माण अवधि कुनै हालतमा पछि सार्दैनांै। निर्धारित अवधिमा नै सक्छौं।'
सुरुङमार्ग निर्माण भएपछि काठमाडौंबाट हेटौंडाको मोटर दुरी ५० किलोमिटरमा छोटिने छ। अहिले हेटौंडा पुग्न त्रिभुवन राजमार्गबाट १ सय ३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २ सय २६ किलोमिटर लाग्छ।
'लगानी गर्न उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली र सर्वसाधारणले सहमति जनाइसकेका छन्,' जोशीले भने, '२६ गाविसका ५० हजार सर्वसाधारण, २५ हजार गैरआवसिय नेपालीबाट पैसा उठ्ने छ।' उनले कम्पनीले रोजगारीका लागि विदेश गएकाहरुको लगानी ल्याउनसमेत वैदेशिक रोजगारी व्यवसायिहरुसँग पहल भइरहेको जानकारी दिए।
जोशीका अनुसार, स्थानीय गाउँ विकास समिति र जिल्ला विकास समितिबाट समेत पुँजी संकलन गरेर सरकारी उपस्थिति गराइने छ। उनले १ सय ६२ संस्थापक सेयरधनीसँगै सर्वसाधारण, उद्योगी, व्यवसायी र गैरआवसिय गरी १ लाख सेयरधनी आवद्ध गराइने दावी गरे।
कम्पनीले नेपाल धितोपत्र वोर्ड मार्फत सेयर आवेदन खुला गर्ने छ। सर्वसाधारणले न्युनतम १० हजार रुपैयाँसम्म तथा उद्योगी र गैरआवसिय नेपालीले न्युनतम एक लाख रुपैयाँसम्म लगानी गर्न सक्ने जोशीले जानकारी दिए।
उनले सुरुङ निर्माणमा नेपालीहरु दक्ष नभइसकेकाले विदेशीसँग सहकार्य गरिने जानकारी दिए।'६ महिनाभित्र संभावित अध्ययन सकिएपछि सेयर निस्कासनको तयारी गर्छौ,' उनले भने, 'यससँगै सुरुङ निर्माणका लागि विदेशी कम्पनीलाई टेन्डर आह्वान गछौं।'
सरकारले पनि आफ्नै लगानीमा तराई जोड्ने अर्को सडक निर्माड गर्ने तयारी गरिरहेको छ। सरकारले निजगढ–काठमाडौ द्रुतमार्ग निर्माणको तयारी गरिरहेको छ। जोशीले निजगढ–काठमाडौं द्रुतमार्गका लागि कम्पनीले निर्माण गर्ने सुरुङ मार्गले 'कम्प्लिमेन्ट' गर्ने बताए।
काठमाडौं–कुलेखानी–हेटौंडा सडकका लागि कम्पनीले सिस्नेरी–भीमभेदीको बीचमा सुरुङ निर्माण गर्ने छ। सुरुङ मार्ग छिचोल्न वढीमा २ मिनेट लाग्ने जोशीले जानकारी दिए। अहिले सिस्नेरी–भिमफेदको दुरी पार गर्न १६ किलोमिटर छिचोल्नु पर्छ।
सुरुङमार्ग निर्माणका लागि मात्र झन्डै ९ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। बाँकी खर्च सडक निर्माण र विस्तारमा मर्मतमा खर्च  हुने छ।
निर्माण, स्वामित्व, हस्तान्तरण (बुट) नीतिअनुसार बनाउन लागिएको सुरुङ मार्ग तीस वर्षभित्र सरकारमा हस्तान्तरण हुने छ। योजना चार वर्षमा पूरा भइसकेपछि अर्को पाँच वर्षमा निर्माणमा लागेको खर्च उठ्ने अनुमान गरिएको छ।
सुरुवातमा यो सडक बनाउन हेटौंडा–कुलेखानी–काठमाडां सुरुङमार्ग सरोकार समितिका नामबाट काम अगाडि बढाइएको थियो। यो योजनालाई छिटो अगाडि बढाउन नयाँ कम्पनी दर्ता गरिएको हो।

No comments:

Post a Comment

thanks for comment