सवै बैंक वित्तीय संस्था क्लियरिङ हाउसको सदस्य हुनु पर्ने


काठमाडौं, बैशाख १८
विद्युतीय माध्यममार्फत चेक राफसाफ गर्ने कम्पनी नेपाल  क्लियरिङ हाउसको सदस्य बन्नका लागि राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको छ।
क्लियरिङ हाउसमा ३६ वटा बैंक तथा वित्तीय संस्था मात्र सदस्य हुँदा यसले प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्र बैंकले सदस्य बन्न पत्राचार गरेको हो। सवै बैंक तथा वित्तीय संस्था सदस्य नबन्दा क्लियरिङ साउसका साथै राष्ट्र बैंकले पनि चेक राफसाफको काम गर्नु परेको थियो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुलाई पत्राचार गर्दै  सदस्यता लिनका लागि पहल गर्न भनेको छ। राष्ट्र बैंकले नेपाल बैंकर्स संघ, विकास बैंक संघ र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गरेको हो।
'अत्याधुनिक प्रविधि आउँदासमेत बैंक तथा वित्तीय संस्थाले सदस्य बन्नका लागि चासो नदेखाएपछि पूर्ण रुपमा लागू गर्न पत्राचार गरेका हौं,' राष्ट्र बैंकका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने।
राष्ट्र बैंकले 'मानव शंसाधन' प्रयोग गरी चेक राफसाफको काम गर्दै आएकोमा क्लियरिङ हाउसले स्वचालित गर्न थालेको हो। सवै संस्था सदस्य नबन्दा राष्ट्र बैंकले मानव शंसाधन प्रयोग गरी अहिले पनि चेक राफसाफ गरिरहेकेा छ।
व्यक्ति खटिएर चेक राफसाफ गर्न राष्ट्र बैंकले कम्तिमा दुई दिन लगाउने गरेको छ। सुदूर क्षेत्रका शाखाबाट आएको चेक राफसाफ हुन एक महिनासम्म पनि लाग्ने गरेको छ। तर स्वचालित प्रविधिबाट एकै दिनमा राफासाफ हुने गर्छ।
चेक राफासाफ गर्नका लागि सम्वन्धित बैंक तथा वित्तीय संस्थाले पनि सफ्टवेयर जडान गर्नु पर्ने हुन्छ। सफ्टवेयर जडान शुल्क महँगो भएको भन्दै बैंक तथा वित्तीय संस्थाले क्लियरिङ हाउसको सदस्य बन्न नसकेको बताउँछन्।
चेक राफसाफ गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै पनि सेवा शुल्क लिन पाउँदैनन्। चेक राफसाफ सेवा सातै दिन चौविसै घन्टा उपलब्ध हुने छ।
चेक कसरी राफसाफ हुन्छ?
एउटा बैंकको चेक आफ्नो खाता भएको  अर्को बैंकमा जम्मा गरेपछि सम्बन्धित बैंकले चेक काटिएको बैंकमा त्यसलाई 'स्क्यान' गरेर पठाउँछ। त्यसपछिका सबै कामहरु स्क्यान गरिएको चेकको आधारमा हुन्छन्।
उदाहरणका लागि, न्युरोडमा रहेको' क' बैंकको शाखा कार्यालयमा तपाईको खाता छ। तपाईको साथीको खाता भने 'ख' बैंकको पुल्चोक शाखामा छ। अब तपाईको साथीले 'ख' बैंकको पुल्चोक शाखाको चेकमार्फत भुक्तानि गर्‍यो। तपाई आफ्नो खाता रहेको 'क' बैंकको न्युरोड शाखा जानु हुन्छ।
न्युरोड शाखाले तपाईको चेकलाई स्क्यान गर्छ।  शाखाले स्क्यान गरेको चेकको विद्युतीय प्रतिलिपी (कपी) नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) पठाउँछ। प्राप्त चेकको  तस्विरलाई एनसिएचएलले 'ख' बैंकमा पठाईदिन्छ। बैंकले त्यो चेकमा भएको हस्ताक्षर, खातामा उपलब्ध रकमलगायत अन्य आवश्यक पक्षहरु भिडाउँछ। चेकको विवरणमा भएको कुरा खातामा मिले  बैंकले भुक्तानीका लागि स्विकृत गर्छ, नमिले अस्विकृत।
चेक स्विकृत भए वा नभएको जानकारी 'ख' बैंकले विद्युतीय प्रणालीमार्फत 'क' बैंकलाई गराउँछ। यसको आधारमा 'क' बैंकले तपाँइको खातामा रकम जम्मा गर्ने वा नगर्ने निर्णय गर्छ। तपाईले 'क' बैंकमा जम्मा गर्नुभएको चेक त्यही बैंकमा सुरक्षित रहन्छ। तर, तपाईले चाहेमा चेकको 'इलेक्ट्रोनिक' प्रतिलिपी भने प्राप्त गर्न सक्नुहुनेछ। यो सेवाका लागि मेचीको बैंकले महाकालीको बैंकमा एकै दिन भुक्तानी गर्न सक्छ ।
विद्युतीय चेक राफसाफ प्रणालीले बैंक तथा वित्तीय संस्थाहरुको लागत घटाउँ छ। नगदको प्रयोग घट्छ। साथै एकै दिनमा खातामा पैसा जम्मा हुने भएकाले चेकको माध्यमबाट हुने भुक्तानीमा बृद्धि भई औपचारीक अर्थतन्त्रको विकास हुन्छ।

No comments:

Post a Comment

thanks for comment