विदेशमा काम गर्नेलाई रोजगार बचतपत्र


– एनआरएन र भारतमा गएका नेपाली कामदारले पनि किन्न सक्ने
– व्याज १० प्रतिशत
– तीन वर्ष अवधिको बचत पत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २१
नेपाल राष्ट्र बैंकले निस्कासन गर्ने वैदेशिक रोजगार बचत पत्र गैरआवसिय नेपाली र भारतमा रहेका नेपाली कामदारले समेत खरीद गर्न पाउने भएका छन्। असार पहिलो साता निस्कासन गर्न लागिएको बचतपत्रको अवधि तीन वर्षको हुने छ।
बचत पत्र दक्षिण कोरिया, मलेसिया, युएइ, साउदी अरेविया र कतारमा गएका नेपालीले मात्र खरीद गर्न पाउँथे। राष्ट्र बैंकले लगानीमा वृहत्त सहभागी गराउनका लागि यसपालीबाट भारतमा रहेका नेपाली कामदार र एनआरएनका लागि पनि बचतपत्र खुला राखेको हो।
बचत पत्रको वार्षिक ब्याज १० प्रतिशतको हाराहारीमा हुने छ। ब्याज अर्द्धबार्षिक रुपमा भुक्तानी हुने छ। बचतपत्र खरिद गरेको दिनदेखि नै व्याज उपलब्ध हुने छ।
कामको शिलशिलामा विदेश गएका नेपाली कामदारले आर्जन गरेको रकमबाट राष्ट्र निर्माणका लागि पूँजी परिचालन गरी पुर्वाधार निर्माणमा खर्च गर्ने उद्देश्यले बचत पत्र निस्कासन गर्न लागिएको हो।
'विदेशमा काम गर्ने नेपालीले लगानीको राम्रो अवसरसँगै बचत गर्न सकुन् भनेर बचत पत्र निस्कासन गर्न लागिएको हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले आइतबार नागरिकसँग भने, 'उनीहरुको रकमलाई एकिकृत गरी विकास निर्माणमा लगाउन बचत पत्र अवधारणा ल्याइएको हो।' केन्द्रिय तथ्यांक विभागका अनुसार, रेमिट्यान्सका रुपमा भित्रिएको कुल रकममध्ये ९४ प्रतिशतभन्दा वढी उपभोगमा खर्च हुने गरेको छ।
बचतपत्र निस्कासनका लागि राष्ट्र बैंकले बैंदेशिक रोजगारीको कार्यविधिसमेत तयार पारिसकेको छ। नयाँ व्यवस्था अन्तर्गत बचतपत्र नेपाली रुपैयाँमा समेत खरीद गर्न पाइने छ। विदेशी रोजगारीमा गएर तीन महिना नेपाल बसेका कामदारले पनि बचत पत्र पाउने छन्।
बचत पत्र विक्री गर्न चाहनेलाई राष्ट्र बैंकले यसै साताबाट स्वीकृति लिनका लागि आह्वान गर्ने भएको छ। राष्ट्र बैंकबाट इजाजत पाएकाहरुले मात्र बचत पत्र विक्री गर्न पाउने छन्। बचत पत्र विक्री गर्नेलाई राष्ट्र बैंकले कमिसन बढाएको छ। एक सय रुपैयाँ बराबरको बचत पत्र वेच्नेलाई ६५ पैसा कमिसन दिइने छ। पहिले यो कमिसन ५० पैसा मात्र थियो।
राष्ट्र बैंकले विदेशमा रहेका कामदार तथा गैरआवसिय नेपालीलाई रेमिट्यान्स कम्पनीहरुमार्फत बचत पत्र विक्री गर्ने छ। रोजगारमा गएका नेपालीले कम्तिमा ५ हजार र वढीमा २ लाख रुपैयाँसम्मको बचत पत्र खरिद गर्न पाउँछन्।
बचत पत्र बैदेशिक रोजगारीमा गएको नेपालीले आफू तथा आफ्नो आमा, बाबु, श्रीमती तथा छोरा छोरीको नाममा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। पाँच बर्ष अवधि भएको बचत पत्र रोजगारीमा गएको व्यक्तिले नाबालकको तर्फबाट समेत संरक्षक भई खरिद गर्न सक्नेछन्। दुई व्यक्तिले पनि संयुक्त नाममा बचत पत्र खरिद गर्न सक्ने छन्।
केन्द्रिय बैंकले बचत पत्रमा सेयर जस्तै सुविध पनि दिइएको छ। 'भुक्तानी अवधि नपुग्दै दोश्रो (सेयर) बजार मार्फत बिक्री गर्न सकिन्छ,' राष्ट्र बैंकका एक अधिकारीले भने। उनले यसमा गरिएको लगानीबाट आर्जित ब्याजमा कुनै किसिमको कर तथा शुल्क नलाग्ने जानकारी दिए।
बचतपत्र खरिद गरेकाले यसको धितोमा ऋण पाउने व्यवस्था पनि केन्द्रिय बैंकले मिलाएको छ। 'बचतपत्रको धितोमा नेपाल स्थित बैंक वा वित्तीय संस्थाबाट ऋण पनि निकाल्न पाइन्छ,' ती अधिकारीले भने, 'समय नपुग्दै रोजगारमा गएकालाई पैसा चाहिएमा आर्थिक सहयोग पुगोस् भनेर दोस्रो बजार र धितोको व्यवस्था मिलाइएको हो।'

No comments:

Post a Comment

thanks for comment