माघ र फागुनमा ७ प्रतिशत रहेको मूल्य वृद्धि चैतमा साढे ७ पुग्यो


मूल्य वृद्धि अकासिन थाल्यो
पहाडमा धेरै, काठमाडौंमा कम

काठमाडौं, जेठ १०
पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै यातायात भाँडा वढेका कारण समग्र मूल्य वृद्धि उकालो लागेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्र बैंकले बुधबार चैतसम्मको देशको वर्तमान आर्थिकस्थिति सार्वजनिक गर्दै मूल्य वृद्धि ७.५ प्रतिशतले वढेको जनाएको छ।
माघ र फागुनमा मूल्य वृद्धि ७ प्रतिशत थियो। पुसमा ६.८ प्रतिशत मात्र थियो। अघिल्लो वर्षको चैतमा भने मूल्यवृद्धि १०.६ प्रतिशतले वढेको थियो।
यातायात क्षेत्रको मूल्यवृद्धि  १७.८ प्रतिशतले वढेको छ। अघिल्लो बर्ष यो ११.४ प्रतिशतले मत्र वढेको थियो। लत्ता–कपडा, जुत्ता–चप्पल, फर्निसिङको समेत मूल्य १५.१ प्रतिशतले वढेको छ। घरायसी उपयोगका सामानहरुको मूल्य १३.६ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष यो ८.३ प्रतिशतले मत्र वढेको थियो।
राष्ट्र बैंकका अनुसार, खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये घिउ–तेलको मूल्य सवैभन्दा वढीले वृद्धि भएको छ। गत वर्ष ५.३ प्रतिशतले वढेको यसको मूल्य यसपाली १५.५ प्रतिशतले उकालो लागेको छ।  दुग्ध पदार्थ, अण्डा र रेष्टुरेन्ट तथा होटलको खानाको मूल्यसमेत वढेको छ।
सवैभन्दा वढी मूल्य वृद्धि पहाडी क्षेत्रमा भएको छ। पहाडको मूल्य वृद्धि ८.४ प्रतिशतले वढेको छ। तराईको ७.८ प्रतिशत र काठमाडौं उपत्यकाको ६.४ प्रतिशतले महँगी वढेको छ। यद्यपी अघिल्लो वर्षको भन्दा यो मूल्यवृद्धि दर कम हो।
व्यापार घाटा १८.४ प्रतिशत वढ्यो
चैतमा निर्यात १५.९ प्रतिशतले वढेको छ। नौं महिनाको अवधिमा ५५ अर्ब २४ करोड रुपैयाँको कुल वस्तु निर्यात भएको हो। अघिल्लो वर्षको चैतमा निर्यात ५ प्रतिशतले मात्र वढेको थियो। गत महिनाको तुलनामा पनि निर्यात ११.८ प्रतिशतले वढेको राष्ट्र बैंकले जनाएको छ।
कुल निर्यातमध्ये भारततर्फको १८.४ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष ७.५ प्रतिशतले वढेको थियो। भारत वाहेकका मुलुकतर्फको निर्यात ११.१ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष यो शुन्य दशमलव ३ प्रतिशतले वढेको थियो।
लत्ताकपडा, पोलिस्टर धागो, अलैंची, तामाको तार र जीआईपाइप, ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, छाला र नेपाली कागज तथा त्यसका सामानको निर्यात वढेकाले समग्र निर्यात माथि गएको हो।
आयात पनि १८ प्रतिशतले वढेको छ। चैतसम्म ३ सय ३९ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष चैतसम्म २ सय ८७ अर्ब ९७ करोड रुपैयाँको आयात भएको थियो।
कुल आयातमध्ये भारततर्फको १३.१ प्रतिशतले वढेको छ। भारतवाहेकका मुलुकको आयात २८.३ प्रतिशतले उकालो लागेको छ। पेट्रोलियम पदार्थ, कोइला, तयारी पोशाक, रासायनिक मल, एमएस वायर, रड, सुन, भटमासको कच्चा तेल, खाने तेल, चाँदी र अन्य मेशिनरी समानको आयात वढेको छ।
चैतसम्म कुल वस्तु व्यापार घाटा १८.४ प्रतिशतले वढेको छ। चैतसम्म वस्तु व्यापार घाटा २ सय ८४ अबृ ६० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
शोधनान्तर बचत सय अर्ब नजिक
देशबाट वाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर बचत) सय अर्बको नजिक पुगेको छ। चैतमा शोधनान्तर ९१ अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ। यसले मुलुकको अर्थतन्त्र सुद्धृढ रहेको जनाउँछ।
फागुनमा शोधनान्तर ७९ अर्ब ९० करोड रुपैयाँले बचतमा थियो। पुसमा ६६ अर्ब ७२ करोड र माघमा ७५ अर्ब ९ करोड रुपैयाँ बचतमा शोधनान्तर थियो। अघिल्लो वर्षको चैतमा भने शोधनान्तर १४ अर्ब ९४ करोड रुपैयाँले घाटामा थियो। सुन तथा पेट्रोलियम पदार्थको आयात वढेर शोधनान्तर २३ अर्ब रुपैयाँसम्म घाटामा गएको थियो।
गत आर्थिक वर्षभरी शोधनान्तर अवस्था घाटामा रहेपछि राष्ट्र बैंकले चालु वर्षको मोद्रिक नीतिमा यसको लक्ष्य ५ अर्ब बचतमा राख्ने जनाएको थियो। तर भदौयता बचतमा चमत्कारिक सुधार आएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा लक्ष्य वढाएर ४० अर्ब पुर्‍याएको थियो।
पर्यटन आयमा भएको सुधार र विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) मा सुधार आएका कारण शोधनान्तर बचत उल्लेख्य रुपमा उकालो लागेको हो। पर्यटन आय २८.९ प्रतिशतले वढेको छ। रेमिट्यान्स ३६.५ प्रतिशतले वढेर २ सय ४८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। डलरको मूल्य उक्लिन थालेपछि पनि रेमिट्यान्स आयमा वृद्धि भएको हो।

No comments:

Post a Comment

thanks for comment