अस्थिरताले बैंक ऋण रोकियो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २०
चार महिनायता क्रमशः सुधार हुँदै आएको बैंक ऋण राजनीतिक अस्थिरताका कारण  जेठ लागेपछि रोकिएको छ।  जलविद्युत, सिमेन्ट, उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा जाने ऋण रोकिएको हो।
अस्थिरताका कारण लगानीकर्ताले जोखिम लिन नखोज्दा बैंकमा ऋणको माग छैन। लगानीकर्ताबाट माग पनि नभएको र दिएको पैसा सजिलै उठ्ने प्रत्याभूतिसमेत हराएकाले ऋण रोकिएको हो।
बैंक ऋण रोकिँदा अर्थतन्त्र चलायमान हुँदैन। पूर्वाधार, उद्योग र उत्पादनमूलक क्षेत्रमा ऋण लगानी नहुँदा यसले रोजगारी घटाउँछ। 

'तीन–चार महिनाघि सुधार हुँदै गएको लगानी वातावरण राजनीतिक कारणले अहिले विग्रिएको छ,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले शनिबार नागरिकसँग भने, 'यसले गर्दा नयाँ ऋणको माग आएको छैन।'
लगानी वातावरण नहुँदा निजी क्षेत्रको मात्र नभइ सरकारी लगानीसमेत प्रभावित भएको छ। सरकाले चालु वर्षभित्र विकास खर्च गर्न लिएको लक्ष्यको जम्मा ३० प्रतिशत मात्र पुरा भएको छ।
बैंकहरुले दैनिक कारोवार धान्ने खालका ऋण मात्र लगानी गरिरहेका छन्। छोटो अवधिको यस्तो ऋण व्यापारिक प्रकृतिको छन्। व्यक्तिगत फाइनान्स, अधिविकर्स (ओभरड्राफ्ट), व्यापारिक (सामान आयात गर्ने प्रयोजनको) र सञ्चालन पुँजीजस्ता ऋण मात्र गइरहेको छ।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकले माघयता (चार महिनामा) ३६ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन्। दुई सातायता भने  ऋण जम्मा २ अर्ब रुपैयाँले मात्र वढेको छ।  वढेको ऋण छोटो अवधिका व्यापारिक प्रकृतिका हुन्। राष्ट्र बैंकका अनुसार, बैंकहरुले अहिलेसम्म ५ सय ९० अर्ब रुपैयाँ कुल ऋण लगानी गरेका छन्।
वैशाख मसान्तसम्म ४० अर्ब रुपैयाँ अधिक तरलता लिएर वसेका बैंकहरुले अधिकतम ६० लाखसम्मका यस्ता ऋण लगानी गरिरहेका छन्। बैंकमा बचतका लागि राखिने पैसा (निक्षेप) वढिरहे पनि त्यही अनुपातमा ऋण लगानी नहुँदा बैंकहरुको लागतसमेत वढाएको छ। बैंकहरुको नाफा घट्नुको प्रमुख कारण तिर्नु पर्ने ब्याज वढि भएकाले पनि हो।
'बैंकको दैनिक कारोबार धान्ने वाहेक नयाँ ऋण गएको छैन,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले भने, 'यसले आगामी असारको वासलातलाई राम्रैसँग प्रभावित पार्ने छ।'
बैंकहरुले लगानी वढाउन ऋणको ब्याजसमेत घटाएका छन्। घट्दो व्याज दरले समेत ऋण आकर्षित हुन सकेको छैन। 'ऋणको माग नहुनु व्याज दर  त्यति ठूलो कारण होइन। अस्थिरताले लगानी वातावरण नभएर नै ऋण नगएको हो,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'व्याज घट्दासमेत ऋणको माग भएको छैन।'
राजनीतिक अस्थिरताले गर्दा बैंकहरुले सम्पूर्ण प्रकृया सकेर दिन ठिक्क पारेको पैसासमेत लिन लगानीकर्ता आएका छैनन्। व्यापार, व्यवसाय गर्नका लागि महिनौ बैंक धाएर ऋण मिलाएका व्यवसायी अन्तिम समयमा पैसा लिन नगएका हुन्। यसले पनि बैंकहरुको लागत वढाएको छ।
'अहिले ऋण लिएर व्यापार व्यवसाय गर्ने अवस्था छैन,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, 'यस्तो बेलामा ब्याज तिर्नलाई मात्र कसले ऋण लैजान्छ र?'
बैंकहरुसँग खासगरी उत्पादनमूलक र सेवा क्षेत्रमा लिन लागेका ऋण व्यवसायीहरुले नलगेका हुन्। सेवा क्षेत्रतर्फ होटल, यातायात, स्कुल–कलेज, हस्पिटलको ऋण पनि व्यवसायीले लगेका छैनन्। साना तथा मझौला (एसएमइ) तर्फको ऋणसमेत ग्राहकले लान छाडेका छन्।

No comments:

Post a Comment

thanks for comment