बैंकले निक्षेपको ब्याज घटाए

ऋणको पनि घट्न थाल्यो
सुदर्शन सापकोटा
काठमाडौं, जेठ ८
वाणिज्य बैंकहरुसँग पैसा धेरै हुन थालेपछि ग्राहकलाई दिने (निक्षेपको) ब्याज घटाएका छन्। पैसा कम हुँदा १२ प्रतिशतसम्म दिएका बैंकले अहिले एक वर्षे मुद्दति खाताको ब्याज घटाएर ४ देखि १० प्रतिशतसम्म पुर्‍याएका छन्।
सवैभन्दा वढी ब्याज घटाउनेमा पुराना र ठूला बैंक छन्। यि बैंकले ४ देखि ७ प्रतिशतसम्म ब्याज दिएका छन् । नयाँ र निक्षेप कम भएका बैंकले १० प्रतिशतसम्म दिएका छन्।

बचत खाताको ब्याज तीनदेखि आठ प्रतिशतसम्म आइसकेको छ। बचत खाताको ब्याज ११ प्रतिशतसम्म पुगेको थियो। निक्षेपको ब्याज घट्दा बैंकमा पैसा राख्नेहरुको आम्दानी घट्छ। ऋणको घट्दा व्यापार, व्यवसाय गर्न तथा घर गाडी किन्नेलाई सजिलो हुन्छ।
'ऋण लगानी नहुने तर निक्षेप मात्र वढ्दा बैंकहरुलाई ब्याज खर्च महँगो पर्न थाल्यो,' लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेन पन्तले सोमबार नागरिकसँग भने, 'यसले गर्दा निक्षेपको ब्याज घट्न थालेको हो।' उनले महँगो दरको निक्षेप वढाउँदै लगेमा बैंकहरुलाई आर्थिक रुपमा धान्न गाह्रो पर्ने जानकारी दिए।
तरलता अभाव हुँदा महँगो ब्याज तिरेर संस्थागत निक्षेपकर्ताबाट पैसा लिएका बैंकले अहिले उनीहरुलाई सर्वसाधारणलाई दिनेभन्दा कम ब्याज दिने थालेका छन्।'अहिले सर्वसाधारणलाई दिनेभन्दा कम ब्याज संस्थागत निक्षेपकर्तालाई प्रस्ताव गर्न थालेका छौं,' बैंकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'त्यहीपनि उनीहरु पैसा दिन आइरहेका छन्। ऋण लगानी हुन नसकेकाले सस्तो दरमा लिएको निक्षेप व्यवस्थापन गर्नसमेत अप्ठेरो परेको छ।' 
गत वर्ष बैंकहरुमा निक्षेप संकलन नहुँदा चरम तरलता (लगानी योग्य पुँजी) अभाव भएको थियो। निक्षेप आकर्षित गर्नका लागि उनीहरुले ब्याज वढाएका थिए। अहिले निक्षेप बढेको अनुपातमा ऋण लगानी नभएकाले बैंकहरुले ग्राहकलाई दिने ब्याज घटाएका हुन्।
चालु वर्ष (साउनदेखि जेठसम्म) १ सय ५ अर्ब रुपैयाँले निक्षेप वढेको छ। अहिलेे बैंकहरुको कुल निक्षेप ७ सय ९५ अर्ब रुपैयाँ पुगेको छ। ऋण लगानी भने ७० अर्ब रुपैयाँ वढेको छ। कुल ऋण लगानी ५ सय ८८ अर्ब रुपैयाँ पुगेको छ।
डलरको मूल्य वढेर विदेशमा वस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) वृद्धि भएको, ऋणात्मक रहेको देशको शोधनान्तर अवस्था ७० अर्ब रुपैयाँले बचतमा रहेको र बचत खाता खोल्दा स्रोत देखाउनु पर्ने व्यवस्थामा खुकुलो नीति लिएपछि बैंकहरुमा निक्षेप वृद्धि हुन थालेको हो।
सरकारी स्वामित्वका तीन वटै बैंक कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्यले एक वर्षे निक्षेपको ब्याज ८ प्रतिशतमा झारेका छन्। बचत खातामा तीन प्रतिशत दिन थालेका छन्।
निजी क्षेत्रका ठूला बैंक नबिल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, नेपाल एसबिआइ, बैंक अफ काठमाण्डूलगायतका बैंकले पनि ब्याज घटाएर ८ प्रतिशतसम्म झारेका छन्। बचत खाताको ब्याज अझ कम छ।
मध्यमस्तरका सनराइज, लक्ष्मी, ग्लोबल, बैंक अफ एसिया, सिद्धार्थ, ग्रान्ड बैंक नेपाल, एनआइसी, नेपाल क्रेडिट एन्ड कमर्स, लुम्बिनी, सिटिजन्स्लगायतका बैंकले ९ प्रतिशतसम्म ब्याज झारेका छन्। नयाँ बैंकहरु सिभिल, कमर्ज एन्ड ट्रस्ट, जनता, सेन्चुरी कमर्सियल बैंक र मेगा बैंकले १० प्रतिशतमा ब्याज झारेका छन्।
'पैसा धेरै हुन थाल्यो तर लगानी भने वढ्न सकेको छैन। यसले बैंकहरुको लागत वढाएको छ,' ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने, 'राननीतिक कारणले विकास निर्माणको काम रोकिएर सरकारले समेत बजारबाट पैसा उठाउन छाडेकाले निक्षेपको ब्याज घटाउनु परेको हो।'
उनका अनुसार, बैंकहरुले आपसमा लिनेदिने सापटीको ब्याज दर एक प्रतिशतभन्दा कम छ, टे्रजरी विल नयाँ आएको छैन। 'आउने पैसा कम तर दिने पैसा वढी हुन थालेपछि ब्याज घटाउनुको विकल्प थिएन,' बज्राचार्यले भने, 'त्यही भएर घटाएका हौं।' उनले ऋणको ब्याज पनि ११ देखि १३ प्रतिशतको हाराहारीमा झरिसकेको जानकारी दिए।
उनले ग्राहकलाई दिन ठिक्क पारेको ऋणसमेत बन्द हड्तालका कारणले नगएको जानकारी दिए। 'केही समय अगाडि जलविद्युत् र औद्योगिक  क्षेत्रका लागि दिन ठिक्क पारेको ऋण अड्किएको छ,' बज्राचार्यले भने, 'यसले बैंकको लागत वढाएको छ। लागत घटाउनलाई ग्राहकलाई दिने ब्याज घटाउन वाध्य हुनु परेको हो।'

No comments:

Post a Comment

thanks for comment