घरजग्गाको ऋण उठेन, बैँकको नाफा पौने २ अर्बले घट्यो


बढी नाफा गर्ने बैंक
बैंक नाफा (रु . करोड मा)
कृषि विकास बैंक ११४.५९
नबिल बैंक ११२.९७
स्ट्यान्डर्ड चार्टर्ड ८५
नेपाल इन्भेस्टभेन्ट ८०.१
एभरेस्ट ७८.८४ 
 


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ७- 
घरजग्गाको ऋण नउठेर वाणिज्य बैंकहरूको नाफा १ अर्ब ७५ करोड रुपैयाँ घटेको छ। बैंकको नाफामा आएको कमीसँगै सेयर लगानीकर्ताले आगामी आर्थिक वर्षमा पाउने लाभांश प्रभावित हुनेछ।  'घरजग्गा ऋण नउठेर बैंकहरूको नाफा धेरै प्रभावित भएको छ,' ग्रान्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने, 'यसले आगामी वर्ष सेयरधनीले पाउने लाभांश घट्छ।'

घरजग्गाको ऋण नउठेर नोक्सानी वापतको रकम ६६ प्रतिशतले बढेपछि नाफा १६ प्रतिशत घटेको हो। बैंकरहरूले अहिलेकै अनुपातमा नाफा प्रभावित भए लाभांश बढीमा १० प्रतिशतभन्दा दिन नसकिने बताएका छन्।
अघिल्लो वर्षको तुलनामा चालु वर्ष (साउनदेखि चैतसम्म) बैंकहरूले नाफाको ठूलो हिस्सा (२ अर्ब ५३ करोड रुपैयाँ) नोक्सानी व्यवस्थामा छुट्याएका हुन्। ऋण नउठेपछि बैंकहरूले निश्चित रकम नाफाबाट नोक्सानी व्यवस्थामा राख्नुपर्छ।

'यसपालि बैंकहरूको नाफा घट्नुमा घरजग्गा ऋण मात्र कारण होइन,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले नागरिकसँग भने, 'सरकारी ऋणपत्रको ब्याज १ प्रतिशतभन्दा कम हुनु र अन्तर बैंक सापटी बन्द भएकाले आम्दानी घटेको हो।'

जोशीका अनुसार उठाएको निक्षेपमध्ये उपभोक्तालाई २० प्रतिशत रकम ऋण लगानी गर्न पाइँदैन। त्यो पैसा अन्तर बैंक सापटी र सरकारी ऋणपत्रमा लगानी गर्नुपर्छ। यसपालि त्यसको ब्याज एकदमै कम भएकाले आम्दानी घटेको जोशीले जानकारी दिए।

'अल्पकालीन ऋणको ब्याज घटेर निक्षेपको ब्याज हाराहारीमा आएकाले आम्दानीमा असर परेको छ,' उनले भने, 'यसपालिको अवस्था अपेक्षित नै हो।' उनले यो वर्ष बैंकहरूले लगानी गरेको ऋणको अनुपातमा ब्याज आम्दानी कम भएको जानकारी दिए।

'घरजग्गा कारोबार सुस्ताउँदा बैंकहरूको ऋण प्रभावित भएर नाफामा असर परेको हो,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नागरिकसँग भने, 'यसले अझै केही समय बैंकहरूलाई गाँज्नेछ।'

गत वर्ष १० अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका बैंकहरू यसपटक ९ अर्ब ६ करोड रुपैयाँमा सीमित भएका छन्। चैतसम्मको वासलात प्रकाशित गरेका सबै ३२ वाणिज्य बैंकमध्ये १९ को नाफा घटेको छ। दुई वाणिज्य बैंक घाटामा गएका छन्। २३ वाणिज्य बैंकको नोक्सानी व्यवस्था बढेको छ।
बैंकहरूले दिएको ऋणको ब्याज र किस्ता तीन महिनामा नउठे कुल ऋणको २५ प्रतिशत नोक्सानी व्यवस्थामा छुट्याउनुपर्छ। ६ महिना नाघे ५० प्रतिशत र एक वर्षमा पनि नउठे सबै ऋणको नोक्सानी व्यवस्था गर्नुपर्छ। घरजग्गा व्यवसायमा मन्दी आएपछि यसको किस्ता र ब्याज उठ्न समस्या हुन थालेको छ। यही कारण नाफा घटेको हो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगलका अनुसार विगतमा बैंकहरूले निक्षेपमा दिने ब्याजको तुलनामा कर्जामा बढी ब्याज (स्प्रेड) राखेकाले नाफा कमाएका थिए। अहिले कम स्प्रेडमा काम गर्नु परेकाले नाफा घटेको हो।

उनले बैंकहरूको नाफा अस्वभाविक रूपमा घटिरहँदा यसले अर्थतन्त्रमा नकारात्मक सन्देश जाने जानकारी दिए। 'घरजग्गा कारोबार बढाउने खुकुलो नीति लिएमा बैंकहरूको खराब ऋण उठ्छ,' उनले भने, 'यसले बैंकको नाफामा सुधार भएर अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन्छ।'

चैतसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, एसबिआईका साथै नबिल, नेपाल बंगलादेश बैंक, ग्रान्ड बैंक नेपाल, सिभिल, ग्लोबल, जनता र मेगा बैंकले नाफा बढाएका छन्।
कृषि विकास बैंक र नबिल बैंकको नाफा एक अर्ब नाघेको छ। कृषिले १ सय १४ करोड र नबिलले १ सय १२ करोड रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्ष १ सय २६ करोड नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकको नाफा ६६ करोडमा सीमित भएको छ।

९५ करोड रुपैयाँ नाफा गरेको नेपाल इन्भेस्टमेन्ट बैंक ८० करोडमा खुम्चिएको छ। ६६ करोड नाफा गरेको हिमालयन बैंक ५७ करोडमा, ५९ करोड नाफा गरेको नेपाल बैंक १८ करोडमा र ४५ करोड कमाएको बैंक अफ काठमाडौं ४० करोडमा सीमित भएको छ।

बैंकिङ क्षेत्रका लागि प्रतिकूल अवस्था भए पनि नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंक, कृषि विकास, ग्रान्ड, बैंक अफ काठमान्डु, एभरेस्ट, ग्लोबल, मेगा र माछापुच्छे्र बैंकले नोक्सानी व्यवस्थाको रकम घटाएका छन्।

'दुई वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार लामो समयसम्म यही अवस्थामा रहँदैन, बजार बढ्छ भन्ने विश्लेषण गरे,' एक बैंकरले भने, 'यसैको आधारमा बैंकहरूले ब्याज भुक्तानी प्रयोजनका लागि अन्य शीर्षकमा ऋण प्रवाह गरे।' ती बैंकरका अनुसार विश्लेषण गरेजस्तो घरजग्गा कारोबारमा सुधार नआएपछि बैंकहरूको ऋण थप संकटमा परेर नाफा प्रभावित बन्यो।


 

No comments:

Post a Comment

thanks for comment