अन्तर बैंक सापटी विकास बैंक र फाइनान्सलाई महँगो



सुदर्शन सापकोटा
काठमाडौं, जेठ २२
विश्वास अभावका कारण वाणिज्य बैंकको भन्दा १६ गुणासम्म वढी तिरेर विकास बैंक र फाइनान्स कम्पनीले अन्तर बैंक सापटी चलाउन थालेका छन्। बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) वढिरहे पनि विश्वास अभावले गर्दा 'ख' र 'ग' वर्गका वित्तीय संस्थाहरुले भने महँगोमा सापटी चलाउनु परेको हो।
एक वाणिज्य बैंकले अर्को बैंकसँग एक प्रतिशतभन्दा कममा नै सापटी चलाइरहेका छन्।

'कसलाई कति आवश्यक पर्छ त्यही अनुसार वढी दर तिर्ने हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले सोमबार नागरिकसँग भने, 'तत्काल रकम फिर्ता गर्नु पर्ने र अलिकति आर्थिक समस्यामा परेकाले महँगोमा सापटी लिन्छन्।'
अन्तर बैंक सापटी तत्काल निक्षेप फिर्ता गर्नु पर्ने तथा प्रतिवद्धता गरेको ऋण भुक्तानी गर्नका लागि लिइन्छ। राष्ट्र बैंकले तोकेको तरलता व्यवस्थापनका लागि समेत एक संस्थाले अर्कोसँग सापटी चलाउँछन्।
अविस्वासका कारण बैंक तथा वित्तीय संस्थाले एक आपसमा दिने सापटीको दर नै तीन खालको कायम भएको छ। विश्वास योग्य, औषत र विश्वास कम भएका संस्थाका रुपमा अघोषित रुपमा वर्गीकरण भएका कारण तीन खालको दर कायम भएको हो।
बैंकिङ क्षेत्रमा ४० अर्ब रुपैयाँ अधिक लगानी योग्य पुँजी (तरलता) भएका बेलामा समेत संस्थाको अवस्था हेरी अन्तर बैंक सापटी दर १६ प्रतिशतसम्म पुगेको छ।
विश्वास योग्य कम्पनी बीचको कारोबार पछिल्लो शुन्य दशमलव ६० प्रतिशतमा सीमित छ। औषत कम्पनीहरु बीचको दर १० प्रतिशत र विश्वास कम भएका कम्पनीको दर १६ प्रतिशतसम्म छ।
'अहिले भइरहेको अन्तर बैंक कारोबारलाई बैंक तथा वित्तीय संस्थाले संस्थागत सुशासन र उसको वित्तीय अवस्थासँग जोडेर हेरेको देखिन्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले नागरिकसँग भने, 'राम्रा कम्पनी बीचको कारोबार एक प्रतिशतभन्दा कममा भइरहेको बेला अरु कम्पनीमा भने १६ प्रतिशतसम्म छ।' १६ प्रतिशतमा सापटी लिने विकास बैंक र फाइनान्स कम्पनी दुई दर्जन छन्।
 राष्ट्र बैंकका अनुसार, एक वाणिज्य बैंक र अर्को वाणिज्य बैंक बीच दैनिक १० वटा कारोबार भइरहेको छ। विकास बैंक र फाइनान्स कम्पनी बीचको कारोबार २५ वटा हुने गरेको छ। पछिल्लो पाँच दिनको औषत कारोबार अनुसार, तीन वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ सापटी चलाउने गरेका छन्। विकास बैंक र फाइनान्स कम्पनीले भने दैनिक १७ कारोबारबाट ९ अर्ब रुपैयाँ साटी चलाउने गरेका छन्।
तरलता तथा संस्थागन सुशासनको कमीले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सिय इन्टिच्युट, पिपल्स फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई विभिन्न बैंक तथा वित्तीय संस्थाले दिइएको अन्तर बैंक सापटी डुवेपछि एकले अर्कालाई गर्ने विश्वासमा कमी आएको हो।
विश्वासका कमीले सापटी नै वन्द भएका बेला सुरक्षण (धितो) लिएर सापटी दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेपछि पुन सुरु भएको हो। तर सुरक्षणले मात्रै नपुगेपछि राम्रा कम्पनीले औषत तथा विश्वास कम भएका कम्पनीलाई सापटीमा निरुत्साहित गर्न दर वढाएर दिएका हुन्।
सबै वाणिज्य बैंकहरुबीच बिना धितो नै एक प्रतिशतभन्दा कमा अन्तर बैंक कारोबार भइरहेको छ। विकास बैंक र फाइनान्स कम्पनीबीच मात्रै महँगोमा कारोबार भएको हो। यि कम्पनीहरुमा धितो लिएर मात्रै पैसा दिने काम भइरहेको छ।
'सापटी दिने कम्पनीले सम्पूर्ण वित्तीय अवस्था, सुशासन र कार्यसम्पादन हेर्दा सन्तोषजनक नलागेको अवस्थामा महँगो दरमा पैसा दिइरहेका छन्,' राष्ट्र बैंक स्रोतले भन्यो। उनका अनुसार, केही कारोबार भने कम्पनी राम्रो अवस्थामा भएपनि तत्काल जसैगरी पैसा दिनु परेको खन्डमा महँगो दर लगाइएको छ।
वाणिज्य बैंकहरुले विश्वास लागेका विकास बैंक र फाइनान्स कम्पनीलाई एक सय रुपैयाँ बराबरको सुरक्षण लिएर १ सय २० रुपैयाँसम्म दिइरहेका छन्। तर, आफूलाई शंका लागेका संस्थालाई भने एक सय रुपैयाँको धितोमा ८० देखि ९० रुपैयाँसम्म दिइरहेका छन्। राम्रा विकास बैंक र फाइनान्स कम्पनीले पनि आफ्नै समकक्षी कम्पनीहरुलाई पनि यसरी नै धितोमा कर्जा दिएको राष्ट्र बैंकका ती अधिकारीले जानकारी दिए।

No comments:

Post a Comment

thanks for comment