दुरुपयोग भएको भन्दै भिवोरलाई पाँच करोड तिर्न निर्देशन

सुदर्शन सापकोटा
काठमाडौं, बैशाख १८
राष्ट्र बैंकले अमेरिकी दुतावासको स्वामित्वमा रहेको रवि भवनको जग्गा खरीद गर्दा अनावश्यक रुपमा ५ करोड रुपैयाँ भुक्तानी गरेको भन्दै भिवोर बैंकलाई पैसा उठाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले २ दिनअघि दिएको निर्देशन अनुसार, बैंकका संञ्चालकहरुले पाँच करोड रुपैयाँ व्यक्तिगत रुपमा बैंकलाई फिर्ता गर्नु पर्ने हुन्छ।
स्रोतका अनुसार, विभोर बैंकको सहायक कम्पनी भिवोर प्रोपर्टीले रवि भवनको जग्गा खरीद गर्नका लागि दुर्गा हाउजिङलाई पाँच करोड रुपैयाँमा सकारेको थियो। दुतावासको जग्गा किन्न ठेक्का पारेको दुर्गा हाउजिङलाई सकारे मात्र रविभवन हात पार्न सकिने भएपछि बैंकले पाँच करोडमा कम्पनी खरिद गरेको थियो।

राष्ट्र बैंकले जग्गा दलालीका लागि पाँच करोड अनावश्यक रुपमा भुक्तानी गरेको आरोप लगाउँदै पैसा उठाउन निर्देशन दिएको हो। भिवोरले अमेरिकी दुतावाससँग तीन वर्षअघि १ अर्ब ८ करोड रुपैयाँ रवि भवनको जग्गा खरीद गरेको थियो।
'झुक्याएर पाँच करोड रुपैयाँ सञ्चालकले खाएको देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'जग्गा मिलाइ दिए वापत दलाली खर्च दिइएको भन्दै भिवोरले प्रस्टीकरण दिएको छ। तर नेपालको कुनै पनि  कानुनले संस्थागत रुपमा चलेका संस्थाहरुलाई यसरी खर्च गर्ने अधिकार दिँदैन।'
भिवोर बैंकका अधिकारीहरु भने, रवि भवनको जग्गा खरीद गर्न दुर्गा हाउजिङ सकार्नु परेकाले ५ करोड खर्च भएको बताउँछन्। 'पैसा खाने नियत भए भिवोर प्रोपर्टीका नामबाट खान सकिन्थ्यो। तर असल नियतले काम गरेकाले हामीले जे हो  त्यही हिसाव देखायौं,' बैंकका एक सञ्चालकले भने, 'अहिले आएर अनावश्यक वखेडा झिकिएको मात्र हो।'
उनले त्यस बेला जग्गा किन्दाको पृष्ठभूमिका बारेमा राष्ट्र बैंकलाई जानकारी गराइसकिएको बताए। 'पैसा कसैले लिएको छैन। कसैले लिएको प्रमाणित भए कारवाही गर्नु पर्छ,' ती सञ्चालकले भने, 'पैसा कसैले नलिएपछि कसरी फिर्ता गर्ने भन्ने कुरा आउँछ? गोजीबाट तिर्न सकिँदैन।' उनले यस बिषयमा राष्ट्र बैंकलाई अनुसन्धान गर्न आग्रह गरिएको जानकारी दिए।
तरलता अभावले दैनिक कार्य सञ्चालन गर्न समेत कठिनाइ भएपछि बैंकले रवि भवनको जग्गा टाटा गाडिका नेपाली आधिकारिक विक्रेता सिप्रद्धी टेरडिङका सञ्चालक प्रभाकर शम्शेर राणालाई विक्री गरिसकेको छ। ऋण लिएर खरिद गरिएको जग्गा बैंकले दुई महिनाअघि १ अर्ब  २३ करोड रुपैयाँमा घाटा खाएर विक्री गरिसकेको छ।
'जनताको पैसाबाट खोलिएको बैंकको स्रोत दुरुपयोग गर्न पाँइदैन,' राष्ट्र बैंक स्रोतले भन्यो, 'स्रोत दुरुपयोग भएकाले पैसा जसरी पनि उठ्नु पर्छ। चाहे भुक्तानी दिएको संस्थाबाट होस् या सञ्चालक आफैले।'
गत वर्षको जेठमा चरम तरलता अभाव भएपछि राष्ट्र बैंकबाट ६८ करोड रुपैयाँ ऋण लिएको बैंकले केही महिनाअघि मात्र भुक्तानी गरेको थियो। पैसा भुक्तानी गर्नु पर्ने समय नाघेको निकै समयपछि मात्र बैंक पुरै पैसा फिर्ता गर्न सफल भएको थियो।
बैंकको वित्तीय अवस्था केही खस्किएपछि राष्ट्र बैंकको निर्देशनमा भिवोर भाजुरत्न फाइनान्स कम्पनीसँग मर्जमा जाँदै छ। गत चैतमा बैंकले गाभिनका लागि सैद्धान्तिक स्वीकृतिसमेत पाइसकेको छ। मर्जरपछि बैंकको पुँजी १ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ।




No comments:

Post a Comment

thanks for comment