आगामी वर्ष सबै सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिने


काठमाडौं, जेठ २३
सरकारले आगामी वर्षसम्म देशभरका सबै केन्द्रीय सडकका खाल्डाखुल्डी हटाएर कोलोपत्रे बनाउने भएको छ। सडक मर्मत गर्नका लागि आवश्यक वजेट विनियोजन भए भौतिक योजना तथा निर्माण मन्त्रालयले आगामी बर्षसम्म सबै सडक कालोपत्रे गर्ने भएको हो।
मन्त्रालयले कुल १४ सय किलोमिटर जिर्ण सडकमध्ये ४३ प्रतिशत सडकको मर्मत सम्भार गरिसकेको छ। मन्त्रालयले एक वर्ष लगाएर ६ सय किलोमिटर सडकको मर्मत सम्भार सकेको हो। वाँकी ८ सय किलोमिटर सडकको मर्मत सम्भार गर्न ३ अर्ब रुपैयाँ लाग्ने छ।
'आगामी वर्षसम्म देशभरका केन्द्रिय सडकका खाल्डा खुल्डी हटेर कालोपत्रे बनिसक्ने छ,' भौतिक मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले मंगलबार नागरिकसँग भने, 'अब देशका कुनै पनि राजमार्ग खराव अवस्थामा हुने छैन।' उनले बजेट उपलब्ध भए आगामी वर्ष सम्पूर्ण सडकलाई वास्तविक अवस्थामा फर्काउन सकिने जानकारी दिए।
सरकारले बनाएको राजमार्गको आयो सात वर्षसम्मको छ। तर सडकहरु भने आयुभन्दा १० वर्ष वढी प्रयोगमा आइसकेका छन्। यसले गर्दा अधिकांस सडकमा खाल्डाखुल्डी धेरै भएर कालोपत्रे उकिएको थियो।
'निर्माण गरेको आयु नाघेका कारण सडक जिर्ण बनेको थियो,' उनले भने। मन्त्रालयका अनुसार, सरकारले अहिले भएको खाल्डाखुल्डीलाई पुरेर त्यसमाथि कालोपत्रे गर्छ। कालोपत्रे गरेर 'ओभर ल्याप' गरेपछि सडक पहिलेकै अवस्थामा फर्किने छ।
'सडक पुनर्निर्माण गर्नु पर्ने अवस्था भइसकेको छ तर अहिले गरिएको ओभर ल्यापिङले भने त्यसको आयु  पाँच वर्ष थपिने छ,' सचिव सिटौलाले भने, 'यसले तत्कालको समस्यालाई केही पर सार्ने छ।'
सरकारले पाँच चरणमा सडकको मर्मत सम्हार गरेको हो। सरकारले सिद्धार्थ राजमार्ग, लुम्बिनी–तौलिहवा, तानसेन–तम्घास र महेन्द्र राजमार्गको केही अंशको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरेको हो।
सरकारले नारायणघाट–मुग्लिङ–काठमाडौं सडकको खाल्डाखुल्डी पुर्ने तयारी गरिरहेको छ। राजधानीबाट वाहिरिने र भित्रिने सार्वजनिक सवारी, खाद्यान्न तथा अन्य सामाग्रीका लोडेड ट्रक र क्रसर उद्योगबाट वालुवा गिट्टी भित्राउने लैजाने ट्रक–टि्रपरका कारण सडक खाल्डाखुल्डी परेका छन्। मन्त्रालयले यो सडक खण्डका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने तयारी गरिरहेको छ।
'आगामी बर्ष नारायणघाट–काठमाडौं सडकसँगै अन्य क्षेत्रका केन्द्रीय राजमार्गका काम गर्ने छौं,' उनले भने। सरकारले केन्द्रीय सडकको निर्माण तथा मर्मत सम्हारको सबै काम सडक विभागमार्फत गर्छ। स्थानीय सडकहरु नगरपालिका, गाउँ विकास समिति, जिल्ला विकास समिति लगायतले गर्छन्। 


No comments:

Post a Comment

thanks for comment