सहरी बजार सुस्तायो

काठमाडौं, जेठ ३१- 
राजनीतिक अस्थिरताले आर्थिक गतिविधि हुन छाडेपछि उपभोक्ताले अतिआवश्यक बाहेकका वस्तु किन्न कम गरिरहेका छन्। होटल रेस्टुरेन्टमा खान जानेदेखि नयाँ गाडी र विद्युतीय सामग्री आउने वितिकै माग गरिहाल्ने उपभोक्ताको संख्या पहिलेभन्दा पातलीन थालेको हो।
अस्थिरताले पैसा कमाउने स्रोत खुम्चिन थालेपछि उपभोक्ताको मुड नयाँ सामान किन्नेमा छैन। अलिअलि भएको पैसा पनि भोलीलाई साँच्न थालेका छन् । दैनिक कारोबारमा ३० देखि ५० प्रतिशतसम्म कमी आएपछि शहरी बजार पुरै सुस्ताएको सरोकारवालाहरु बताउँछन्।
बजारमा होटल-रेस्टुरेन्टमा खानेदेखि गाडी, विद्युतीय उपकरण किन्ने उपाभोक्ता पातलिन थालेका छन्। जसले इलोक्ट्रोनिक्स, सवारी साधन, रेष्टुरेन्ट र निर्माण सामाग्रीको बिक्री घटाएको छ। दैनिक प्रयोग हुने सागसब्जीजस्ता उपभोग्य वस्तु पनि महँगो भएका कारण कम परिमाणमा मात्र खरीद विक्री हुन्छ।
'मुलुकको राजनीतिक अवस्थाले उपभोक्तामा नयाँ वस्तु किन्ने मुडनै छैन। यसले सवारी साधनदेखि इलोक्ट्रोनिक्स सामानको बिक्री घटेको छ,' नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष एवं गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छाले नागरिकसँग भने, 'मुलुकको मुडनै राम्रो नभएकोले समग्र कारोबार शिथिल छ। यसले अर्थतन्त्रलाई चलायमान बनाउन बाधक बनाएको छ।'
अर्थतन्त्रका सुचकांक राम्रै रहेपनि यी वस्तको कारोबारमा आएको शिथिलताले दीर्घकालमा अर्थतन्त्रलाई नै समस्या पार्नेछ।
मुलुकको समग्र शोधनान्तर बचत (विदेशीने भन्दा भित्रिने पैसा) ९१ अर्ब नाघेको छ। रेमिट्यान्सको वृद्धि दर ३७ प्रतिशत छ। कुल विदेशी मुद्राको सञ्चिति अहिलेसम्मको उच्च छ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपालका अध्यक्ष तेजेन्द्रराज श्रेष्ठले घरजग्गा र सेयरको कारोबार घट्न थालेपछि सम्पूर्ण क्षेत्रको नराम्रो दिन सुरु भएको बताए। उनले उपभोक्ताको पैसा कमाउने स्रोत खुम्चिन थालेकाले बजार सुस्ताएको जानकारी दिए। उनले मुलुकको राजनीतिक अवस्था सुध्रिएर विकासको गतिविधि हुन थालेपछि मात्रै उपभोक्ताको चहल पहल सुरु हुने जानकारी दिए।
गोल्छाका अनुसार उपभोक्ताले अतिआवश्यक वाहेकका सामान किन्न छाडेका छन्। 'दैनिक उपभोग्य वस्तुको कारोबार मात्रै बढेको। यी वाहेक अन्य वस्तुको कारोबार शिथिल छ,' उनले भने। उनले चारपाँग्रे सवारी साधनको बिक्री २५ देखि ३० प्रतिशत घटेको छ भने दुई पाँग्रे सवारी साधनको बिक्री १० देखि १५ प्रतिशतले घटेको जानकारी दिए।
'घरजग्गाको कारोबार घटेपछि चारपाँग्रे सवारी साधनको बिक्री प्रत्यक्ष रुपमा घटेको छ,' गोल्छाले भने, 'बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजले थप प्रभावित भएको छ।' उनले बैंक तथा वित्तिय संस्थाले सवारी साधनलाई कर्जा दिन कडाई गरेकोले कारोबारमा अझै मन्दी छाएको छ। अत्यावश्यक अवस्थामा मात्रै अहिले उपभोक्ताले कार किनिरहेका छन्। अहिले महँगो कारको बिक्री प्राय ठप्प छ। साना र सस्ता कारको बिक्री मात्रै बढी भइरहेको छ। उनका अनुसार कामकाजीलाई आवश्यक पर्ने भएकोले दुई पाँग्रे सवारी साधनको बिक्री कम प्रभावित भएको छ। उनका अनुसार सबैभन्दा बढी इलोक्ट्रोनिक्स सामानको बिक्री अझ दयनिय छ।
'इलोक्ट्रोनिक्स सामानको बिक्री अझ दयनिय छ। फि्रज र टेलिभिजनको कारोबार बढी प्रभावित छ,' गोल्छाले भने।
श्रेष्ठका अनुसार, पहिलेजस्तो होटल रेस्टुरेन्टमा आएर खाना खाने उपभोक्ता पातलिएका छन्। डान्स तथा दोहोरी वारहरुको पनि व्यापार खस्किएको उनले जानकारी दिए। 'सवैतिरको कारोबार सेलाएकाले उपभोक्ता होटल रेस्टुरेन्टमा आएर रमाइलो गर्ने क्रम घटेको छ,' उनले भने, 'दिन दहाडै गोली चल्ने जस्ता घटनाले पनि ग्राहक आउन छाडेका छन्।' उनले रेस्टुरेन्ट तथा होटलको व्यवसाय ५० प्रतिशतले कमी आएको दावी गरे।
राजनीतिक अस्थिरता, असुरक्षाका कारणले व्यापार हुन छाडेर दुई महिनायता डेढ दर्जन रेस्टुरेन्ट वारहरु बन्द भएको उनले जानकारी दिए।
नेपाल अटो मोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष सौरभ ज्योतिले विगत दुई वर्षयता कुनै पनि क्षेत्र नफस्टाएकाले गाडीको व्यापार ३० प्रतिशतले खस्किएको जानकारी दिए। उनले उपभोक्ताको आयस्रोतमा आएको कमीले बजारलाई सुस्त बनाएको बताए।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले मुलुकको राजनीतिक अवस्थाले सबै क्षेत्रको कारोबार प्रभावित भएको बताए।
'घरजग्गाको कारोबारमा आएको मन्दीले निर्माण सामाग्रीको कारोबार दुई वर्षदेखि प्रभावित भएको थियो,' उनले भने, 'मुलुकको राजनीतिक अस्थिरताले थप यो क्षेत्र प्रभावित बनाउनेछ।' उनले नयाँ राजनीतिक घट्नाक्रमले उपभोक्तामा उत्साह घटेको बताउँदै यसले अर्थतन्त्रलाई अझ प्रभावित बनाउने जानकारी दिए।
नेपाल चीन व्यापार मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले डलर मूल्यवृद्धि र उपभोक्ताको क्रयशक्ति घटेकोले चिनियाँ सामानको कारोबारमा मन्दी आएको बताए।
'डलर बलियो हुँदा चिनियाँ सामान महँगो भएको छ तर उपभोक्ताको क्रयशक्ति घटेको छ,' उनले भने, 'यसले चिनियाँ लत्ताकपडा र इलोक्ट्रोनिक्स सामानको बिक्री प्रभावित भएको छ।'

No comments:

Post a Comment

thanks for comment