बैंक ऋण वढ्न थाल्यो

समय           निक्षेप           ऋण  (रु. अर्बमा)
असार मसान्त  ६७३             ५२१
पुस मसान्त     ७५४             ५५५
चैत मसान्त     ७९०              ५८६
अहिले           ७९३              ५८८ 

सुदर्शन सापकोटा
काठमाडौं, बैशाख २५
लामो समयदेखि लगानी गर्न नसकेका वाणिज्य बैंकहरुले पुसयता ऋण लगानीमा सुधार गरेका छन्। चालु वर्षको साउनदेखि पुसमा बैंकहरुले ३४ अर्ब रुपैयाँ ऋण लगानी गरेकोमा माघदेखि यताको अवधि (करिव चार महिना) मा ३१ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन्।

'पछिल्लो समय, जलविद्युत, सिमेन्ट र व्यवहार चलाउने (वर्किङ क्यापिटल) ऋण वढेको छ,' सानिमा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले सोमबार नागरिकसँग भने, 'अधिक तरलता (लगानीयोग्य पुँजी) का कारण ब्याज दर घटेकले पनि ऋण लगानी वढेको हो।'
स्टिल र सिमेन्टको उत्पादनको सिजन भएकाले पनि वढि लगानी यतातिर आकर्षित भएको हो। फेव्रुअरीबाट जुनसम्म सिमेन्ट र स्टिलको माग र उत्पादनको समय हो।
पुसभन्दा अगाडिको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन अनुपात वढिरहेको थियो। माघ महिनायता भने निक्षेपको तुलनामा ऋण लगानी वढिरहेको छ।
साउनयता कुल ६७ अर्ब रुपैयाँले वढेको ऋणमध्ये ३४ अर्ब पुससम्म लगानी भएको पैसा हो। वाँकी ३१ अर्ब माघदेखि लगानी भएको हो। साउनयता निक्षेप १ सय २० अर्बले वढेको छ। यसमध्ये ८१ अर्ब रुपैयाँ निक्षेप पुससम्म वढेको हो। माघयताम ३९ अर्ब रुपैयाँ मात्र वढेको छ।
'अहिले घर, गाडीलगायतमा अलिअली लगानी भइरहेको छ। तर अझै पनि वास्तविक ऋणको माग भने आएको छैन,' कमर्ज एन्ड ट्रस्टका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'राजनीतिक अवस्थामा सुधार आएसँगै मुलुकमा आर्थिक एजेन्डाले प्राथमिकता पाउँछ। जेठपछि लगानीमा सुधार आउने छ।'
वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघका अनुसार, पछिल्लो अवधिमा कुल ऋण लगानी ५ सय ८८ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप ७ सय ९३ अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तमा यो क्रमशः ५ सय २१ अर्ब र ६ सय ७३ अर्ब रुपैयाँ थियो।
बैंकहरुसँग पैसा थुप्रिन थालेपछि उनीहरुले ऋणको बजार प्रवर्द्धनसमेत गरेका थिए। महँगोमा उठाएको पैसा (निक्षेप) वढिरहेका बेला आम्दानीको प्रमुख स्रोत ऋणको माग नभएपछि बैंकहरुले तीन महिनादेखि बजार प्रवर्द्धन गरिरहेका थिए। यसको असरले पनि ऋणको वृद्धि भएको हो।
बैंकहरुले आफ्ना प्रमुख ग्राहकका अलावा ऋणको माग हुने क्षेत्रका व्यवसायीलाई भेटेरै ऋण लिइदिन प्रोत्साहित गर्न थालेका थिए। यसमा ठूलादेखि भर्खरै खुलेका बैंक ब्याज दर केही घटाएर ऋणको बजार प्रवर्द्धन गर्न जुटेका थिए । बैंकहरुले ब्याज घटाएर सामान आयातका लागि प्रतित पत्र (एलसी) खोल्ने, तत्काल सामान विक्री गरेर पैसा उठिहाल्ने व्यापारजस्ता क्षेत्रमा ऋण लगानी गरिरहेका छन्।
अधिक तरलताले बैंकहरुले ऋणको ब्याजसमेत घटाएका छन्। खासगरी घर र गाडी किन्ने ऋण औषत १३ प्रतिशतमा आइसकेको छ। केही बैंकले १० देखि १२ प्रतिशतको हाराहरीमा समेत ब्याज झारिसकेका छन्।
'अहिले अल्पकालिन ऋण गइरहेको छ,' भट्टराईले भने, 'ब्याज घटाएर लामो अवधिको ऋणका लागि प्रतिवद्धता जनाउने अवस्था अझै आइसकेको छैन।' उनका अनुसार, गत वर्ष तरलता अभाव भएर समस्या परिरहेका बेला अहिले अचानक अधिक भएको छ। यसले गर्दा भविस्यको तरलताको अवस्थाका बारेमा अहिले विश्लेषण गर्न गाह्रो छ। 'त्यही भएर  दीर्घकालिन प्रकृतिको ऋणको ब्याज घटाएर लगानी गर्ने अवस्था छैन,' उनले भने। 
राजनीतिक अस्थिरताले निजी क्षेत्रबाट ऋणको माग आएको छैन। साथै सरकारी ऋणपत्र र अन्तर बैंक सापटीमा व्याज दर  १ प्रतिशतभन्दा कम भएकाले बैंकहरुले लगानी गर्न सकिरहेका थिएनन्। अहिले ब्याज केही कम हुँदा लगानीको चहलपहल सुरु भएको हो।



No comments:

Post a Comment

thanks for comment