बन्दले बैंकहरुले आधा दिन पनि खुल्न सकेनन्


काठमाडौं, जेठ ७
आदिवासी जनजाति संघर्ष समितिले आयोजना गरेको बन्दले राजधानीका अधिकांस बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ। आधा दिनसम्म पछाडिको ढोका खुला राखेका बैंक तथा वित्तीय संस्था एक बजेपछि बन्द भए।
बैंक तथा वित्तीय संस्थालाई बन्द गरेर सहयोग गरिदिन बन्द आह्वानकर्ताले पत्रसमेत पठाएका थिए।
असुरक्षाका बाबजुत पनि राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले शाखा खोलेका थिए। सार्वजनिक विदाका दिन वाहेक कार्यालय बन्द गर्दा राष्ट्र बैंकले कारवाही गर्छ।
बैंकहरुले शाखा खुलुन्जेल पनि आधा सटर बन्द गरेका थिए। मूख्य बजार र चोकका सवै एटिएम काउन्टर बन्द गरिएको थियो।
'सम्भव भएसम्म सेवा दिन खोजेको हो,' बैंकर्स संघका उपाध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले आइतबार नागरिकसँग भने,'उपाय नभएर जोखिम धेरै हुन थालेपछि बन्द गरिएको हो।' उनले पछाडिको ढोका प्रयोग गरेरसमेत ग्राहकलाई सकेसम्म सेवा दिन खोजिएको जानकारी दिए।
बैंकरका अनुसार, निरन्तरको बन्दले बैंकहरुको असार मसान्तसम्म वित्तीय अवस्था विग्रिने छ। बैंकबाट ऋण लिएर ब्यापार व्यवसाय गर्नेलाई निरन्तरको बन्दे कारोबार नभएर बैंकको ब्याज तिर्न समस्या हुन्छ।
'ब्याजमा बाँच्ने बैंकहरुलाई व्यापार व्यवसाय गर्नेले ऋण तिर्न नसकेपछि समस्या पर्छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'यसले अर्थतन्त्रलाई नै असर पार्छ।'
आन्दलनकारीको प्रदर्शनका कारण अधिकांस बैंक तथा वित्तीय संस्थाले सन्ध्याकालिन काउन्टरसमेत बन्द राखेका छन्। 'खोल्यो भने असुरक्षा छ। वातावरण छैन,' विकास बैंक संघकी कोषाध्यक्ष तथा एच एन्ड बी डेभलपमेन्ट बैंककी प्रमुख कार्यकारी अधिृत जसुदा सैंजुले भनिन्, 'एक दिनको बन्दले बैंकहरुलाई चार दिन असर पार्छ।'
उनले असार नजिकिँदै जाँदा हुने निरन्तरको बन्दले बैंकहरुलाई समस्या पर्ने बताइन्। 'अहिले नै ऋण नउठिरहेको बेला निरन्तरको बन्दले कारोबार हुन नसक्दा वित्तीय अवस्था झनै विग्रिने छ,' उनले भनिन्, 'अहिले देखिनै त्यसले चिन्तित बनाउन थालिसकेको छ।'
बैंकरका अनुसार, बैंक तथा वित्तीय संस्था खुलुन्जेल पनि निक्षेप झिक्ने वाहेकका  अन्य बैंकिङ कारोबार हुन सकेनन्। 'खोलुन्जेल पनि कार्यालय रुङने काम मात्र भयो,' वित्तीय कम्पनी संघका अध्यक्ष राजेन्ज्रमान शाक्यले भने, 'ग्राहक नै आउन सकेनन्।'


No comments:

Post a Comment

thanks for comment