बैंकले दिन ठिक्क पारेको ऋणसमेत गएन


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ९
लगातारको बन्द र राजनीतिक अनिस्चितताले बैंकहरुले दिन ठिक्क पारेको ऋणको रकम ग्राहक लिन आएका छैनन्। व्यापार, व्यवसाय गर्नका लागि महिनौ बैंक धाएर ऋण मिलाएका व्यवसायी अन्तिम समयमा पैसा लिन नगएका हुन्।
अहिले ऋण लिएर व्यापार व्यवसाय गर्ने अवस्था छैन,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले मंगलबार नागरिकसँग भने, यस्तो बेलामा ब्याज तिर्नलाई मात्र कसले ऋण लैजान्छ र?'
बैंकहरुसँग ऋण लिन औषत १५ दिन समय लाग्छ। बैंकहरुले ग्रहकको योजना, आम्दानी, योजनाको संभावना अध्ययन गरेर मात्र ऋण दिने प्रकृया सुरु गर्छ। ऋण लिने सम्पूर्ण कागजी तथा कानुनी प्रकृया सकेपछि ग्राहकहरु पैसा लिन नआएका हुन्।
'ग्राहकसँग उठाएको निक्षेपमा हरेक दिन ब्याज तिरिरहनु परेको छ। तर प्रकृया सकिसकेको ऋण लिन ग्राहक नआउँदा बैंकहरुलाई दोहोरो व्ययभार परेको छ,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने। उनले बन्द हड्ताल यसैगरी लम्बिए बैंकहरुको चालु वर्षकै वासलात (व्यालेन्ससिट) प्रभावित हुने बताए।
आर्थिक वर्ष समाप्त हुन डेढ महिना मात्र बाँकी छ। अहिले बैंकबाट ऋण लिए ग्राहकले आगामी असार मसान्तसम्म पहिलो किस्ता तिर्नु पर्छ। बन्दसँगै राजनीतिक अस्थिरताले व्यापार, व्यवसाय गर्ने वातावरण छैन। 'यस्तो बेलामा ऋण लिएर कसले अनावश्यक ब्याजको भार खेप्न चाहन्छ?,' महर्जनले भने, 'बैंकहरुको चालु वर्षको वासलातमा यसले ठूलै प्रभाव पार्छ।'
दिन ठिक्क पारेको ऋणसमेत नजाने तर निक्षेप निरन्तर वढिरहेकाले बैंकहरुले लागत कम गर्न ब्याजसमेत घटाउन थालिसकेका छन्। व्याज खर्च वढेका कारण नै बैंकहरुलेे एक वर्र्षे मुद्दति निक्षेपको ब्याज ४ देखि १० प्रतिशतसम्म झारिसकेका छन्। यसअघि ब्याज १२ प्रतिशतसम्म थियो।
बैंकहरुसँग खासगरी उत्पादनमूलक र सेवा क्षेत्रमा लिन लागेका ऋण व्यवसायीहरुले नलगेका हुन्। उत्पादनमूलकतर्फ सञ्चालनमा रहेका सीमेन्ट तथा स्टिल उद्योग, अन्य उत्पादनमूलक उद्योगमा जान लागेको ऋण रोकिएको हो। बैंकहरुले उत्पादनमूलक क्षेत्रमा कुल ऋणको ३५ देखि ५० प्रतिशतसम्म लगानी गर्छन्।
सेवा क्षेत्रतर्फ होटल, यातायात, स्कुल–कलेज, हस्पिटलको ऋण पनि व्यवसायीले लगेका छैनन्। साना तथा मझौला (एसएमइ) तर्फको ऋणसमेत ग्राहकले लान छाडेका छन्। सेवा क्षेत्रमा पनि बैंकको लगानी हिस्सा ठूलो छ।
'केही समय अगाडि जलविद्युत् र औद्योगिक  क्षेत्रका लागि दिन ठिक्क पारेको ऋण अड्किएको छ,' ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने, 'यसले बैंकको लागत वढाएको छ। लागत घटाउनलाई ग्राहकलाई दिने ब्याज घटाउन थालेका छौं।'
बैंकर्स संघका अनुसार, सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकले माघयता (चार महिनामा) ३६ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन्। दुई सातायता भने  ऋण जम्मा २ अर्ब रुपैयाँले मात्र वढेको छ।  ग्राहकले पैसा लान छाडेकाले चार महिनायता वढिरहेको ऋणको अनुपात दुई सातायता घटेको हो।
'केही समययता ऋण माग्न नयाँ योजना लिएर कोही पनि आएका छैनन्,' महर्जनले भने, 'पुरानै योजना अगाडि वढाउन ऋणको माग भएको हो। तर बन्दका कारण अहिले त्यो पनि रोकिएको छ।' 

No comments:

Post a Comment

thanks for comment