घरजग्गा ऋणले बैंकको नाफा घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ४ - 
घरजग्गा कारोबारमा परेको मन्दीको असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ। घरजग्गामा गएको ऋण असुली गर्न नसकेको र नाफाबाट नोक्सानी व्यवस्थामा उल्टै रकम छुट्टाउनुपर्ने भएपछि अधिकांश वाणिज्य बैंकको नाफा गत वर्षको तुलनामा घटेको हो।
बैंकहरुले अहिले नाफा घटेको वासलात(साउनदेखि चैतसम्म) सार्वजनिक गरिरहेका छन्। अझै केही वाणिज्य बैंकहरुले वासलात सार्वजनिक नगरेकाले कति प्रतिशतले नाफा कम भयो यकिन हुन सकेको छैन।
बैंकका वासालातअनुसार नबिल, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड, ग्रान्ड बैंक नेपाल, नेपाल एसबिआइलगायत केहीको मात्र नाफा बढेको छ भने अधिकांशको घटेको छ।
'घरजग्गा कारोबार सुस्ताउँदा बैंकहरुको ऋण प्रभावित भएर नाफामा असर परेको हो,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनील शाहले सोमबार नागरिकसँग भने, 'यसले अझै केही समय बैंकहरुलाई गाँज्ने छ।'

बैंकहरुले ऋण नउठेपछि अवधिअनुसार नाफाबाट नोक्सानी व्यवस्थामा रकम छुट्याउनुपर्छ। यही व्यवस्थाअनुसार घरजग्गाको ऋण नउठेपछि चालु वर्षको चैतसम्म बैंकहरुले ठूलो रकम नोक्सानी व्यवस्थामा रकम छुट्टाउनुपरेको छ।
कर्जा लिएको व्यक्तिले तीन महिनासम्म नतिरे कर्जाको २५ प्रतिशत, ६ महिनासम्म नतिरे ५० र एक वर्षमा पनि नतिरे सबै कर्जा बराबरको रकम नोक्सानी व्यवस्थाअन्तर्गत छुट्टाउनुपर्छ। ऋण नउठेर यसरी नोक्सनी व्यवस्था गर्नुपरेपछि नाफा घटेको हो।
बजारमा आफूलाई राम्रो बैंकका रुपमा स्थापित गरेका बैंक अफ काठमाण्डू (बिओके), एनआइसी, लक्ष्मी, नेपाल इन्भेस्टमेन्ट, लुम्बिनीलगायत बैंकको समेत नाफा घटेको छ। किस्ट बैंक भने उल्टै घाटामा गएको छ।
गत वर्ष चैतमा १३ करोड रुपैयाँ नाफामा रहेको किस्ट बैंक यसपटक १५ करोड ३७ लाख रुपैयाँ घाटामा गएको छ। वैशाखमा १८ करोड ६० लाख रुपैयाँ ऋण उठाएकाले वास्तविकतामा बैंक ३ करोडभन्दा बढीले नाफामा रहेको वासलातमा टिप्पणी गरेको छ। बैंकले स्वागत इन्टरटेनमेन्टलाई दिएको ऋण उठाएको हो।
राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार पुसदेखि चैतसम्म भुक्तान हुनुपर्ने ऋण वैशाखमा उठे चैतसम्मको वासलातमा देखाउन पाइँदैन। त्यसलाई असारको वासलातमा देखाउनुपर्छ।
'प्राविधिक रुपमा घाटा भएको हो। चालु वर्षको वासलातमा हामीले नाफा निकाल्छौं। ऋण उठिसकेको छ,' बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीले भने। उनले ऋण नउठेका सम्पतिको लिलाम बिक्री सुरु गरिसकेको र खरिदका लागि चासो आएको जानकारी दिए।
'दुई वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार लामो समयसम्म यही अवस्थामा रहँदैन बजार बढ्छ भन्ने विश्लेषण बैंकहरुले गरेका थिए,' एक बैंकरले भने, 'यसैको आधारमा बैंकहरुले ब्याज भुक्तानी प्रयोजनका लागि अन्य शीर्षकमा ऋण प्रवाह गरे। तर, विश्लेषण जस्तो घरजग्गा कारोबारमा सुधार नआएपछि बैंकहरुको ऋण थप संकटमा परेर नाफा प्रभावित बन्यो।
घरजग्गा ऋणसँगै महँगो ब्याज तिरेर सर्वसाधारणबाट उठाएको रकम लगानी गर्न नसकेकाले समेत बैंकको नाफामा असर पारेको हो। यो वर्ष बैंकहरुले लगानी बढाउन नसक्दा ब्याज आम्दानी कम भएको तथा निक्षेप बढेसँगै ब्याज खर्च वृद्धि भएको छ।
'यसपालि बैंकहरुको नाफा घट्नुमा घरजग्गा ऋण मात्र कारण होइन,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले आइतबार नागरिकसँग भने, 'सरकारी ऋणपत्रको ब्याज १ प्रतिशतभन्दा कम हुनु र अन्तर बैंक सापटी बन्द भएकाले आम्दानी घटेको हो।'
जोशीका अनुसार उठाएको निक्षेपमध्ये उपभोक्तालाई २० प्रतिशत रकम ऋण लगानी गर्न पाइँदैन। त्यो पैसा अन्तर बैंक सापटी र सरकारी ऋणपत्रमा लगानी गर्नुपर्छ। यसापालि त्यसको ब्याज एकदमै कम भएकाले आम्दानी घटेको जोशीले जानकारी दिए।
'अल्पकालीन ऋणको ब्याज घटेर निक्षेपको ब्याजको हाराहारीमा आएकाले आम्दानीमा असर परेको छ,' उनले भने, 'यसपालिको अवस्था अपेक्षित नै हो।' उनले यो वर्ष बैंकहरुले लगानी गरेको ऋणको अनुपातमा ब्याज आम्दानी कम भएको जानकारी दिए।
बाह्य क्षेत्रमा ऋणको माग नभइरहेका बेला सरकारी ऋणपत्रको ब्याज एक प्रतिशतभन्दा कम हुनु र अधिक तरलताले अन्तर बैंक सापटी ठप्प भएकाले बैंकहरुको आम्दानीको स्रोत घटेको छ।

No comments:

Post a Comment

thanks for comment