हुलाकी राजमार्गको ठेक्का लाग्यो

पहिलो चरणमा ६ सय किलोमिटर निर्माण गरिने 

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २७
६ वर्षअघि नै निर्माण थालिने भनिएको पूर्व–पश्चिम हुलाकी राजमार्गको काम सुरु भएको छ। १५ सयमध्ये ६ सय किलोमिटर निर्माण गर्नलाई ठेक्का दिइ काम सुरु गरिएको हो।
दुई चरणमा निर्माण गर्न लागिएको राजमार्गको पहिलो चरणमा ६ सय किलोमिटर निर्माण हुने छ। दोस्रो चरणमा बाँकी ९ सय किलोमिटर निर्माण गरिने छ।
'पहिलो चरणको सडक निर्माणका लागि ६ ठाउँमा ठेक्का लागिसकेको छ,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौंलाले नागरिकसँग भने, 'एउटा ठेक्काको काम ३५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ।'  ३५ प्रतिशत काम कैलाली जिल्लामा सम्पन्न भइसकेको हो।

भारत सरकाले अनुदानमा बनाइदिन लागेको राजमार्गको काम ६ वर्ष अगाडि सुरु भइसक्नु पर्ने हो। मुआब्जा तथा अन्य प्राविधिक कारणले निर्माण अगाडि वढ्न सकेको थिएन। भारतले सुरुमा तीन चरणमा सडक निर्माण गर्ने तयारी गरेको थियो। भौगोलिक कारणले दुई चरणमा नै सकिने भएपछि अहिले धमाधम कास थालिएको हो। 
उनले भारतीय ठेकेदारहरुले बाँकी पाँच ठाउँमा पनि धमाधम निर्माण सामग्री झार्न थालिसकेको जानकारी दिए। ठेक्का लिएको सडक निर्माण गर्न ठेकेदारहरुले २ अर्ब रुपैयाँसमेत पाइसकेका छन्।
पहिले खवर तथा चिठीपत्र आदन–प्रदन गर्ने सडकलाई हुलाकी मार्ग भनिन्थो। त्यही सडकलाई अहिले व्यवस्थित गर्न लागिएको हो। हुलाकी सडकका अधिकांस भाग एक लेनको हुने छ। हुलाकी मार्ग प्रयोग गरेर त्यति धेरै सवारी साधन नचल्ने भएकाले चार मिटर चौडासम्म कालोपत्रे गरिने छ। आवश्यक भएका केही ठाउँमा भने दुई लेन नै निर्माण गरिने छ।
सचिव सिटौलाका अनुसार, सम्पूर्ण सडक निर्माण गर्दा लाग्ने सवै पैसा भारत सरकारले दिने छ। पहिलो चरणको सडक निर्माण गर्न ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। दश वर्षे योजना अनुसार सडक खन्न थालिएको हो। पहिलो चरणको सक्न पाँच वर्ष लाग्ने छ।
पहिलो चरणको काम सकिन लागेपछि दोस्रो चरणको निर्माणका लागि ठेक्का दिने काम गरिने छ। सडकको अधिकांस भाग निर्माण गर्न प्रति किलोमिटर १ करोड २० लाखको हाराहारीमा लाग्ने छ। तराईमा पर्ने सडक भएकाले डुवान समस्याका कारण उचाइ बढाउनु पर्ने हुँदा केही भागको निर्माण लागत वढ्ने छ। तराईका केही भागमा २ मिटरसम्म सडक उठाउनु पर्ने छ।
सडक निर्माणमा नेपालको पनि पैसा खर्च हुने छ। निर्माण  पक्ष वाहेकका सम्पूर्ण खर्च नेपाल सरकारले गर्नु पर्ने छ। नेपालको भागमा जग्गा मुआब्जा, खानेपानीका पाइप, विजुली तथा टेलिफोन सुविधा र सडकमा पर्ने पुलको निर्माण गर्नु पर्ने छ। यसका लागि सरकारले चालु वर्षको बजेटमा ४ अर्ब ९८ करोड रुपैयाँ छुट्याएको छ।
पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्मको तराई—मधेसका सम्पूर्ण सडकहरुलाई हुलाकी राजमार्गले समेट्ने छ। सरकाले पनि यो सडकलाई 'समृद्धिको वाहक' भन्दै उच्च महत्व दिएको छ। पहिलो चरणको राजमार्ग निर्माणका क्रममा १९ वटा सडक समेटिने छन्। यसमध्ये १६ वटा तराईका र तीन वटा उत्तर–दक्षिण जोडिने सडक पर्छन्। दुवैतर्फका सडकले भारत र चीनको सीमा छुने छन्।
पहिलो चरणको सडकमा ८८ वटा पुल निर्माण गर्नु पर्छ। यसमा साना ठूला दुवै पर्छन्। ८८ मध्ये ५५ वटा निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका पुल छन्। बाँकी ३३ वटा पुल निर्माण गर्नु पर्ने छ।




No comments:

Post a Comment

thanks for comment