विपन्न परिवारको ब्याज घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १३
वास्तविक गरिवमा लगानी गर्ने उद्देश्य भएका लघुवित्त संस्थाहरुले ऋणको ब्याज घटाएका छन्। वार्षिक २५ प्रतिशतका दरले ऋण काड्दै आएका गरिवले अब १५ प्रतिशतमा नै ऋण प्रयोग गर्न पाउँछन्।
बैंक तथा वित्तीय संस्थाले सस्तोमा पैसा उपलब्ध  गराउन थालेपछि लघुवित्त संस्थाले गरिवलाई दिने ऋणको ब्याज घटाएका हुन्।  लघुवित्त संस्थाहरुले ब्याज घटाउँदा साढे १६ लाख विपन्न परिवार  प्रत्यक्ष लाभांवित भएका छन्। लघुवित्त संस्थाले अहिलेसम्म विपन्न परिवारमा १५ अर्ब रुपैयाँ लगानी गरिसकेका छन्।

कम पुँजीमा नै सञ्चालन गर्न सकिने व्यवसाय बाख्रा, सुँगुर, गाई पालन तथा कृषि उब्जनीलगायतमा लघुवित्त कम्पनीले विनाधितो एक परिवार बराबर अधिकतम ९० हजारसम्म ऋण लगानी गर्छन्।

'बैंक, वित्तीय संस्थाले सस्तोमा ऋण दिन थालेकाले ब्याज घटाउन थालेका हौं,' नेपाल लघुवित्त संघका अध्यक्ष तथा पश्चिमाञ्चल ग्रामिण विकास बैंकका प्रमुख कार्यकारी अधिकृत धर्मराज पाण्डेले नागरिकसँग भने, 'बैंकहरुले क्रमिक रुपमा ब्याज घटाइरहेका छन्।' डेढ वर्षअघि लघुवित्त संस्थाले वर्ष दिनमा नै तीन पटकसम्म ब्याज वढाएका थिए।

साढे नौं प्रतिशतसम्ममा लघुवित्त कम्पनीहरुलाई ऋण उपलब्ध गारउँदै आएका बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएर १४ प्रतिशत पुर्‍याएपछि गरिवले लिने ऋणको दर पनि वढेको थियो। बैंक तथा वित्तीय संस्थाले एक वर्षमा नि प्रतिशतसम्म व्याज वढाएर क्रमशः ११, र १३ हुँदै १४ प्रतिशत पुर्‍याएका थिए।

'जुन गतिमा वढेको थियो त्यो अनुपातमा नघटे पनि क्रमिक रुपमा व्याज तल आउन थालिसकेको छ,' संघका उपाध्यक्ष तथा लघुवित्त विकास बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले भने, 'बैंकहरुले अझै घटाए भने गरिवले पाउने दर थप घट्ने छ।'

लगानीका अन्य क्षेत्रमा माग नआएकाले बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा पैसा वढाउन थालेको प्रमुख कार्यकारीहरु बताउँछन्। …बैंकहरुसँग पैसा वढी (पर्याप्त तरलता) भएकाले पनि सस्तोमै पैसा आउन थालेको छ,' पाण्डेले भने, 'विस्तारै लघुवित्तमा लगानी पनि वढाइरहेका छन्।' नेपाल विपन्न वर्गमा ऋण लगानी गर्ने २२ वटा लघुवित्त विकास बैंक छन्। यि संस्थाले वाणिज्य बैंक तथा वित्तीय संस्थासँग पैसा लिएर विपन्न परिवारलाई ऋण दिन्छन्।

नियामक निकाय राष्ट्र बैंकले विपन्न वर्गमा निस्चित प्रतिशत ऋण लगानी  गर्नै पर्ने  वाध्यात्मक व्यवस्था गरेकाले बैंक तथा वित्तीय संस्थाले २२ वटा संस्थामार्फत गरिवलाई ऋण दिन्छन्। वाध्यात्मक रुपमा लघुवित्तमा ऋण लगानी गरेका बैंकहरुले अहिले अन्यत्र लगानी क्षेत्र नहुँदा विपन्नमा पैसा वढाउन थालेका हुन्।

'पहिले अनेक वाहना बनाएर पैसा दिन नखोज्ने बैंकहरुले अहिले तुरुन्तै पैसा दिन तयार छन्,' एक लघुवित्त सञ्चालकले भने, 'ब्याज पनि घटेकेा छ। गरिवले पनि सस्तोमा पाउन थालेका छन्।' पछिल्लो अवधिमा लघुवित्त क्षेत्रमा काम गर्ने संस्था वढेकाले बैंकहरुलाई लगानी वढाउन सजिलो  भएको उनले जानकारी दिए।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विपन्न वर्गमा वाणिज्य बैंकले कुल कर्जाको ३ प्रतिशत ऋण लगानी गर्नु पर्छ। विकास बैंकले २ र वित्तीय कम्पनीले डेढ प्रतिशत विपन्न वर्गका लागि ऋण लगानी गर्नु पर्छ। तोकिएको ऋण लगानी नभएर महँगो जरिवाना तिर्नु पर्ने हुन्छ।


No comments:

Post a Comment

thanks for comment