घर तथा अपार्टमेन्ट अब १० प्रतिशत ब्याजमै


सुदर्शन  सापकोटा
काठमाडौं, बैशाख २०
पहिलो पटक घर किन्न लागेका उपभोक्ताले १० प्रतिशत ब्याजमा नै बैंक ऋण पाउने भएका छन्। व्यवसायीसँगको सहकार्यमा वाणिज्य बैंकहरुले घर तथा अपार्टमेन्टको ब्याज १० प्रतिशतमा झार्ने भएका हुन्। नयाँ दर कायम भएसँगै उपभोक्तालाई प्रचलितभन्दा चार प्रतिशत विन्दुले व्याज सस्तो पर्ने छ।
विगतमा महँगो व्याजका कारण घर किन्न हच्किएका ग्राहकलाई नयाँ ब्याज दरले आकर्षित गर्ने छ। घरजग्गा व्यसायीहरुले १० प्रतिशतभन्दा माथि पर्ने व्याज आफूले व्यहोर्ने भएपछि बैंकहरुले ब्याज घटाउने तयारी गरेका हुन्।
'पहिलोचोटी घर र अपार्टमेन्ट किन्ने ग्राहकले अबदेखि १० प्रतिशत ब्याजमा नै ऋण पाउने गरी सहमति भएको छ,' नेपाल जग्गा तथा आवास विकास संघका एक सदस्यले बुधबार नागरिकसँग भने, '१० प्रतिशतभन्दा माथि लाग्ने ब्याज हामी आफै व्यहोर्ने छौं।' उनले बैंकरहरुसँग एक–दुई दिनमा हुन लागेको औपचारिक छलफलपछि नयाँ व्याज दर कार्यान्वयनमा आउने जानकारी दिए।
घर तथा अपार्टमेन्ट निर्माण गरी विक्री गर्ने कम्पनीहरुको उत्पादनमा मात्र ग्राहकले यो ब्याज दर सुविधा पाउने छन्। अहिले घरजग्गा तथा अपार्टमेन्ट खरीदमा बैंकहरुले औषत १४ प्रतिशत ब्याज लिइरहेका छन्। नयाँ ब्याज दर लागू भएसँगै ग्राहकले घर तथा अपार्टमेन्ट खरीद गर्न बैंकबाट २० वर्षका लागि २० लाख रुपैयाँ ऋण लिए मासिक १९ हजार रुपैयाँ किस्ता तिरे पुग्छ।
'ब्यवसायीहरुले १० प्रतिशतभन्दा माथिको ब्याज सहुलियत दिँदा बैंकहरुलाई घटाउन गाह्रो छैन,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बुधबार नागरिकसँग भने।
अहिले उपत्यकामा ६ हजार युनिट अपार्टमेन्ट बनिरहेका छन्। अपार्टमेन्टको तुलनामा घरको संख्या न्युन छ। अपार्टमेन्ट बनाउन ५८ कम्पनीले स्वीकृति लिएका छन्। 
'लामो समयदेखि कारोबार नभएको घरजग्गा व्यवासायलाई गतिशिल बनाउन ब्याज दर घटाउनु परेको हो,' जग्गा व्यवसायी संघका ती सदस्यले भने, 'ब्याज दर तल आएसँगै घर तथा अपार्टमेन्टको कारोबार बढ्ने छ।'
गत आइतवारको छलफलमा बैंकरले व्यवसायीलाई १० प्रतिशतभन्दा माथिको ब्याज आफूले व्यहोर्न प्रस्ताव गरेका थिए। त्यसपछि हरेक दिनजसो भएको अनौपचारिक भेटघाटमा व्यवसायीहरुले बैंकरको प्रस्तावलाई स्वीकार गरेका हुन्।
केही वर्षअघि गाडीको बजार खस्किँदा व्यसायीले निश्चित प्रतिशत व्याज आफूले व्यहोरेर बैंकबाट 'फाइनान्सिङ' गराएका थिए। यही 'मोडल' अनुसार घर तथा अपार्टमेन्ट किन्ने ग्राहकलाई व्याज सहुलियत दिन लागिएको हो।
घरजग्गा व्यवसायमा आएको मन्दीले व्यवसायीसँगै बैंक तथा वित्तीय संस्था पनि समस्यामा छन्। घरजग्गाको ऋण नउठेर बैंकहरुको नाफा दिनदिनै घट्दो छ। र, खराव ऋण वढेर नोक्सानी व्यवस्थाको रकम वढ्दो अवस्थामा छ।
व्यवसायीहरुले मध्यम वर्गिय परिवारलाई लक्षित गरेर पहिलो पटक घर तथा अपार्टमेन्ट खरीद गर्नेलाई ब्याज सहुलियत दिने नीति लिएका हुन्। 
व्यवसायीले घरजग्गा व्यवसाय सुधारका लागि बजार मूल्यको ६० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्थालाई परिमार्जन गरी ८० प्रतिशत पुर्‍याउनसमेत राष्ट्र बैंकसँग पहल गर्ने भएका छन्। राष्ट्र बैंकले ८० प्रतिशतलाई घटाएर ६० प्रतिशत बनाएको थियो। 'ब्याज दर घटेसँगै मूल्यांकन वढाउँदा घर तथा अपार्टमेन्टको कारोबारमा थप सुधार आउने छ,' ती सदस्यले भने।

No comments:

Post a Comment

thanks for comment