ऋण उठाउन अहिलेबाटै कस्सिए बैंकर



सुदर्शन सापकोटा
काठमाडौं, जेठ २५
'ऋण उठाउनलाई अहिलेदेखि स्टाफ खटाइरहेको छु,' चालु वर्ष सकिने दिन नजिकिँदै गर्दा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'अहिलेदेखि नखटाए व्यालेन्सिट (वासलात) राम्रो बनाउन गाह्रो छ।'
राजनीतिक अन्यौलसँगै घरजग्गा तथा औद्योगिक ऋण समस्यामा परेपछि ग्राहकलाई असार (चालु वर्षको चौथो किस्ता) को पैसा समयमा नै तिर्न दवाव दिन शाहजस्तै अधिकांस बैंकर अहिलेदेखि नै दौडधुप गर्न थालेका हुन्।
आर्थिक गतिविधि नहुँदा उद्योग क्षेत्रमा गएको ऋणले समयमा किस्ता तिर्न सकेको छैन। राष्ट्र बैंकले ऋणको सीमा तोेकेदेखि घरजग्गा कारोबार नभएर त्यहाँ लगानी भएको पैसा पनि उठेको छैन। यही गत डेढ वर्षदेखि बैंकहरुको खराव ऋण वढेर नाफा घटिरहेको छ।

'अहिलेदेखि दौडधुप नगरी असारमा पैसा ल्याउन गाह्रो छ,' किस्ट बैंकका नायव महाप्रबन्धक बिएन घर्तिले बिहीबार नागरिकसँग भने, 'अहिलेदेखि नै ऋण विभागका कर्मचारीहरु पैसा उठाउन व्यस्त भएका छन्।' उनले पहिलेजस्तो सामान्य …फलोअप' ले पैसा आउने अवस्था नभएकाले बैंकहरुले दौडधुप धेरै गर्नु परेको जानकारी दिए।
घरजग्गा र औद्योगिक ऋणका कारण बैंकहरुको चैतको नाफा १६ प्रतिशतले घटिसकेको छ। ऋण नउठेपछि नोक्सानी व्यवस्थामा छुट्याउनु पर्ने रकम ६४ प्रतिशतले वढेर ६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म ऋण नउठे बैंकहरुको नोक्सानी व्यवस्था थप बढेर नाफा उच्च अंकले घट्ने अवस्था छ। यही कारण पनि बैंकहरु गम्भिर भएर अहिलेबाटै ऋण उठाउन लागेका हुन्।
'चालु वर्ष सबै बैंकलाई गाह्रो छ। घरजग्गा अहिलेकै अवस्थामा भएर अन्य क्षेत्र फस्टाएको भए पनि राम्रो गर्न सकिन्थ्यो,' शाहले भने, 'असार मसान्त टरे पनि राम्रो हुने अवस्था छैन। अर्को वर्ष पनि बैंकिङ गर्न गाह्रो छ।' उनले ऋणको ताकेता गर्न आफै पनि फोनमा व्यस्त हुने गरेको जानकारी दिए।
घरजग्गामा बैंकहरुको ८० अर्ब रुपैयाँ लगानी छ। औद्योगिक क्षेत्रमा कुल ऋणको ५० प्रतिशतसम्म लगानी भएको छ। राजनीतिक अस्थिरता, मजदुर समस्या, लोडसेडिङजस्ता कारणले व्यवसायिक वातावरण विग्रिएर औद्योगिक क्षेत्रमा गएका ऋण पनि समस्यामा छन्। यसले बैंकहरुलाई यो वर्ष वासलात ठिकठाक बनाउन समस्या छ।
'ऋणी आफै पनि समस्यामा भएकाले अन्तिम बेलामा पैसा उठ्दैन,' एक बैंकरले भने, 'अहिलेबाट पैसाका बारेमा कुराकानी गर्‍यो भने उसलाई दबाब पर्छ। अलिकति भएपनि ऋण भुक्तानी गर्न आउँछ।' ती बैंकरका अनुसार, घरजग्गा ऋणको नोक्सानी व्यवस्थाका बारेमा राष्ट्र बैंकले केही समयका लागि लचिलो नीति नलिइदिने हो भने यस बर्ष बैंकिङ संकट आउने छ।
…तत्काल नगद प्रवाह नभएर घरजग्गा ऋण नउठेको हो। डुवेको होइन,' ती बैंकरले भने, 'घरजग्गाको मूल्य नहराएकाले अहिलेलाई नोक्सानी व्यवस्थामा पुनरावलोकन गरिदिएर बैंकिङ क्षेत्रप्रतिको विश्वास कायम राखिदिन सकिन्छ।' उनले बैंकहरु घाटामा गए सर्वसाधारणको विश्वासमा कमी आएर अर्थतन्त्रलाई नै अप्ठेरोमा पर्ने दावी गरे।
राष्ट्र बैंकको अहिलेको व्यवस्था अनुसार, बैंकहरुले दिएको ऋणको ब्याज र किस्ता तीन महिनामा नउठे कुल ऋणको २५ प्रतिशत नोक्सानी व्यवस्थामा छुट्याउनु पर्छ। ६ महिना नाघे ५० प्रतिशत र एक वर्षमा पनि नउठे सवै ऋणको नोक्सानी व्यवस्था गर्नु पर्छ।





No comments:

Post a Comment

thanks for comment