ग्लोबल र आइएमइसँग लर्ड वुद्ध पनि गाभिने


सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन
काठमाडौं, बैंशाख २१
आपसमा गाभिन राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेका ग्लोबल बैंक र आइएमइ फाइनान्सियल इन्स्टिच्युसनसँग लर्ड वुद्ध फाइनान्ससमेत मिसिने भएको छ। आपसमा गाभिनका लागि तीन लर्ड वुद्धले ग्लोबल र आइएमइसँग बिहीबार संयुक्त सम्झौता गरेको छ ।
'हामीसँग लर्ड वुद्ध पनि मिसिएको छ,' मर्जर समितिका संयोजक सन्दिप अग्रवालले नागरिकसँग भने, 'राष्ट्र बैंकमा स्वीकृतिका लागि आवेदन आजै (विहीबार) दिइसकेका छौं। असारभित्र मर्जर गर्ने तयारी छ।'
वाणिज्य बैंकसँग दुई फाइनान्स कम्पनी गाभिन लागेको यो पहिलो हो। यसअघि तीन फाइनान्स कम्पनीले गाभिनका लागि सैद्धान्तिक स्वीकृति पाएका थिए।
बैंक र फाइनान्स मर्जरपछि चुक्ता पुँजी २ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ। अहिले ग्लोबलको चुक्ता पुजी १ अर्ब ६० करोड, आइएमइको ३६ करोड र लर्ड वुद्धको १८ करोड रुपैयाँ छ।
मर्जरका लागि ग्लोबल र आइएमइको सेयर मूल्य एक सय रुपैयाँ नै मानिए पनि लर्ड वुद्धको भने ७० रुपैयाँ मूल्यांकन गरिने छ। मर्जरपछिको नयाँ सञ्चालक समितिमा ग्लोबल बैंकमा सञ्चालक रहेका लर्ड वुद्धको दुई जना संस्थापक सेयरधनीले निरन्तरता पाउने छन्। लर्ड वुद्धका संस्थापक सेयरधनी सुरज श्रेष्ठ र पुस्पमान  श्रेष्ठ ग्लोबलमा सञ्चालक छन्।
लर्ड वुद्धले पशुपति डेभलपमेन्ट बैंकसँग मर्जर गर्नका लागि सम्झौता गरिसकेको थियो। तर बीचमा दुई कम्पनीबीच कुरा नमिलेपछि लर्ड वुद्ध ग्लोबलसँग आएको हो। 'दुबै कम्पनीका संस्थापकहरु लगभग एउटै भएकाले लर्ड वुद्ध ग्लोबलसँग मर्जरका लागि आएको हो,' एक सञ्चालकले भने।
लर्ड वुद्धले पशुपतिसँग मर्जरमा जानका लागि आफ्नो दायित्व तथा सम्पतिको मूल्यांकन गराइसकेको छ। लर्ड वुद्धसँग छुटेपनि पशुपति डेभलपमेन्ट उद्यम विकास बैंकसँग मर्जरमा जाँदै छ।
राष्ट्र बैंकले पनि तीन कम्पनीको मर्जरलाई अगाडि वढाउन आगामी सञ्चालक समितिको वैठकमा मर्जर प्रस्ताव लैजाने तयारी गरिरहेको छ। 'ठूलो रुपमा मर्जर हुन लागेकाले यसलाई प्राथमिकतामा राखेर आगामी सञ्चालक समितिमा प्रस्ताव लैजान्छौं,' नियमन विभाग स्रोतले भन्यो, 'चाँडै मर्जर गराएर अरुलाई पनि प्रोत्साहित गर्ने छौं।'
एउटै समूहको लगानी रहेका वित्तीय संस्थालाई मिलाएर एउटै बनाउन राष्ट्र बैंकले प्रोत्साहित गरेपछि तीन संस्था गाभिने निर्णयमा पुगेका हुन्।
बैंकको अध्यक्ष चन्द्र ढकाल हुन्। आइएमइमा हेमराज ढकाल र लर्ड वुद्धमा भरतकुमार श्रेष्ठ छन्। तीनै संस्थामा गरेर कर्मचारी संख्या ६ सयको हाराहारीमा छ। 
दुई संस्था गाभिन प्रोत्साहन गर्दै राष्ट्र बैंकले केही छुटको व्यवस्था गरिसकेको छ। एउटै समूहमा रहेको एकभन्दा बढी संस्थालाई गाभिन पनि राष्ट्र बैंकले प्रोत्साहन गर्दै आएको छ। एकल घर परिवारको सेयर एक संस्थामा १५ प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको निर्देशनमा मर्जमा जाने संस्थाले छुट पाउने छन्।

No comments:

Post a Comment

thanks for comment