अरुण फाइनान्सलाई सुधारात्मक कारवाही

काठमाडौं, बैशाख ३१ 
पुँजी पर्याप्तता अनुपात ८ प्रतिशतभन्दा कम भएपछि राष्ट्र बैंकले अरुण फाइनान्स एन्ड सेभिङ कम्पनीलाई शिघ्र सुधारात्मक कारवाही अन्तर्गत ऋण लगानी र निक्षेप संकलनमा रोक लगाएको छ। बिहीबार मात्र राष्ट्र बैंकले हिमालयन फाइनान्सलाई शिघ्र सुधारात्मक कारवाही गरेको थियो।

फाइनान्स कम्पनीहरुले लगानी गर्ने सय रुपैयाँमध्ये ११ रुपैयाँ सेयरधनीका तर्फबाट पैसा हाल्नु पर्छ। ११ रुपैयाँ सेयरधनीले हालेपछि मात्र निक्षेपकर्ताको ८९ रुपैयाँ ऋण दिनका लागि प्रयोग गर्न पाइन्छ। अरुण फाइनान्सले ऋण दिँदा संस्थापकबाट ११ रुपैयाँभन्दा कम मात्र हाल्न सक्ने भएपछि राष्ट्र बैंकले कारवाही गरेको हो।
१५ करोड रुपैयाँ चुक्ता पुँजी भएको अरुण फाइनान्सले १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीले २१ करोड ४२ लाख रुपैयाँ ऋण लगानी गरेको छ। गत पुससम्म कम्पनी ७ करोड ९२ लाख रुपैयाँ घाटामा छ। कम्पनीले केन्द्रिय कार्यालय धरानबाटै सम्पूर्ण कारोबार गर्दै आएको छ। कम्पनीसँग एटिएम, शाखा र एक्सटेन्सन काउन्टर एउटा पनि छैन।
हिमालयन फाइनान्सले व्यापारिक प्रयोजनमा दिएको ९ करोड ऋण नउठेर पुँजी पर्याप्तता अनुपात घटेपछि शिघ्र सुधारात्मक कारवाही गर्नु परेको राष्ट्र बैंकले जनाएको छ। फाइनान्सको पुँजी पर्याप्तता ८.८४ प्रतिशतमा झरेको छ। 'ऋण नउठेर नोक्सानी व्यवस्थामा रकम  हाल्नु परेकाले पुँजी पर्याप्तता अनुपात कायम गर्न सकिएन,' कम्पनीकी प्रमुख कार्यकारी अधिकृत शिशम जोशीले नागरिकसँग भनिन्, 'ऋण उठेपछि अनुपात वढ्ने छ। कारवाही मुक्त हुने छौं।'
हिमालयन फाइनान्सको १४ करोड रुपैयाँ चुक्ता पुँजी छ। पुससम्म कम्पनीले ५२ करोड ४३ लाख रुपैयाँ निक्षेप उठाएको छ। कम्पनीले ७० करोड रुपैयाँ ऋण लगानी गरेको छ। कम्पनी २४ लाख रुपैयाँ घाटामा छ।


No comments:

Post a Comment

thanks for comment