बैंकको नाफा २३ प्रतिशतले घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ७ 
करिव दुई वर्षदेखि घरजग्गा कारोबारमा देखिएको मन्दीको असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ। गत वर्षको पहिलो चौमास (साउन-असोज) का तुलनामा वाणिज्य बैंकको नाफा यस वर्ष २३ प्रतिशतले घटेको छ।
लामो समयदेखि लगातार नाफा गरिरहेका बैंकहरुले अहिले पहिलो पटक नाफा घटेको हो। बैंकहरुले हालै प्रकाशित गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो चार महिनामा ७९ करोड १२ लाख रुपैयाँ घटेको छ। गत आर्थिक वर्षको असोजसम्म ३ अर्ब ४६ करोड कमाएका बैंकले यस वर्ष २ अर्ब ६७ करोडमा झरेको छ। सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकमध्ये २२ को नाफा घटेको हो।
बैंकको नाफा घटनुमा पहिलो कारण घरजग्गामा दिएको कर्जा नउठनु हो। महँगो ब्याज तिरेर सर्वसाधारणबाट बचत संकलन गरे पनि त्यही अनुरुप लगानी गर्न नसक्नुले पनि बैंकको नाफा घटेको हो।
पाँच वर्षयता बैंकहरुको नाफा चालु बर्षको असोजमा उच्च अंकले घटेको हो। अघिल्लो वर्ष मात्रै करिव ९ प्रतिशतले घटेको थियो। त्यसअघिको वर्ष भने ४७ प्रतिशतले नाफा वढेको थियो। तीन वर्षअघिको नाफा ३ अर्ब ८० करोडसँग तुलना गर्दा चालु वर्षको नाफा करिव ३० प्रतिशतले घटेको देखिन्छ।
'आर्थिक गतिविधि नभएर कर्जाको माग घटेको तथा महँगोमा निक्षेप लिए अनुसार कर्जा लगानी गर्न नसकेकाले नाफा घटेको हो,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नागरिकसँग भने, 'केही रियलस्टेट कर्जाको व्याज उठ्नसमेत समस्या भएर बैंकहरुको आम्दानी घटेको छ।'
सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक तथा भर्खरै कारोबार थालेका मेगा तथा कमर्ज एन्ड ट्रस्टको नाफासमेत घटेको छ। निजी क्षेत्रका पुराना बैंक नेपाल इन्भेस्टमेन्टको नाफा १२ प्रतिशतले घटेर २९ करोड ४८ लाख, हिमालयनको १६ प्रतिशतले घटेर १६ करोड ४९ लाख, एनआइसीको ५५ प्रतिशतले घटेर ६ करोड २५ लाख, बैंक अफ काठमाण्डूको १८ प्रतिशतले घटेर १३ करोड ४६ लाख, लुम्बिनीको ५८ प्रतिशतले घटेर २ करोड ३० र नबिलको १ प्रतिशतले घटेर ३० करोड ४५ लाख रुपैयाँमा झरेको छ।
यद्यपी विदेशी बैंकहरुको नाफा भने वढेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, एभरेस्ट बैंक र नेपाल एसबिआइ बैंकको नाफा वढेको छ। सरकारी स्वामित्वको कृषि विकास तथा निजी क्षेत्रका डिसिबिएल, कुमारी बैंकको पनि नाफा वढेको छ। कुमारीको नाफा १ सय २५ प्रतिशतले वढेर ४ करोड २३ लाख पुगेको छ। डिसिबिएलको पनि १२ प्रतिशतले वढेर ५ करोड ५३ लाख रुपैयाँ पुगेको छ। भर्खरै आएको जनता बैंक नेपालले पनि नाफा कमाएको छ। एक आर्थिक वर्षसमेत पुरा नगरेका सिभिल बैंकले ६२ लाख र सेन्चुरी कमर्सियल बैंकले ५७ लाख रुपैयाँ नाफा गरेका छन्।
प्रतिशतका हिसावले सवैभन्दा वढी नाफा जनता र रकमका हिसावले स्ट्यान्डर्ड चार्टर्डले गरेको छ। जनताले नाफा २ सय ८५ प्रतिशतले वढाएर १ करोड ३१ लाख रुपैयाँ गरेको छ। स्ट्यान्डर्ड चार्टर्डको २५ प्रतिशतले वढेर ३३ करोड १८ लाख रुपैयाँ पुगेको छ।
नयाँ आएका चार वटा बैंक मेगा, जनता, सिभिल र सेन्चुरीलाई गणना नगर्ने हो भने अधिकांस वाणिज्य बैंकको व्याज आम्दानी घटेको छ। रियलस्टेटमा गएको कर्जाको व्याज घटेकाले बैंकहरुको नाफामा असर देखिएको हो। कतिपय बैंकको व्याज आम्दानी वढेको देखिए पनि ठूलो रकम संभावित नोक्सानी व्यवस्था (व्याज नउठेपछि सुरक्षाका लागि राख्नु पर्ने रकम) मा छुट्याउनु परेकाले पनि नाफा घटेको देखिन्छ।
रकमका आधारमा वढि नाफा गर्ने बैंक
बैंक                      असोजसम्मको नाफा (रु करोडमा)
स्ट्यान्डर्ड चार्टर्ड              ३३.१८
नबिल                             ३०.४५
नेपाल इन्भेस्टमेन्ट           २९.४८
कृषि विकास                        २८.५४
एभरेस्ट                               २४.४६
हिमालयन                           १६.४९
बैंक अफ काठमाण्डू               १३.४६
राष्ट्रिय वाणिज्य                      १०.४७
एसबिआइ                                 ९.५९
लक्ष्मी                                         ९.३
वृद्धिका हिसावले वढी नाफा गर्ने बैंक
बैंक                                  नाफा (रु करोडमा)                    वृद्धि दर (प्रतिशतमा)
जनता                                     १.३१                                             २८५
कुमारी                                    ४.२३                                            १२५
स्ट्यान्डर्ड चार्टर्ड                     ३३.१८                                             २४.९७
एभरेस्ट                                 २४.४६                                              १७.९९
डिसिबिएल                              ५.५३                                                   ११.९४
कृषि विकास                           २८.५४                                                  ११.९४
नेपाल एसबिआइ                       ९.५९                                                   १.५८

No comments:

Post a Comment

thanks for comment