अनिल ज्ञवाली भन्छन्-पुसबाट व्याज दर घट्छ

काठमाडौं मंसिर ३
नबिल बैंकमा आएको ६ महिनाको अवधिमा तपाईले गरेको परिवर्तन र उपलब्धि के छन् ?
ठूलो पुरानो र दीगो वृद्धिमा लागेको बैंकमा नयाँ बैंकजस्तो तुरुन्त केही पनि देखिइ हाल्ने खालको परिवर्तन हुँदैन । पुरानो बैंकमा आफ्नै खालको चुनौती हुन्छन् । पुरानो बैंकलाई अहिलेको आधुनिक तरिका र नविनतम हिसावले हाँक्नु पर्ने हुन्छ । नबिल बैंक एउटा प्रणालीबाट चलेको संस्था हो । यसलाई अगाडि वढाउन हामीले सुचना प्रविधिलाई महत्व दिएका छौं । कार्ड तथा इन्टरनेट बैंकिङमा धेरै गर्नु पर्ने छ । यसमा हामीले काम गर्न थालेका छौं ।
अनिल ज्ञवाली
प्रमुख कार्यकारी अधिकृत
नबिल बैंक
६ महिनाको अवधिलाई मूल्यांकन गर्दा नविलको वलियो र कमजोर पक्ष के पाउनु भयो ?
नबिल पुरानो बैंक हुनका हिसावले यसको वलियो पक्ष भनेको ग्राहक आधार र जनविश्वास नै हो । यो विश्वास आजको भोली आर्जन भएको होइन । धेरै समय लागेर आएको विश्वास हो यो । बैंकिङ क्षेत्रमा तरलताको समस्या पर्दा पनि नबिललाई त्यसले खासै असर पारेन । नबिलको कमजोर पक्षभन्दा पनि सुचना प्रविधिको क्षेत्रमा काम गर्न धेरै वाँकी छ । सुचना प्रविधिबाट तुरुन्त नतिजा आउँदैन । तर यो आवश्यक छ । बैंकिङ सेवाको गुणस्तरमा सुदृढ गर्दै लैजानु पर्छ । काम गर्ने क्रममा केही गुनासाहरु पनि आउँछन् । तर गुनासाको तत्काल शंवोधन भए ग्राहक सन्तुस्ट हुन्छ ।

पुरानो बैंक भएकाले नबिलमा धेरै अनुभवहरु छन् । बैंकको चुनौती चै के रहेछ ?
अहिलेको आर्थिक तथा राजनीतिक रुपमा अप्ठेरो अवस्था छ । यस्तो बेलामा व्यवसायलाई स्थिरता दिनु नै मूख्य चुनौती हो । यद्यपी अहिले अर्थतन्त्रमा केही सुधारका संकेत देखिएका छन् । तर पनि धेरै समस्या वाँकी भएकाले बैंकिङ क्षेत्रका लागि अहिले चुनौतीको घडी छ । दीगो वृद्धि गरेर सेयरधनीलाई प्रतिफल दिनु अर्को चुनौति हो । सहज अवस्थामा जसले पनि प्रतिफल दिन सक्छ । तर अप्ठेरो अवस्थामा पनि प्रतिफल दिनु चुनौति हो ।
एकैचोटी उच्च तहका आधा दर्जनभन्दा वढी अनुभवी कर्मचारीले नबिल छाडेका छन् । यसले अप्ठेरो परेको छैन ?
हरेक संस्था एउटा प्रणालीमा चल्नु पर्छ । प्रणालीमा संस्था चलेपछि ८/१० जना निस्किदा समस्या पर्दैन । नबिलबाट ७ जनाले छाड्नु भएको हो । तर स्वैच्छिक अवकास अन्तर्गत उहाँहरुले छाड्नु भएको हो । अवकास लिनु साधारण प्रकृया हो । स्वैच्छिक अवकास भनेको लामो अवधि काम गरेको कर्मचारीका लागि आर्थिक लाभ लिएर छाड्ने राम्रो मौका पनि हो ।
कुनै पनि संस्था वलियो हुनका लागि कर्मचारी वाहिरिने भित्रिने हुन आवश्यक पनि छ । यस्तो हुँदा संस्थाको वलियो र कमजोर पक्ष थाहा हुने हुँदा सुधार गर्न मौका पनि मिल्छ ।
बैंकको आगामी योजना के छन् ?
सेयरधनीलाई राम्रो प्रतिफल दिनु पर्छ । धेरै उत्पादन र सेवाको विस्तार गर्नु पर्छ । यस्तो बैंकको प्रमुख कार्यकारीले मात्र गर्नेभन्दा सबैको सहयोग आवश्यक पर्छ । सुचना प्रविधिमा आधारित संस्था वनाउनतिर काम गरिरहेका छौं । मोवाइल र इन्टरनेट बैंकिङमा धेरै गर्न बाँकी छ । त्यतातिर का गर्दैछौं । विगतमा गर्दै आएको कामलाई सुदृढ गर्दै उपलब्ध हुने जुनसुकै मौकालाई उपयोग गर्ने हाम्रो योजना हो । यो वर्ष जनकपुरमा वाहेक हामी शाखा विस्तार गर्दैनौं । ग्राहकको सुझाव लिएर उनीहरुको आवश्यकता अनुसार अगाडि वढ्छौं ।
बैंकहरुसँग अहिले अधिक तरलता छ । तर पनि व्याज घटाउने नाम लिँदैनन् नि ?
सरकारको वजेट समयमा आएर खर्च हुन थाल्यो । शोधनान्तर अवस्था धनात्मक हुँदै गएको छ । रेमिट्यान्सको वृद्धि राम्रो छ । यसले गर्दा अहिले बैंकिङ क्षेत्रमा अधिक तरलताको स्थिति देखिएको हो । यद्यपी अहिलेको तरलता अवस्था स्थाइ हो वा होइन भन्ने नै टुङगो लागिसकेको छैन । त्यो भएर व्याज घटाइ नहालेको हो ।
व्याज महँगो भएर कर्जा जान सकेको छैन । तर प्रतिफलका हिसावले एकदमै कम दरको टे्रजरी विलमा लगानी गरिरहनु भएको छ । अहिले त घटाउने मौका होइन र ?
विगतमा सेयर घरजग्गामा बैंकको लगानी गरेर समस्या भएको छ । त्यही भएर अहिले लगानी गर्ने ठाउँ नभएको हो । साथै तरलताको अवस्था कतिको लामो हो भन्ने थाहा छैन । भोली फेरी अभाव हुने हो कि भन्ने शंका धेरै छ । यसले गर्दा जोखिम उठाउन गाह्रो छ । व्याज घटाउनका लागि केही समय पर्खिनै पर्ने हुन्छ ।
तरलता यथेस्ट हुँदा पनि व्याज घटाउन हिच्किचाउनु भनेको बैंकरहरु जोखिम लिन डराए भनेर वुझ्दा हुन्छ ?
बैंकसँग जोखिम लिन सक्ने क्षमता नभएर डराएको होइन । तरलताको अस्थिरताले निक्षेपको व्याज घटाइ हाल्ने अवस्था छैन । निक्षेपको व्याज घटाउने अवस्था नआउन्जेल सवै किसिमका कर्जाको दर घटाइ हाल्न सकिन्न । घटाउनका लागि केही समय पर्खनै पर्छ । अहिले घटाउँदा अलि वढी नै हतार हुन्छ । अहिले घटायो फेरी तरलता अभाव भएमा वढाउनु पर्छ । यसले झन् समस्या हुन्छ ।
अहिले कर्जा लगानी हुन सकेको छैन । व्याज दर घटाइ दिए कर्जाको माग वढ्ने संभावना छ । पुरानो बैंक भएका हिसावले नबिलले व्याज घटाउन आँट गरे हुन्छ नि ?
मलाई लाग्दैन किन कर्जाको व्याज घटाउँदा लगानी गर्ने ठाउँ तयार हुन्छ भन्ने । व्याज घटाउँदा कसले कर्जा लिन आउँछ र अहिले । लगानीको वातावरण नै नभएर कर्जाको माग नभएको हो । दुई वर्षयता महँगोमा व्याज चलेको छ । २/३ महिना नघटाउँदा समस्या पर्दैन । तरलता राम्रो भएको अवस्थामा केही महिनाभित्र बजारले आफै व्याज दरलाई सुधार गर्छ ।
त्यसो भए व्याज दरलाई बजारले कहिलेसम्म सुधार गर्ला ?
कतिपय बैंकले अल्पकालिन ९० दिने कर्जाको व्याज केही न केही घटाउन थालेका छन् । तर ह्वात्तै घटाउन मिल्दैन । निक्षेपको व्याज घटाएपछि मात्र कर्जाको घटाउन सकिन्छ । अहिले हामी पर्ख र हेरको अवस्थामा छौ । पुससम्म पनि अवस्था यही रहे व्याज दर घट्छ । केही समय पर्खिनै पर्छ । तत्काल घटाउन सकिने अवस्था नै छैन । राष्ट्र बैंकले पनि बैंकहरुले व्याज घटाउन् भनेर दवावका लागि रिभस्र रिपोको माग हुँदा पनि ल्याइरहेको छैन । सँधै एक प्रतिशतको टे्रजरी विल्स वा अन्तर बैंकमा पैसा लगाएर बैंकको लागत उठ्दैन । त्यही भएर व्याज दर घटाउनुको विकल्प छैन । तर घटाउन केही समय लाग्छ ।
व्याज दर महँगो भएका कारणले पनि अहिले रियलस्टेटमा समस्या देखिएको छ । यसलाई सुधार गर्नका लागि पनि घटाउनु पर्ला नि ?
रियलस्टेटमा सुधार आउन अर्थतन्त्रमा नै परिवर्तन आउनु पर्छ । व्याज दरका कारणले मात्र रियलस्टेटलाई राहत मिल्छ भन्ने मलाई लाग्दैन । अरु वाह्यि कारण धेरै छन् ।
बैंकर र व्यवसायी मिलेर राष्ट्र बैंकसँग राहत मागिरहेका छन् । राष्ट्र बैंकसँग मागिएको मागबाट समस्या समाधान होला ?
बैंकर र जग्गा व्यवसायीले राखेको मागले दीगो समाधान दिँदैन । यो समस्या समाधानका लागि फरक ढंगबाट नै कदम चाल्नु पर्छ । घरजग्गाको मूल्य घट्नुको विकल्प छैन । बैंकहरुले रियलस्टेट क्षेत्रलाई सहयोग गर्ने ठाउँ अहिले छैन । मूल्य घटाएर नै विक्री गर्नु पर्छ ।

No comments:

Post a Comment

thanks for comment