सनराइज : बचतमा नौ प्रतिशत ब्याज

सनराइज बैंकले नौ प्रतिशत ब्याज दिनेगरी एकवर्षे मुद्दती खाता सञ्चालनमा ल्याएको छ । नेपालका वाणिज्य बैंकहरूले दिने ब्याजदरमा आफ्नो सबैेभन्दा बढी रहेको बैंकको दाबी छ ।
'नयाँ वर्ष २०६६ मुद्दती पत्र' नाम दिइएको खाता एक वैशाखदेखि सुरु गरिएको हो । पाँच लाख न्यूनतम बचतमा खोल्न सकिने खाता जेठ मसान्तसम्म सञ्चालनमा रहने जनाइएको छ । बैंकहरूमा देखिँदै आएको पैसा अभाव (तरलता संकट) सुल्झाउन खाता सञ्चालन गरेको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । '
बैंकहरूमा एक वर्षदेखि पैसा अभाव बल्झँदै आएको छ,' बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'अभावका वेला पैसा दिँदै आएका कर्मचारी सञ्चय कोष, बिमा संस्थान, नागरिक लगानी कोषलगायतले माथिल्लो तामाकोसीजस्ता ठूला परियोजनामा लगानी गर्ने घोषणा गरिसकेका छन् । त्यसैले अब सर्वसाधारणसँग घरमा रहेको पैसा बैंकिङ प्रणालीमा ल्याउन अनिवार्य भएकाले मुद्दती पत्र खाता सुरु गरेका हौँ ।'

अबको ६ महिनादेखि एक वर्षभित्र तरलता अभावले चर्को रूप लिने देखिएको र त्यो वेला अन्तरबैंक कारोबारमा आफूहरूले ठूलो हिस्सा ओगट्ने दाबी उनले गरे । खाता सुरु भएपछिका आठ कारोबार दिनमा ४० करोडबराबरको निक्षेप संकलन भइसकेको जनाइएको छ ।
बैंकले मुद्दती पत्रसँगै सेयर लगानी खाता पनि सुरु गरेको छ । आउँदो २० गतेदेखि बिक्री गर्न लागिएको सर्वसाधारण सेयरका लगानीकर्तालाई लक्षित गरी सो खाता सुरु गरेको महर्जनले बताए । '
आज (आइतबार) सम्ममा एघार सयले खाता खोलिसकेका छन् र एक सातामा १०/१२ हजारले खाता खोल्ने अपेक्षा गरेका छौँ,' उनले भने । न्यूनतम एक हजारमा खोल्न सकिने सो खातामा ६.७५ प्रतिशत ब्याज दिने जनाइएको छ ।

No comments:

Post a Comment

thanks for comment