६ वाणिज्य बैंकको खराब कर्जा बढ्यो

२६ वटा वाणिज्य बैंकमध्ये ६ वटा वाणिज्य बैंकको खराब कर्जाको मात्रामा वृद्धि भएको छ ।

खराब कर्जा उच्च भएका बैंकहरूमा ३ वटा सरकारी स्वामित्वका बैंक र अन्य निजी क्षेत्रबाट सञ्चालित बैंकहरू रहेका छन् । खराब कर्जा बढेका बैंकमध्ये नेपाल बैंक लिमिटेडको भने खराब कर्जा वृद्धि भएको छ ।

बैंकहरूको गत चैतसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खराब कर्जा उच्च रहेका बैंकहरूमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एनबी बैंक, एनसिसी बैंक र लुम्बिनी बैंक छन् ।
खराब कर्जा उच्च भएकामध्ये नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले सम्हालेको छ । बैंकको अवस्था सुधार गरेर सेयरधनीको जिम्मा दिने राष्ट्र बैंकको नीति भए पनि सोअनुसार अवस्था सुधि्रन नसकेको गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताएका छन् ।

नेपाल बैंक लिमिटेडको खराब कर्जा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११.१ प्रतिशत रहेकोमा चालू आवको तेस्रो त्रैमाससम्म १० प्रतिशतमा झरेको छ । प्रतिशतमा खराब कर्जा झरेको देखिए पनि कर्जा असुल भएर घटेको नभई कुल कर्जाको परिमाण बढेकोले घटेको हो ।
गत चैतमा यस बैंकको कुल कर्जा १८ अर्ब ५० करोड रुपैयाँमा खराब कर्जा एक अर्ब ८६ करोड ८७ लाख रहेको छ । २०६४ चैतमा कुल कर्जा १५ अर्ब ६० करोडमा एक अर्ब ५६ करोड रुपैयाँ खराब कर्जा रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले एक वर्षको अन्तरमा खराब कर्जा ६ अर्ब ६१ करोड ७१ लाखबाट पाँच अर्ब १९ करोड ३६ लाखमा झारेको छ ।

यस्तै लुम्बिनी बैंकले ८१ करोड ४८ लाख ६९ हजारबाट खराब कर्जा ५४ करोड ९ लाखमा झारेको छ । कृषि विकास बैंकको खराब कर्जा चार अर्ब ४६ करोडबाट तीन अर्ब २९ करोडमा झरेको छ । नेपाल बंगलादेशले दुई अर्ब ३९ करोड ८६ लाखको खराब कर्जा एक अर्ब ९९ करोड ३७ लाखमा झार्न सफल भएको छ ।

नेपाल बैंकले मुनाफा भने उल्लेख्य वृद्धि गरेको छ । एक वर्षमा खुद मुनाफा एक सय ५८ प्रतिशत वृद्धि भई ५८ करोड पुगेको छ । यस बैंकको ब्याज आम्दानी उच्च दरमा बढेकोले मुनाफा बढेको हो ।
चालू आवको नौ महिनामा ५४ करोड ब्याज खर्च गरी यस बैंकले एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेको छ । कर्जाको आयतन र कर्जा ब्याजदर बढाइएको कारण ब्याज आम्दानी उच्च भएको बैंकका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले बताए ।
यस बैंकले ठूला निक्षेपकर्ता लक्षित केही योजनामा थोरै ब्याजदर बढाएको छ भने कर्जामा धेरै ब्याज बढाएको छ । 'हामीले निक्षेपमा खासै ब्याज बढाएनौँ र सर्वसाधारणले लिने कर्जामा पनि ब्याज बढाएनौँ,' डा. आत्रेयले भने, 'तर उद्योगी-व्यापारीका लागि दिने कर्जामा हामीले वृद्धि गरेका छौँ ।'

अरू सरकारी बैंकको ब्याज आम्दानी पनि निजी बैकको तुलनामा उच्च देखिन्छ । सरकारी तथा अर्धसरकारी बैंकले सस्तो ब्याजमा निक्षेप संकलन गर्न सकेका कारण यस्तो अवस्था देखिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले ब्याज खर्चको तुलनामा तीन गुणा बढी आम्दानी गरेका छन् । पुराना निजी बैंकले भने ब्याज खर्चको दोब्बर र नयाँले डेढी आम्दानी गरेको देखिन्छ ।

No comments:

Post a Comment

thanks for comment