समान ब्याज दिने घोषणा गरेका हौं

सुमन न्यौपाने
जनरल म्यानेजर
सनराइज बैंक लिमिटेड



सनराइज बैंकले अहिले सबैभन्दा ठूलो सेयर निष्कासन गरेको छ, कति रकम संकलन हुने अपेक्षा छ ?
हामीले ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेका हौं । यसबाट ३७ करोड ५० लाख रुपैयाँ जम्मा अपेक्षा गरिए पनि बजारमा लगानीकर्ताको लाइन हेर्दा ८ अर्ब रुपैयाँ जतिको माग हुने देखिएको छ ।

एकै समयमा सबैभन्दा बढी ब्याजदर दिने र सेयर निष्कासन गर्ने काम सुरु गरेर बजारमा आक्रामक रुपमा प्रस्तुत हुनुको कारण ?
हामी आक्रामक रुपमा बजारमा प्रस्तुत भएका होइनौं । यो अहिलेको बजार आवश्यकता हो । जहाँसम्म सबैभन्दा बढी ब्याज दिने घोषणाको कुरा छ, हिजो सबै बैंकहरूले ठूला र संस्थागत निक्षेपकर्तालाई हामीले घोषणा गरेको ब्याज दिएका थिए । उनीहरूले ठूलालाई मात्र दिए, हामीले सबैलाई दिने घोषणा मात्र गरेका हौं । हाम्रो मान्यता बैंकले कसैलाई पनि ब्याजमा भेदभाव गर्नुहुँदैन भन्ने हो ।

त्यसो भए हिजो धेरै बैंकहरूले ब्याजदरमा भेदभाव गर्दथे ?
हो, हिजो सबै बैंकहरूले ब्याजदरमा ठूला-साना भनी भेदभाव गर्दथे । मेले हिजो जहाँ जहाँ काम गरँ त्यहाँ पनि त्यसो भयो । त्यतिबेला भन्दा बैंकहरूले मानेनन् । अहिले आफू कार्यान्वयन गर्ने स्थानमा आए पनि त्यसलाई भेदभाव नगरी सबैका लागि समान गर्न ब्याजदर बढाएका हौं ।
सनराइज बैंक नववर्ष मुद्दती निक्षेपमा ९ प्रतिशत ब्याजका अलवा अन्य सुविधा के छन् ?
यसमा बचतकर्ताले ऋण लिंदा प्रोसेसिङ चार्जमा छुट, ओभर ड्राफ्ट सुविधालगायत व्यवस्था छ ।

यो योजना कहिलेसम्म रहन्छ ?
सनराइजले नववर्ष मुद्दती निक्षेप योजना २ वैशाखदेखि सुरु गरेको हो, जुन जेठ मसान्तसम्म मात्र सञ्चालन गर्ने योजना बनाएको छ ।

अहिले बजारमा तरलता अभाव भएर पैसा संकलन गर्न आक्रामक भएको होइन ?
होइन, यतिखेर बैंकहरूमा पैसाको अभाव छैन ।

के त्यसो भए कुनै ठूलो परियोजना टार्गेट गरेर रकम संकलन थाल्नुभएको हो ?
अहिले ठूलो परियोजना भन्नेबित्तिकै जलविद्युत् भन्ने नै हो । हामीसँग अहिले त्यस्तो कुनै ठूलो परियोजनामा लगानी गर्ने योजना बनाएका छैनौं । अन्य नियमित लगानीका काम भइनैरहन्छन् ।

अहिले लगानी वातावरण नभएको अवस्थामा बजारबाट निक्षेप संकलन गर्दा बैंक घाटामा गएर टाट उल्टिँदैन ?
बैंकहरूले नाफा कमाउन नसकेकर टाट उल्टने होइन । नाफा कमाउन नसकेर टाट उल्टने भए त नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक उहिल्यै टाट उल्टिसक्थे । उनीहरू अहिले पनि घाटामै सञ्चालित छन् । बैंकहरूले भनेका बेला निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसके टाट उल्टिने हो । नाफा गर्न नसक्नु बैंकहरूको जोखिम होइन ।

त्यसो भए बैंकहरूको जोखिम के हो ?
मेरो विचारमा बैंकहरूको मुख्य जोखिम भनेको ग्राहकले जम्मा गरेको पैसा मागेका बेला फिर्ता गर्न नसक्नु हो । तर, नेपालमा अहिलेसम्म त्यसलाई हेरिएको छैन । खाली धितो कस्तो छ, त्यसलाई ऋण दिंदा उठ्छ-उठ्दैन भनेर मात्र हेर्ने गरिन्छ । ग्राहकले मागेका बेला पैसा फिर्ता गर्न सक्षम छु वा छैन भनेर पनि आफूलाई हेर्नुपर्छ ।

नेपालको बैंकिङ क्षेत्रमा विश्व आर्थिक मन्दीको असर कत्तिको परेको छ ?
अहिलेसम्म नेपाली बैंकिङ क्षेत्रले विश्व आर्थिक मन्दीको असर अनुभव गरेजस्तो मलाई लाग्दैन । हाम्रो निर्यात पहिलेदेखि नै घटेकाले त्यसमा असर परेको भन्न मिलेन । कामदार पनि सुरुमा हल्ला गरेजस्तो फर्केको पाइँदैन । पर्यटक पनि घटेको देखिंदैन भने विश्व आर्थिक मन्दीको असर कहाँ पर्‍यो भन्ने ?

सन् २०१० देखि नेपालमा विदेशी बैंकहरू आउन पाउने व्यवस्था छ । अहिलेको अवस्थामा नेपालमा विदेशी बैंकहरूले आफ्नो शाखा खोल्छन् जस्तो लाग्छ ?
मलाई नेपालको व्यापारको भोल्युम र बजार हेरेर विदेशी बैंकहरू आउलान्जस्तो लाग्दैन । नेपालको एउटा बैंक नै सञ्चालन गर्दा भन्दा भारतको दिल्लीमा एउटा शाखा खोल्दा त्यसले बढी नाफा गर्छ । त्यस्तो अवस्थामा विदेशी बैंकहरू आउँछन् जस्तो मलाई लाग्दैन ।

आए भने प्रतिस्पर्धा गर्न सकिन्छ ?
प्रतिस्पर्धा गर्न नसकिने भन्ने कुरै छैन । के अहिले बैंकहरूबीच प्रतिस्पर्धा छैन । हामी अहिलेसम्म प्रतिस्पर्धामै काम गरिरहेछौं । अहिलेसम्म प्रतिस्पर्धामा नै काम गरेकाले भविष्यमा गर्न नसक्ने भन्ने कुरै आउँदैन । तर, प्रतिस्पर्धा स्वस्थ र मूल्य-मान्यताभित्रको हुनुपर्दछ ।

No comments:

Post a Comment

thanks for comment