कवाडीमा भेटिए सन्राइज बैंकका सेयरफारम


तपाईंले सन्राइज बैंकको सेयरका लागि आवेदन भर्नुभएको छ ? सेयर पाउने आशा पनि गर्नुभएको होला । तर, तपाईंको फारम चटपटेवालाले सोली बनाउँदै होलान्, मुमफलीवालाले बदाम पोको पार्दै होलान् ।
सन्राइजले नेपालमै सबैभन्दा धेरै ३७ करोड ५० लाख रुपैयाँको सेयर निष्कासन गरेको थियो । सेयर पाउन करिब १० अर्ब रुपैयाँको आवेदन परेको छ । तर, बैंक र बिक्री-प्रबन्धक एनएमबीको चरम लापरबाहीका कारण आवेदकले भरेका फारम एक साता नबित्दै चटपटेवालाकहाँ पुगेका छन् ।

सेयर बाँडफाँडमा लापरबाहीको गुनासो बढेपछि नेपाल धितोपत्र बोर्डले सन्राइजका पालादेखि नै आवेदन फारममा फोटो टाँस्नैपर्ने बाध्यकारी नियम ल्याएको हो । तर, फोटो टाँसिएका फारम कवाडीका रूपमा फालिएपछि सेयर पाउने आशामा रहेका चार लाख आवेदकको सपनामा गम्भीर धक्का लागेको छ ।

सन्राइजको सेयर आवेदन गत आइतबार खुलेर बुधबार बन्द भएको हो । आवेदन बन्द भएको चौथो दिनमा नयाँ पत्रिकाले बानेश्वरको सडकमा चटपटेवालासँग थानका थान फारम फेला पार्‍यो । वटुवा सेयरको फारमले बनेको सोलीमा चटपटे राखेर आवेदकको फोटोको चम्चाले धमाधम खाँदै थिए ।

'मैले त कवाडीमा किनेको हुँ, यो के कागज हो, कहाँबाट आयो थाहा भएन,' चटपटे व्यापारीले भने ।

चटपटेवालाले सेयरको आवेदन फारम अनामनगरमा कवाडीवालाबाट किनेको बताए । सन्राइजको सेयरको बिक्री-प्रबन्धक एनएमबीको कार्यालय बबरमहलमा छ ।

चटपटेवालाबाट नयाँ पत्रिकाले केही फारम मात्र लिएको छ जसमा लक्ष्मी श्रेष्ठको ६००२५५ नम्बर, ईश्वर श्रेष्ठको ६००२६१ नम्बर, राजेन्द्रकुमार श्रेष्ठको ६००२५१ नम्बरलगायतका छन् । उनीहरूले क्रमशः ६० कित्ता, १२० कित्ता र ६० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

यी आवेदकले बबरमहलमा रहेको एनएमबीको केन्द्रीय कार्यालयमा फारम बुझाएका थिए । 'मसँग पैसा थिएन, तर सेयर पर्ला भन्ने आशामा ऋण खोजेर र दिनभरि घाममा बसेर फारम बुझाएको हुँ,' आवेदक ईश्वरले भने, 'तर उनीहरूले आफ्ना मान्छेको फारम राखेर अरू सर्वसाधारणको फारम कवाडीमा बेचिसकेछन् ।' नाफा होला भनेर महिनौंसम्म पर्खने सर्वसाधारण यसरी ठगिएपछि हर्जाना कसले तिर्ने हो ? नेपाल राष्ट्र बैंक वा धितोपत्र बोर्डले ? स्पष्ट पार्नुपर्ने उनको माग छ ।
सन्राइज बैंकले सेयर निकाल्ने जिम्मा एनएमबीलाई दिएको थियो । बिक्री-प्रबन्धकको रूपमा फारमको सुरक्षा गर्ने जिम्मेवारी पनि आफ्नो भएको एनएमबीका लगानी शाखाप्रमुख प्रवीणरमण पराजुलीले बताए । 'फारमको जिम्मा हाम्रो हो, तर सन्राइज बैंकका केही सेयर फारम हराएका छन्,' उनले नयाँ पत्रिकासित भने । तर, सबै फारम आफ्नो सिस्टममा रजिस्टर भएकाले सबै सेयर प्रतिस्पर्धामा हालिने पनि उनले बताए ।

सन्राइज बैंकका महाप्रबन्धक सुमन न्यौपानेले सेयर आवेदन फारम सडकमा पुगेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् । 'सेयर बाँडफाँड नभएसम्म फारम अति गोप्य र सुरक्षित हुनुपर्ने हो,' उनले भने, 'तर फारम बजारमा पुगेकै हो भने बैंकको शाखमा गम्भीर धक्का पुग्नेछ ।'

धितोपत्र बोर्डले आवेदन फारम बाहिर गएको पुष्टि भएमा सेयर प्रक्रिया रद्द पनि गर्न सक्ने बताएको छ । 'सेयर पाउने आशामा बसेका सर्वसाधारणको फारम बाहिर जानु गम्भीर लापरबाही हो, यसबारे अनुसन्धान हुन्छ,' बोर्डका निर्देशक नीरज गिरीले भने, 'यस्तो लापरबाही पुष्टि भएमा सेयर प्रक्रिया रद्द पनि गर्न सकिनेछ ।'

सेयर बाँडफाँडमा यस्तो लापरबाही पहिलोपटक भएको होइन । नेपालको सेयर बजारमा हरेकपटकको सेयर निष्कासनमा केही न केही समस्या आउने गरेका छन् । यसअघि दलालहरूले नक्कली मान्छे खडा गरेर सेयर हात पार्ने प्रवृत्ति बढेको थियो ।

No comments:

Post a Comment

thanks for comment