विनोदबहादुर श्रेष्ठको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठलाई कालोसूचीमा राखी बैंक खाता रोक्का तथा बैंकमा रहेको संस्थापक सेयर बिक्री रोक्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ तथा अर्थ मन्त्रालयको २०६६, १४ वैशाखको सचिवस्तरीय निर्णयबाट श्रेष्ठ र उनको परिवारको नाममा रहेको बैंक खाता संस्थापक सेयर जफतको निर्णय गरेको जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा श्रेष्ठले हाल बन्द नेकोन एयरलाइन्सको नाममा नविल बैंकबाट लिएको ऋण नतिरेकाले ऋण उठाउन बैंक खाता तथा संस्थापक सेयर जफत निर्णय गरेको उल्लेख छ ।
राष्ट्र बैंकले नेकोन एयरकै अर्का सेयर होल्डर मुकुन्दभक्त श्रेष्ठलाई पनि कालोसूचीमा राखी बैंक तथा वित्तीय संस्थामा रहेको खाता तथा सेयर बिक्री रोक्काको निर्देशन दिएको छ ।

त्यसैगरी राष्ट्र बैंकले नेपाल एसबिआई बैंकबाट ऋण लिएका गंगाराम कटन एन्ड टेरी फेबि्रक प्रालिका सञ्चालक बैकुण्ठ लामिछानेको बैंक खाता रोक्का र बैंक तथा वित्तीय संस्थामा रहेको संस्थापक सेयर बिक्री रोक्न सबैलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले श्रेष्ठद्वय र लामिछानेको नाममा बैंक तथा वित्तीय संस्थाबाट जारी डेबिट कार्ड, क्रेडिट कार्डलगायत सुविधासमेत तत्काल रोक्का राख्न निर्देशन दिएको छ ।

'ऋणी र ऋणसँग सम्बन्धित व्यक्तिलाई सबै किसिमका -स्वदेशी तथा विदेशी निक्षेप भुक्तानीमा रोक लगाई त्यस्तो निक्षेप रकम बैंक तथा वित्तीय संस्थाको कर्जा चुक्ता प्रयोजनका लागि उपयोग गर्ने र बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई प्रदान गरेको लकर सुविधाअनुसार लकरमा राखिएका सबै सम्पत्ति रोक्का राख्न अनुरोघ गर्दछ,' राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
निर्देशन राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा कारबाहीमा परेका व्यक्ति र निजका एकाघर परिवारले लगानी गरेको अवस्थामा त्यस्ता संस्थापक सेयर जफत गरेर लिलाम गरी कर्जा चुक्ता प्रयोजनका लागि उपयोग गर्नसमेत निर्देशन दिएको छ । ।
राष्ट्र बैंकको निर्देशनमा श्रेष्ठद्वय र लामिछाने तथा उनीहरूका एकाघर परिवारले सरकारी सुरक्षणपत्रमा गरेको लगानी जफत गरी लिलाममार्फत कर्जा असुल्न भनेको छ ।

१९९२ मा स्थापना गरिएको नेकोन एयरमा श्रेष्ठ सेयर होल्डर थिए । नेपालबाट निजी क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको नेकोन एयर व्यवस्थापकीय अक्षमताले सन् २००४ देखि बन्द भएको थियो ।
साधारण सेयरसमेत निष्काशन गरेको नेकोन एयर बन्दबाट थुप्रै सर्वसाधारण सेयर होल्डर तथा बैंकहरूको लगानी डुबेको थियो ।

अन्तर्राष्ट्रिय उडानमा भारतको पटना र बनारस तथा राष्ट्रिय उडानमा काठमाडौं, पोखरा, भद्रपुर, नेपालगन्ज, भैरहवा, जनकपुरलगायत सबै क्षेत्रमा उडान गरेको नेकोन एयरले अन्तिम समय विदेशबाट भाडामा ल्याएको जहाजको भाडा नतिरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो साख गुमाउन पुगेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पार्किङ शुल्क र नेपाल आयल निगमले इन्धन शुल्क असुल्न बाँकी नै छ ।

No comments:

Post a Comment

thanks for comment