राष्ट्र बैंक साढे १९ अर्बको रिभर्स रिपो जारि गर्दै

काठमाडौं, पुस २३
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्याधिक लगानी योग्य पुँजी (तरलता) भएपछि बुधबार फेरी साढे १९ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ। केन्द्रीय बैंकले बजारमा बढी भएको तरलता आफूसँग खिंच्न पहिले नै जारी भइसकेको टे्रजरी विल (सरकारी ऋणपत्र) लाई बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकले केही महिनादेखि नियमित रुपमा मौद्रिक औजारहरुको प्रयोग गरेर बढी भएको तरलता आफूसँग खिंचिरहेको छ। सरकारले आन्तरिक रुपमा ऋण उठाउन टे्रजरी विलहरु राष्ट्र बैंकमार्फत जारी गर्छ। सरकारले जारी गरेका टे्रजरी विलमध्ये केही राष्ट्र बैंकले आफैसँग राख्छ। यस्तो टे्रजरी विल ब्याज दर तथा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक औजारका रुपमा प्रयोग गर्छ। 
राष्ट्र बैंकले आठौं पटक रिभर्स रिपो जारी गरेको हो। राष्ट्र बैंकले अहिलेसम्म एक खर्ब २६ अर्ब ५० करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारिगरिसकेको छ। राष्ट्र बैंकले एक पटक आउट राइट सेल पनि जारि गरेको थियो। 
राष्ट्र बैंकले जारी गर्न लागेको रिभर्स रिपोको अवधि सात दिनको हुने छ। रिभर्स रिपो र आउट राइट सेलको ब्याज दर बैंक तथा वित्तीय संस्थाहरुले गरेको वोलकवोलका आधारमा तय हुन्छ। 'तरलता र ब्याज दर व्यवस्थापनका लागि रिभर्स रिपो जारी गर्न लागिएको हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले मंगलबार नागरिकसँग भने, 'यसबाट वित्तीय स्थायित्वमा सहयोग पुग्छ।' 

बैंकिङ प्रणालीमा तरलता अत्याधिक बढेपछि नेपाल राष्ट्र बैंकले दुई बर्षपछि रिभर्स रिपो र आउट राइट सेल मौद्रिक औजार प्रयोग नियमित गर्न थालेको हो। बाणिज्य बैंकहरुसँग निक्षेप बढेको अनुपातमा ऋण लगानी हुन नसकेपछि बजारमा तरलता बृद्धि भएको छ। अनिवार्य तरलता अनुपात (सिआरआर) घटाएपछि त्यो रकम पनि बजारमा आएको छ। डलरको बृद्धिसँगै दसैं तिहार नजिकिएकाले रेमिटेन्स् पठाउने क्रम बढेर तरलतामा बृद्धि भएको छ। 
बाणिज्य बैंकहरुसँग अहिले १० खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप छ। बैंकहरुले सात खर्ब ९७ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन्। तरलता बढी भएपछि बैंकहरुले निक्षेपको ब्याज घटाइरहेका छन्। यही बेला कर्जाको माग नभएका कारण राष्ट्र बैंकले तरलता आफूतिर तान्न मौद्रिक औजारहरु धमाधम जारी गर्न थालेको हो। 
बैशाख तेस्रो साताबाट सरकारी खर्च बढ्न थालेपछि बैंकिङ प्रणालीमा तरलता बृद्धि हुन थालेको थियो। पछिल्लो समय लगानीका लागि ऋणको माग नभएका कारण बैंकहरुसँग पैसा तिरेर ल्याएको निक्षेप बढ्न थालेको छ। महँगोमा लिएको निक्षेप लगानी गर्न नसकेपछि बैंकहरुले यसको ब्याज घटाउन थालेका हुन्। बैंकको निक्षेपको ब्याज दर औषत ५ प्रतिशत तल आइसकेको छ। कर्जाको कतिपय ब्याज पनि १० प्रतिशत तल छ। 
निक्षेपको ब्याज घट्न थालेपछि सर्वसाधारणले आफ्नो बचत बैंकिङ प्रणालीबाट झिक्छन्। यस्तो रकम उपभोग तथा अनुत्पादकमूलक क्षेत्रमा खर्च हुने सम्भावना रहन्छ। उपभोगमा खर्च बढ्न थालेपछि यसले मूल्य बृद्धि बढाउँछ। 

No comments:

Post a Comment

thanks for comment