३ अर्ब ९७ करोडको प्राथमिक सेयर निस्कास गर्न स्वीकृति माग

काठमाडौं, कात्तिक ६
एक बाणिज्य बैंकसहित १७ वटा कम्पनीले प्राथमिक सेयर निस्कासनका लागि नेपाल धितोपत्र वोर्डमा आवेदन दिएका छन्। कम्पनीहरुले तीन अर्ब ९७ करोड ३१ लाख ३९ हजार एक सय रुपैयाँ बराबरको प्राथमिक सेयर निस्कासनका लागि अनुमति माग गरेका हुन्।
वोर्डमा ३४ कम्पनीले ६ अर्ब ९१ करोड १८ लाख ७७ हजार ५१५ रुपैयाँको हकप्रद सेयर निस्कासका लागि पनि अनुमति माग गरेका छन्। यसमध्ये सात वटा इन्स्योरेन्स कम्पनी छन्। 
'हकप्रद र प्राथमिक गरेर साढे १० अर्बको सेयर निस्कास अनुमति माग गर्दै कम्पनीहरु आएका छन्,' वोर्डका एक अधिकारीले बुधबार नागरिकसँग भने, …केही कम्पनीहरुको मूल्यांकन सकिसकेका छौं। चाँडै स्वीकृति दिने तयारी भइरहेको छ।'
सबैभन्दा ठूलो रकमको प्राथमिक सेयर निस्कासका लागि माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनी र सेन्चुरी कमर्सियल बैंकले आवेदन दिएका छन्। माथिल्लो तामाकोशीले दुई अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर निस्कासनका लागि आवेदन दिएको छ। सेन्चुरी कमर्सियल बैंकले ९२ करोड रुपैयाँ बराबरको सेयर निस्कासनको स्वीकृति माग गरेको छ। यि दुवै संस्थाले चैत मसान्तअघि नै प्राथमिक सेयर निस्कासन गर्ने तयारी गरेका छन्।

धितोपत्र वोर्डमा माउन्ट मकालु डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त विकास बैंक, बरुण हाइड्रो पावर कम्पनी, मिथिला लघुवित्त विकास बैंक, कसमस डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र सहारा विकास बैंकले प्राथमिक सेयर निस्कासनका लागि आवेदन दिएका छन्। यसमध्ये वरुण हाइड्रो पावर कम्पनीले स्थानीय जनताका लागि सेयर निस्कास गर्न अनुमति मागेको हो। वोर्डले सहारा विकास बैंकको ६० लाख रुपैयाँको सेयर निस्कास अनुमति दिनका लागि आन्तरिक मूल्यांकन गरिरहेको छ।
पछिल्लो समय सर्वसाधारण बाणिज्य बैंक, जलविद्युत कम्पनी र लघुवित्त विकास बैंकको सेयरमा आकर्षित हुन थालेका छन्। स्वीकृति माग गरेका मध्ये माथिल्लो तामाकोशी र सेन्चुरी कमर्सियल बैंकको सेयरका बारेमा सर्वसाधारणको बढी चासो छ। 
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीले २०७२ चैतसम्म निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनामा उसको ४१ प्रतिशत सेयर स्वामित्व छ। यसमा नेपाल टेलिकमले ६ प्रतिशत, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषले दुई प्रतिशत सेयर लगानी गरेका छन्। माथिल्लो तामाकोशीको निस्कास तथा विक्री प्रबन्धक नागरिक लगानी कोष हो।
सेन्चुरी कमर्सियल बैंकले प्रस्तावित दुई अर्ब चुक्ता पुँजीको ४६ प्रतिशत प्राथमिक सेयर निस्कासन गर्न लागेको हो। ९२ लाख कित्ता सेयर निस्कास गर्न लागेको कम्पनीले क्रेडिट रेटिङ गरेपछि सेयर निस्कासन स्वीकृति पाउने छ। सेन्चुरीको निस्कास तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट, सिभिल क्यापिटल र ग्रोमोर मर्चेन्ट बैंकर छन्। धितोपत्र वोर्डले माथिल्लो तामाकोशी र सेन्चुरीको सेयरका लागि केही प्रतिकृयाहरु लेखेर पठाइसकेको छ। दुवै कम्पनीले वोर्डको जवाफ पठाएपछि स्वीकृति पाउने छन्।
वोर्डमा इन्भेष्ट फाइनान्स, सिटी होम्स, राजधानी इन्भेष्टमेन्ट फन्ड, एनआइडिसी डेभलपमेन्ट बैंक र मर्कन्टाइल फाइनान्सले पनि प्राथमिक सेयर निस्कास गर्न स्वीकृति माग गरेका छन्। यसमध्ये मर्कन्टायल स्वेक्षिक खारेजीमा गएको छ भने वाँकी इन्भेष्टा फाइनान्स, सिटी होम्स, राजधानी इन्भेष्टमेन्ट फन्ड र एनआइडिसी डेभलपमेन्ट बैंकको प्रकृया पुरा नगरेको वोर्डले जनाएको छ। एनआइडिसीले प्राथमिक सेयर निस्कासन प्रकृया पुनः सुरु गरिने जनाएको छ। बैंकले १८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर निस्कासका लागि अनुमति माग गरेको छ।
नागबेलीले ४२ लाख ९० हजार, बरुण हाइड्रो पावरले दुई करोड ४३ लाख, मिथिलाले ७० लाख ७२ हजार, कसमसले एक करोड ७५ लाख, नेपाल कम्युनिटीले तीन करोड र सहारा विकास बैंकले ६० लाख रुपैयाँ बराबरको सेयर निस्कासका लागि स्वीकृति माग गरेका छन्। 

No comments:

Post a Comment

thanks for comment