निर्वाचनले मूल्य बृद्धि १० प्रतिशत पुग्यो


काठमाडौं, मंसिर २९
दसैंतिहार लगत्तैको संविधानसभा निर्वाचनका कारण मूल्य बृद्धि १० प्रतिशतले बढेको छ। चालु आर्थिक बर्ष सुरु भएदेखि निरन्तर बढ्न थालेको मूल्य बृद्धि कात्तिकमा मात्र १० प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकसम्मको विवरण अनुसार, खाद्यान्न तथा पेय पदार्थको मूल्य उच्च अंकले बढेपछि समग्र मूल्य बृद्धि दर माथि गएको हो। अघिल्लो बर्ष ८.९ प्रतिशत रहेको खाद्यान्न तथा पेयर पदार्थको मूल्य बृद्धि यसपाली १३.५ प्रतिशतले बढेको छ।
निर्वाचनका कारण सरकारी खर्च बढ्नुका साथै उमेद्वार तथा राजनीतिक दलहरुले पनि चुनाव प्रचार प्रसारमा खर्च गरेका कारण मूल्य बृद्धिमा चाप परेको हो। सरकारले निर्वाचनका लागि १६ अर्ब रुपैयाँ छुट्याएको थियो। निर्वाचन आयोगले प्रति उमेद्वार १० लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो।
कतिपय उमेद्वारले निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै माथि पनि खर्च गरेका थिए। त्यसको असर मूल्य बृद्धिमा परेको हो। निर्वाचनका कारणले बढेको बस्तु तथा सेवाको मूल्य पहिलेकै अवस्थामा फर्किन करिव दुई महिना लाग्ने अर्थशास्त्रीहरु वताउँछन्।
चालु आर्थिक बर्षबाटै मूल्य बृद्धि उकालो लाग्न थालेको हो। साउनमा ७.९ प्रतिशत रहेको मूल्य बृद्धि दर भदौमा ८ प्रतिशत हुँदै असोजमा ८.४ प्रतिशतले बढेको थियो। गत बर्ष कात्तिकमा मूल्य बृद्धि दर १०.५ प्रतिशत थियो।

राष्ट्र बैंकले खाद्यान्न वाहेकको मूल्य बृद्धि भने सामान्य मात्र वढेको जनाएको छ। अघिल्लो बर्ष ११.७ प्रतिशतले बढेको गैरखाद्य वस्तुको मूल्य बृद्धि यसपाली जम्मा ६.९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
कात्तिकमा खासगरी तरकारीको मूल्य बृद्धि ३५.३ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष यतिबेला तरकारीको मूल्य बृद्धि दर ३.४ प्रतिशत मात्र थियो। माछा, मासु र फलफूलको मूल्य बृद्धि दर पनि उच्च छ। अघिल्लो बर्ष कात्तिकमा १४ प्रतिशतले बढेको माछामासुको मूल्य  यसपाली २२.३ प्रतिशत र तरकारीको  मूल्य ६.२ प्रतिशतबाट बढेर १५.३ प्रतिशतले बृद्धि भएको छ।
कात्तिकमा विभिन्न खाद्यान्नदेखि होटल तथा रेस्टुरेन्टको विल पनि महँगिएको छ। राष्ट्र बैंकका अनुसार खाद्यान्नको मूल्य बृद्धि १२.६ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष यस्तो बृद्धि दर ५.३ प्रतिशत थियो। होटल तथा रेस्टुरेन्टको बिल ११.९ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष ११.७ प्रतिशतले बढेको थियो।
कात्तिकमा लत्ताकपडा तथा जुक्ता चप्पलको मूल्य बृद्धि दर पोहोरको भन्दा केही घटेको छ। अघिल्लो बर्ष १३.९ प्रतिशत रहेको कपडा तथा जुक्ता चप्पलको मूल्य बृद्धि यसपाली ११.७ प्रतिशतले मात्र वढेको छ। यसपाली फर्निसिङ तथा घरेलु उपकरणहरुको मूल्य बृद्धि सामान्य घटेको राष्ट्र बैंकले जनाएको छ।
कात्तिकमा सबैभन्दा वढी मूल्य बृद्धिको मार तराईका जनताले सहनु परेको छ। तराइमा १०.६ प्रतिशतले बस्तु तथा सेवाको मूल्य बढेको छ। काठमाडौं उपत्यकामा १०.४ प्रतिशतले बढेको छ भने पहाडी क्षेत्रहरुको मूल्य बृद्धि ८.४ प्रतिशतले बढेको छ। गत बर्ष यतिबेला तराईको मूल्य बृद्धि दर १०.८ प्रतिशत, उपत्यकाको ९.६ र पहाडको १०.८ प्रतिशतले बढेको थियो।

आयात–निर्यात
चालु आर्थिक बर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा निर्यात ११.९ प्रतिशतले बढेको छ। आयातको बृद्धि दर पनि १६.४ प्रतिशत रहेको छ।
कात्तिकसम्म २९ अर्ब ६० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवाको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो बर्ष कात्तिकसम्म निर्यात २६ अर्ब ४६ करोड रुपैयाँको भएको थियो। आयात भने २०८ अर्ब ९ करोड रुपैयाँको भएको छ। अघिल्लो बर्ष यतिबेला आयात १७८ अर्ब ८४ करोड रुपैयाँको भएको थियो।
निर्यातको तुलनामा आयात फराकिलो अन्तरले बढेका कारण कुल बस्तु व्यापार घाटा १७.१ प्रतिशत अर्थात १७८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। कुल वस्तु व्यापार घाटामध्ये भारततर्फको २०.५ प्रतिशत र अन्य मुलुकसँगको ११.१ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार, कुल वस्तु निर्यातमध्ये भारतर्फतको १८ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष ४.५ प्रतिशतले बढेको थियो। भारत वाहेकका मुलुकको निर्यात २.४ प्रतिशतले मात्र वढेको छ। अघिल्लो बर्षको बृद्धि दर १४.९ प्रतिशत थियो।
भारततर्फ जिङ्क सिट, अलैची, जुस, जुत्ताचप्पल र आयुर्वेदिक औषधिहरुको निर्यात बढेको छ। भारतवाहेकका मुलुकमा भने उनी गलैचा, तयारी पोशाक, जडिबुटी र पश्मिनाको निर्यात बढेको छ।
कुल आयातमध्ये भारततर्फको २०.२ प्रतिशत र अन्य मुलुकसँगको ९.७ प्रतिशतले बढेको छ। भारतबाट मूख्यगरी पेट्रोलियम पदार्थ, सवारीका साधन र पार्टपुर्जा, धागोलगायतका सामान आयात भएको छ। अन्य मुलुकबाट कच्चा सोयाविन तेल, चाँदी र स्टेशनरीका सामानको आयात बढेको छ।
सरकारले चालु बर्ष कात्तिकसम्म वैदेशिक ऋण वापत ८ अर्ब ९१ करोड रुपैयाँ र नगद अनुदान वापत १३ अर्ब २६ करोड प्राप्त भएको छ। अघिल्लो बर्ष ऋण ७० करोड १३ लाख र अनुदान ४ अर्ब ५९ करोड प्राप्त भएको थियो। सरकारले कात्तिकमा खर्च पनि सामान्य बढाएको छ। सरकारी खर्च ४.९ प्रतिशतले बढेर ७३ अर्ब  ८२ करोड पुगेको छ। अघिल्लो बर्ष ४.५ प्रतिशतले सरकारी खर्च बढेको थियो।
बजेट समयमा आएको तथा संविधान सभा निर्वाचनको तयारीमा भएको खर्चका कारण समग्र खर्चमा सुधार आएको हो। यद्यपी चालु खर्चको तुलनामा विकास खर्चको अंश निकै कम छ। कुल खर्चमध्ये चालु खर्चको अंश ६७ अर्ब ७८ करोड रुपैयाँ छ।
पुँजीगत खर्च १०.९ प्रतिशतले मात्र वढेको छ। कात्तिकसम्म विकास निर्माणमा तीन अर्ब ९२ करोड रुपैयाँ खर्च भएको थियो। अघिल्लो बर्ष विकास खर्च २२.७ प्रतिशतले बढेको थियो। विकास खर्च बढ्न नसकेका कारण सरकार कात्तिकमा ३७ अर्ब १४ करोड बचतमा रहेको छ। अघिल्लो बर्ष १४ अर्ब सात करोड बचतमा थियो।
शोधनान्तर बचत
चालु आर्थिक बर्षको कात्तिकसम्म देशबाट बाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर) ६४ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो बर्ष १ अर्ब ८५ करोड रुपैयाँ बचतमा रहेको थियो। चालु खाता बचत पनि ४८ अर्ब १४ करोड पुगेको छ। अघिल्लो बर्ष चालु खाता १ अर्ब ७७ करोडले घाटामा रहेको थियो।
कात्तिकसम्म वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाएको रेमिटेन्सको बृद्धि दर ४०.५ प्रतिशत पुगेको छ। अघिल्लो बर्ष बृद्धि दर जम्मा २३.४ प्रतिशत थियो। कात्तिकसम्म १७८ अर्ब ८९ करोड रुपैयाँ रेमिटेन्स भित्रिसकेको छ। असोजको तुलनामा यो बृद्धि दर ३२.५ प्रतिशतले बढी हो।
राष्ट्र बैंकले कात्तिकसम्म विदेशी विनिमय सञ्चिति १६.९ प्रतिशतले बढेर ६२३ अर्ब ५० करोड पुगेको जनाएको छ। कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको १७.६ प्रतिशतले बढेर ५३२ अर्ब ७६ करोड पुगेको छ। कात्तिकसम्म भारतीय मुद्रा सञ्चिति १५.७ प्रतिशतले बढेर ८६ अर्ब २८ करोड भारु संकलन भएको छ। अघिल्लो बर्ष यतिबेला भारु सञ्चिति  ५.६ प्रतिशतले घटेको थियो।
निक्षेप तथा कर्जा
कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ प्रतिशत अर्था ५८ अर्ब ८७ करोड रुपैयाँले बढेको छ। अघिल्लो बर्ष यतिबेला निक्षेप २९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो।  कात्तिकसम्म बाणिज्य बैंकहरुको निक्षेप ४.५, विकास बैंकहरुको ९.५ र वित्त कम्पनीहरुको ६.९ प्रतिशतले बढेको छ।
कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३.६ प्रतिशतले मात्र बढेको छ। अघिल्लो बर्षको तुलनमा बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब ८ करोड रुपैयाँ मात्र वढी लगानी गर्न सकेका छन्। अघिल्लो बर्ष यति बेला कर्जा ६२ अर्ब २६ करोडले बढेको थियो।
कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा ४४ अर्ब ४० करोड बढी लगानी गरेका छन्। अघिल्लो बर्ष ५१ अर्ब १७ करोड बढी लगानी गरेका थिए। बैंक तथा वित्तीय संस्थाहरुल्े औद्योगिक उत्पादनतर्फ १) अर्ब ४५ करोड ऋण लगानी गरेका छन्। अघिल्लो बर्ष १३ अर्ब ८३ करोड लगानी भएकेा थियो। पोहोर यतिबेला कृषिमा ५ अर्ब ४५ करोडले ऋण बढेकोमा यसपाली १ अर्ब ५१ करोडले मात्र बढेको छ।
निर्माण क्षेत्र तर्फको कर्जा  ५ अर्ब २० करोड र यातायात, सञ्चार तथा सार्वजनिक सेवा तर्फको कर्जा ८९ करोडले बढेको छ। थोक तथा खुद्रा ब्यापार तर्फको कर्जा १२ अर्ब ९६ करोडले बढेको छ।
राष्ट्र बैंकले कात्तिकमा बाणिज्य बैंकहरुको कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) ६.९३ प्रतिशत रहेको जनाएको छ। बैंकहरुले निक्षेपमा औषत ४.८६ प्रतिशत ब्याज दिन्छन् र कर्जामा औषत ११.७९ प्रतिशत ब्याज लिने राष्ट्र बैंकले जनाएको छ। अघिल्लो कात्तिकमा स्प्रेड दर ६.८९ प्रतिशत रहेको थियो। बैंकहरुको आधार ब्याज दर ९.०३ प्रतिशत रहेको छ। अघिलो बर्ष ९.२३ प्रतिशत थियो।


No comments:

Post a Comment

thanks for comment