बैंकको ब्याज आम्दानी प्रभावित

काठमाडौं, मंसिर ४
असोज मसान्तताका दसैंको लामो विदा परेकाले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी बृद्धि दर घटेको छ। बैंकहरुको ब्याज आम्दनी बृद्धि दर ४० प्रतिशतबाट घटेर १२ प्रतिशतमा सीमित भएको हो। 
असोज २५ गतेदेखि दसैं विदा परेकाले बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक केही प्रभावित बनेको हो। ब्याज र किस्ता नउठेका कारण बैंक तथा वित्तीय संस्थाहरुको नोक्शानी व्यवस्था वापतको रकम पनि बढेको छ। यसपाली बैंकहरुले करिव सवा दुई अर्ब रुपैयाँ बराबर नोक्सानी व्यवस्थामा रकम छुट्याएका छन्। 
ब्याज आम्दानी प्रभावित भएका कारण बैंकहरुको नाफा बृद्धि दर ४१ प्रतिशतबाट घटेर १३ प्रतिशतमा सीमित भएको छ। सञ्चालनमा रहेका ३१ बाणिज्य बैंकमध्ये सात वटा बैंकको खुद ब्याज आम्दानी पोहोरको भन्दा पनि घटेको छ। ऋण विस्तार पोहोरभन्दा वढेपनि ब्याज आम्दानी किस्ता नउठेको तथा उच्च तरलताका कारण घटेको हो।
तरलता (लगानी योग्य पुँजी) बढेर बैंकहरुको पुँजी लागतमा बृद्धि भएको छ। तरलता बढेको अनुपातमा कर्जा लगानी हुन नसक्दा बैंकहरुले कमाउने खुद ब्याज आम्दानी प्रभावित भएको हो। ब्याज आम्दानी प्रभावित भएकाले तीन बाणिज्य बैंक घाटामै गएका छन्। सात वटा बैंकको नाफा पोहोरको भन्दा घटेको छ। 
बैंकहरुको तरलता बृद्धि भएका कारण पुँजी लागत बढेर पनि ब्याज आम्दानी अपेक्षा अनुसार हुन सकेन। ब्याज दर क्रमशः घट्दै गएकाले ब्याज आम्दानीको बृद्धि दर घटेकाले नाफा प्रभावित भएको हो। राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुलाई स्प्रेड दर कम गर्दै लानु पर्ने चुनौती थपिएकाले पनि आम्दानीमा असर परेको हो। राष्ट्र बैंकले पुसबाट स्प्रेड दर ५ प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ। 
असोजमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी), बैंक अफ काठमाण्डू (बिओके), सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, किस्ट, कुमारी र लक्ष्मी बैंकको खुद ब्याज आम्दानी घटेको छ। 

बैंकहरुले गत आर्थिक बर्षको असोज मसान्तमा नाफा ४१ प्रतिशतले बढाएका थिए। ब्याज आम्दानी घटेका मध्ये अधिकांस बैंकको नाफा पनि घटेकेा छ। सिटिजन्स्ले अन्य आम्दानी बढाएका कारण नाफा बृद्धि गरेको छ। असोजमा कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल, जनता बैंक नेपाल र किस्ट बैंक घाटामा गएका छन्। यसका अलावा बैंक अफ काठमाण्डू (बिओके), सिभिल, हिमालयन, लक्ष्मी, नबिल, नेपाल क्रेडिट एन्ट कमर्स (एनसिसी), नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ। 
असोज मसान्तसम्म बैंकहरुले कुल चार अर्ब पाँच करोड नाफा कमाएका छन्। अघिल्लो बर्ष नाफा तीन अर्ब ५९ करोड रुपैयाँ थियो। गत बर्षको सबै त्रैमासमा बैंकहरुको नाफा उच्च थियो। पहिलो त्रैमास असोज मसान्तसम्म ४१ प्रतिशतले बढेको नाफा पुस मसान्तमा ४५ प्रतिशतले बढेको थियो। चैत मसान्तमा ५० प्रतिशतले बढेको नाफा बर्षभरी अर्थात असार मसान्तमा ४५ प्रतिशतले बृद्धि भएको थियो।
बैंकरका अनुसार, पोहोर असोजदेखि अहिलेको असोजसम्म गणना गर्दा कर्जामा उल्लेख्य बृद्धि भएपनि चालु आर्थिक बर्ष (साउनदेखि असोज मसान्तसम्म) मा भने खासै बृद्धि भएको छैन। लगानी नहुने र भएका उद्योगधन्दा राम्रोसँग नचल्दा बैंकको ब्याज आम्दानी प्रभावित भएको छ। 
चालु आर्थिक बर्ष लागेपछि बैंकहरुले मुस्किले १९ अर्ब रुपैयाँ कर्जा विस्तार गर्न सकेका छन्। घट्दो ब्याज दरमा पनि ऋणको माग नभइरहेका बेला बैंकहरुसँग तरलता (लगानी योग्य पुँजी) भने बढ्दै गएको छ। पैसा तिरेर लिएको निक्षेपले लागत बढाएका कारण बैंकहरुको ब्याज आम्दानी प्रभावित भएको हो। 
बैंकहरुले गत आर्थिक बर्ष धमाधम धितो सम्पति लिलाम गरेर पैसा उठाएका थिए। कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण बर्षको अन्तिममा बैंकले पुरानो ऋण उठाएर नाफा बढाएका थिए। …यसपाली खर्च बढेको र लगानी घटेका कारण पोहोरको जस्तो बृद्धि गर्न सकिने अवस्था छैन,' एक बैंकरले भने, …यसपाली पहिलेको जस्तो अवस्था नभएकाले असोजको नाफा प्रभावित भएको हो।' 
यसपाली नाफामा उल्लेख्य गिरावट लक्ष्मी बैंक, सिभिल बैंक, एनसिसी बैंक, नबिल बैंक र बिओकेकेा घटेको छ। लक्ष्मी बैंकले अघिल्लो असोजमा चार करोड ८ लाख रुपैयाँ नाफा गरेकोमा यसपाली जम्मा ५१ लाख ९० हजार रुपैयाँ मात्र गरेको छ। बैंकको खुद ब्याज आम्दानी आधा घटेको तथा नोक्सानी व्यवस्थाको रकम बढेका कारण नाफामा उच्च गिरावट देखिएको हो। बैंकको नाफा ८७ प्रतिशतले घटेको छ। 
सिभिलको ४५ प्रतिशत, एनसिसीको ३०.६५ प्रतिशत, नबिलको २२.२५ प्रतिशत र बिओकेको २० प्रतिशतले नाफा घटेको छ। यसैगरी हिमालयन बैंकको नाफा १३.३ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको  ३ प्रतिशतले नाफा घटेको छ। 
स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, लुम्बिनी, कृषि विकास र एभरेष्ट बैंकको नाफा भने थोरै मात्र बढेको छ। स्ट्यान्डर्ड चार्टर्ड र एनएमबीको एक प्रतिशतभन्दा कमले मात्र नाफा बढेको छ। लुम्बिनीको १.२१ प्रतिशत, कृषि विकासको ६.३८ प्रतिशत र एभरेष्ट बैंकको ७.१५ प्रतिशतले नाफा बढेको छ।


No comments:

Post a Comment

thanks for comment