४९औं सिसेन सम्मेलन सुरु : न्युनआय भएकालाई मूलधारमा ल्याउनु पर्छ : राष्ट्रपति

काठमाडौं, मंसिर ६
राष्ट्रपति रामवरण यादवले वित्तीय सेवा तथा पहुँच सर्बसाधारणको घरदैलोसम्म पुर्‍याउनु पर्ने भन्दै न्युन आय भएकाहरुलाई आर्थिक विकासको मुलधारमा ल्याउनु पर्ने बताएका छन्। दक्षिणपूर्वि एसियाली केन्द्रीय बैंकका गभर्नरहरुको ४९औं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपतिले विकासलाई सहयोग पुग्ने आर्थिक नीति तयार पार्नु पर्ने बताए।
राष्ट्रपति यादवले सर्वसाधारणलाई विकासको मुलधारमा ल्याउन प्रभावकारी वित्तीय सेवाहरु घरदैलोसम्म पुर्‍याउन आवश्यक रहेको बताए। …वित्तीय सेवाको गुणस्तरले आर्थिक विकासको गुणस्तर निर्धारण गर्ने हुँदा समावेशी आर्थिक विकासका लागि विश्वसनीय वित्तीय क्षेत्र विकास नीति तर्जुमा गर्नु पर्छ,' तीन दिसम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपतिले भने। 
उनले आर्थिक विकासको लाभ गरिब र विपन्न वर्गसम्म पुग्नु पर्नेमा जोड दिएका छन्। राष्ट्रपतिले समावेशी वित्तीय सेवाले जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने भन्दै यसलाई अघि बढाउन सरकार, वित्तीय क्षेत्र तथा सहकारी क्षेत्रले समन्वय तथा सहकार्य गर्नु आवश्यक रहेको बताए। 
…न्यून आय भएका वर्गलाई देशको आर्थिक विकास प्रक्रियामा सहभागी हुन उत्प्रेरित गर्नुपर्ने हुन्छ,' उनले भने, …उनीहरुको सशक्तीकरणका साथै लैंगिक समानता सुनिश्चित गर्नु पर्छ।' राष्ट्रपतिले सम्मेलनले समावेशी आर्थिक विकास प्रक्रियालाई दिशाबोध गर्ने र गरिबी न्यूनीकरण तथा दिगो विकास प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गरे। 
कार्यक्रममा अर्थमन्त्री शंकर कोइरालाले युरोपीयन सार्वजनिक ऋण संकट र अमेरिक वित्तीय संकटबाट विश्व अर्थतन्त्रलाई सचेत बनाएको बताएका छन्। …विश्व अर्थतन्त्रको एकीकरण तथा क्षेत्रीय आबद्धता बढ्दै गएको सन्दर्भमा केन्द्रीय बैंकको क्षेत्रीय साझा चुनौती सामना गर्न सहकार्य गर्नुपर्ने आवश्यकता छ,' उनले भने। 
कोइरालाले समावेशी वित्तीय प्रणालीमार्फत दिगो आर्थिक विकास हासिल गर्ने प्रयासमा सरकार प्रद्धिबद्ध रहेको भन्दै यसका लागि समन्वयात्मक रुपमा वित्त, मौद्रिक, तथा वित्तीय क्षेत्र नीतिहरू लागु गर्ने जानकारी दिए। …वित्तीय क्षेत्रका मुख्य नियामक निकायको संलग्नतामा वित्तीय क्षेत्र विकास रणनीति तयार भइरहेको छ,' उनले भने। 

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले विश्व अर्थतन्त्रमा देखापर्ने आर्थिक तथा वित्तीय संकटहरूको असर न्यूनीकरण गर्न सिसेन जस्तो मञ्ज प्रभावकारी हुने बताए। उनले बदलिँदो विश्व अर्थतन्त्रका सन्दर्भमा केन्द्रीय बैंकको भूमिका मौद्रिक नीति सञ्चालनका अतिरिक्त वित्तीय क्षेत्र स्थायित्व र मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनेतर्फ केन्द्रित हुन पुगेको बताए। 
…विद्युतीय प्रविधिको तीव्र विकास, नयाँ वित्तीय उपकरणहरूको आगमनका कारण केन्द्रीय बैंकको उद्देश्य हासिल गर्ने काम चुनौतीपूर्ण हुँदै गएको छ,' गभर्नरले भने, …अनौपचारिक वित्तीय बजार र छायाँ बैंकिङको बढ्दो अवस्थाले मौद्रिक नीतिको कार्यान्वयन थप चुनौतीपूर्ण हुँदै गएको छ।' 
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नायव महाप्रबन्धक नाओयुकी सिनोहाराले वित्तीय क्षेत्र समावेशि हुनुपर्ने बताए। उनले वित्तीय प्रणालीको समावेशी विकासले नै आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए। …विगत एक दशकमा एसियाली आर्थिक परिदृश्यमा महत्वपूर्ण विकास भएको छ,' उनले भने, …वित्तीय प्रगाढता र स्थायित्व अभिवृद्धिका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा मुद्रा कोषले ध्यान दिइरहेको छ।' 
कार्यक्रममा  सिसेनका अध्यक्ष तथा मंगोलियाका गभर्नर नैदानसुरेन जोल्जर्गालले सबैका लागि वित्तीय सेवा अभिवृद्धिका साथै असमानता न्यूनीकरण समेत हुनुपर्ने बताए। …वित्तीय समावेशिता अभिवृद्धिको कार्यमा केन्द्रीय बैंकले पहल गर्नु पर्छ,' उनले भने, …वित्तीय सेवाको आपूर्ति पक्षका साथै माग पक्षलाई समेत बढाउनु पर्छ।' 
सम्मेलनमा अध्यक्षको निर्वाचनका साथै आमन्त्रीत सदस्य तथा वक्ताहरुले आफ्नो धारणा राख्ने छन्। कार्यक्रममा विभिन्न मुलुकका केन्द्रीय बैंकका तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ। सम्मेलनमा विश्व अर्थतन्त्रका परिदृष्य, चुनौती तथा समस्या समाधानका उपायका बारेमा पनि छलफल हुने छ। 
सन् १९६६ बाट प्रत्येक बर्ष आयोजना हुन थालेको सिसेन केन्द्रको सम्मेलन यसअघि नेपालमा तीन पटक आयोजना भइसकेको छ। २६ बर्षपछि नेपालमा सिसेन सम्मेलन चौथो पटक आयोजना भएको हो। गभर्नरहरुको सञ्चालक समितिको वैठक भने सन् १९८२ देखि बस्न सुरु भएको थियो। नेपालमा सिसिनको ९औं सम्मेलन १९७४, १३औं सम्मेलन १९७८ र २२औं सम्मेलन १०८७ मा आयोजना भइसकेको छ। 
सम्मेलनमा मूख्य गरी तीन वटा बिषयमा छलफल हुने राष्ट्र बैंकले जनाएको छ। पहिलो चरणमा हुने …रिजनल एन्ड इन्टरनेशनल फाइनान्सियल इस्युज' विषयको स्रोत व्यक्तिका रुपमा आइएमएफका निर्देशक ओड् पेर ब्रेक्क हुने छन्। वक्ताहरुले प्रस्तुत गरेको विषयमा सहभागीबीच छलफलसमेत हुने छ।
दोस्रो चरणमा हुने …न्यु फाइनान्सियल आर्किटेक्चर, म्याक्रोप्रुडेन्सियल रेगुलेसन एन्ड सुपरभिजन फर फाइनान्सियल स्टाविलिटी एन्ड ग्रोथ' विषयको स्रोत ब्यक्तिका रुपमा बैंक अफ इन्टरनेशनल सेटलमेन्टका जेम करुआना हुने छन्। त्यसपछि हुने …इमर्जिङ इस्युज अन इन्क्लुसिभ फाइनान्स फर ग्रोथ' विषयको स्रोत व्यक्ति एडिबीका उपाध्यक्ष थेह्री डे लङग्युमर हुने छन्। 

No comments:

Post a Comment

thanks for comment