बैंकमा पैसा हाले खिइँदै जान्छ

सुदर्शन सापकोटा
काठमाडौं, पुस २
बैंकले दिने ब्याजको तुलनामा बजार मूल्य वृद्धिदर दोब्बर भएकाले बैंकमा राखेको पैसा खिइँदै जाने अवस्था आएको छ।
बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएपछि बचतकर्ताले पाउने ब्याज दर ५ प्रतिशतभन्दा तल झरेको छ। यो ६ वर्षयताकै सबभन्दा कम हो। बजार मूल्य वृद्धिदर भने १० प्रतिशत हाराहारी छ। पछिल्ला केही वर्षदेखि मूल्य यही अनुपातमा बढिरहेको छ।
बजार मूल्यभन्दा बैंक ब्याजदर कम हुनु भनेको वास्तविक ब्याज ऋणात्मक हुनु हो। अहिलेको अवस्थामा वास्तविक ब्याजदर ५ प्रतिशत ऋणात्मक छ। यसको मतलब, आज तपाईंले बैंकमा सय रुपैयाँ जम्मा गर्नुभयो भने अर्को वर्ष त्यो १ सय ५ हुनुपर्नेमा त्यसको वास्तविक मूल्य ९५ मा झरेको हुन्छ।
बैंक तथा वित्तीय संस्थाको आम्दानीको प्रमुख स्रोत ऋणबाट आउने ब्याज हो। केही समययता ऋण माग हुन छाडेपछि बैंकिङ क्षेत्रले आफ्नो पुँजी लागत कम गर्न बचतकर्तालाई दिने ब्याज दर घटाएका छन्। सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकले निक्षेपमा औसत ४.८६ प्रतिशतमात्र ब्याज दिन थालेका छन्। पुराना तथा ठूला बैंकको ब्याज दर औसतभन्दा अझै कम छ। केही बैंकले मात्र साढे पाँच प्रतिशतसम्म ब्याज दिइरहेका छन्।
समयमा बजेट आएको, वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिटेन्स आय बढेको र सरकार तथा संगठित संस्थामा काम गर्नेको तलब वृद्धि भएपछि बैंकमा पैसा थुप्रिएको हो। मुलुकका ठूला बैंक नबिल, हिमालयन, नेपाल इन्भेस्टमेन्ट, एभरेस्टलगायतले एक वर्ष पैसा राख्दा बढीमा ५ प्रतिशत ब्याज दिने जनाएका छन्। बचत खातामा बढीमा ४ प्रतिशतसम्म ब्याज पाइन्छ। नयाँ र साना बैंकमध्ये केहीले ६ प्रतिशतसम्म दिने जनाएका छन्। 
…ब्याज भनेको मूल्य वृद्धिदरभन्दा बढी हुनुपर्ने हो,' सानिमा बैंकका नायब प्रमुख कार्यकारी भुवन दाहालले मंगलबार नागरिकसँग भने, …तर, सरकारले नै ०.१ प्रतिशत ब्याजमा ऋण उठाइरहेका बेला बैंकको ब्याज दर तल झर्नु स्वाभाविक हो।' सरकारले राष्ट्र बैंकमार्फत निष्कासन गरेको टे्रजरी बिलको ब्याज दर ०.०३ प्रतिशत छ।
मूल्य वृद्धिभन्दा निकै कम ब्याज दर हुँदा बैंकिङ प्रणालीबाट रकम बाहिरिए उपभोगमा खर्च हुने खतरा बढ्छ। यसरी खर्च बढ्न थालेपछि माग र आपूर्तिमा प्रभाव परेर मूल्य वृद्धि थप आकासिन्छ। ब्याज दर निकै तल झरेको असरका कारण एक महिनाअघि ८.४ प्रतिशत रहेको मूल्य वृद्धिले दोहोरो अंक छोइसकेको छ। 
बचतको ब्याज घट्दा ठूला निक्षेपकर्ताले अवैध मार्गबाट अन्य देशमा पुँजी पुर्‍याउने (क्यापिटल फ्लाइट) खतरा पनि हुन्छ। बैंक ब्याजबाट न्यून आम्दानी हुन थालेपछि पैसावालाले घरजग्गा, सेयर तथा कमोडिटीजस्ता क्षेत्रमा लगानी बढाउँछन्। कतिपयले घाटा पूर्तिका लागि बाहिरिएको पुँजी अनुत्पादक क्षेत्रमा लगानी गर्छन्।
…सेयर बजारमा पैसा ओइरिनुको मुख्य कारण निक्षेपको ब्याज दर घट्नु हो,' नबिल इन्भेस्टमेन्ट बैंकरका प्रमुख कार्यकारी प्रविणरमण पराजुलीले भने, …लगानीका अन्य क्षेत्र नभएपछि सेयर बजारमा आकर्षण बढेको छ, जसले सेयर मूल्य तीव्र रूपमा बढेको हो।'
बैंकको न्यून ब्याजका कारण पैसावालाहरू लगानीको अवसर खोज्दै घरजग्गा कारोबारमा फर्किने वातावरण तयार हुँदै गएको बैंकरहरू बताउँछन्। …सेयर बजार उकालो लागिसकेको छ, अब घरजग्गा कारोबार पनि बढ्ने अवस्था छ,' सानिमाका दाहालले भने, …बैंकमा पैसा राख्दा खासै आम्दानी नहुने भएपछि त्यो पैसा घरजग्गा क्षेत्रमा बाहिरिने सम्भावना बढेको छ।'
केही वर्षअघि तरलता अभाव हुँदा बैंकहरूले एक वर्षे मुद्दतिमा १२ प्रतिशतसम्म ब्याज दिएका थिए। ठूला निक्षेपकर्ताले साढे १२ प्रतिशतसम्म पाउँथे। बचत खाताको ब्याज पनि साढे १० प्रतिशतसम्म थियो। 
बचतकर्ताले पाउने ब्याज दर थप घट्न नदिन सरकारले चालु वर्षभरि जारी गर्ने ऋणपत्र केही महिनाभित्र निष्कासन गरेर ऋण उठाउनुपर्ने बैंकरहरू बताउँछन्। …सरकारले थप ब्याज घट्न नदिने हो भने धमाधम ऋणपत्र जारी गर्नुपर्छ,' एक बैंकरले भने, …पैसाको माग बढेपछि ब्याज दरमा स्थायित्व आउँथ्यो।' सरकारले चालू वर्षभित्र ४४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ।

No comments:

Post a Comment

thanks for comment