बैंकर्स संघको साधारणसभा

काठमाडौं, कात्तिक २७
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको बुधबार भएको साधारणसभाले रिक्त रहेको दुई कार्यसमिति सदस्यमा दुई जनालाई निर्विरोध निर्वाचित गरेको छ। संघमा किस्ट बैंक र जनता बैंकका प्रमुख कार्यकारीहरु सेवा वाहिर रहेकाले रिक्त पदमा अन्य दुई जना बैंकरलाई निर्वाचित गरेको हो।
सदस्यमा बैंक अफ काठमान्डु (बिओके) का प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधान निर्विरोध चुनिएका हुन्। बाँकी पुरानै सदस्यहरु निर्विरोध भएका छन्। संघमा प्रत्येक वर्ष निर्वाचन हुन्छ। पहिलो वर्ष अध्यक्षको मात्र हुन्छ भने अर्को वर्ष अध्यक्ष बाहेकका पदको निर्वाचन हुन्छ। यसपाली अध्यक्ष बाहेकका पदको निर्वाचन थियो।
पुरानो कार्यसमितिको उपाध्यक्षमा एनएमबी बैंकका उपेन्द्र पौडेल र ग्रान्ड बैंक नेपालका सुधिर खत्री छन्। सदस्यहरुमा सेन्चुरी कमर्सियल बैंकका गणेशकुमार श्रेष्ठ, नबिल बैंकका अनिल ज्ञवाली, सिभिल बैंकका किशोर महर्जन, राष्ट्रिय वाणिज्य बैंकका कृष्ण शर्मा, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका जोसेफ सिल्भानुस छन्। उपाध्यक्षसहित सबै सदस्य निर्विरोध भएका हुन्। संघका अध्यक्षमा सिटिजन्स बैंक इन्टरनेसनलका राजनसिंह भण्डारी छन्। उनको कार्यकाल अर्को वर्ष सकिँदैछ।
संघको निर्वाचनका लागि गत आइतबार उम्मेद्वारी दर्ता गराउने दिन थियो। पुराना सदस्य र रिक्त रहेका दुई पदमा श्रेष्ठ र प्रधानले मात्र उम्मेद्वारी दर्ता गराएका थिए। सदस्यहरुमा जनता बैंकका विजय पन्तर किस्ट बैंकका कमल ज्ञवाली पनि सदस्य थिए। उनीहरु बैंकिङ सेवाबाट बाहिरिएकाले सदस्य पद रिक्त थियो।

No comments:

Post a Comment

thanks for comment