दक्षिणपूर्वि एसियाली मुलुकका गभर्नरहरुको सम्मेलन नेपालमा

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २८
दक्षिणपूर्वि एसियाली केन्द्रीय बैंकका गभर्नरहरुको ४९औं सम्मेलन मंसिर ६ देखि नेपालमा सुरु हुने भएको छ। राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने सम्मेलन तीन दिनसम्म चल्ने छ। 
दक्षिण पूर्वि एसियाली केन्द्रीय बैंकहरुको संगठन (सिसेन) र नेपाल राष्ट्र बैंकले आयोजना गर्न लागेको सम्मेलनका क्रममा गभर्नरहरुको ३३औं सञ्चालक समितिको वैठक पनि बस्ने छ। सामूहिक हितका लागि सिसेन सदस्य मुलुकको आर्थिक तथा वित्तीय मुद्दाहरु बारे छलफल गर्ने सम्मेलनको मूख्य उद्देश्य रहेको छ।
सम्मेलनमा अध्यक्षको निर्वाचनका साथै आमन्त्रीत सदस्य तथा वक्ताहरुले आफ्नो धारणा राख्ने छन्। कार्यक्रममा विभिन्न मुलुकका केन्द्रीय बैंकका तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ। सम्मेलनमा विश्व अर्थतन्त्रका परिदृष्य, चुनौती तथा समस्या समाधानका उपायका बारेमा पनि छलफल हुने छ। 
सन् १९६६ बाट प्रत्येक बर्ष आयोजना हुन थालेको सिसेन केन्द्रको सम्मेलन यसअघि नेपालमा तीन पटक आयोजना भइसकेको छ। २६ बर्षपछि नेपालमा सिसेन सम्मेलन चौथो पटक आयोजना हुन लागेको हो। गभर्नरहरुको सञ्चालक समितिको वैठक भने सन् १९८२ देखि बस्न सुरु भएको थियो। नेपालमा सिसिनको ९औं सम्मेलन १९७४, १३औं सम्मेलन १९७८ र २२औं सम्मेलन १०८७ मा आयोजना भइसकेको छ। 
सम्मेलनमा भाग लिनका लागि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक (एडिबी), विभिन्न देशका गभर्नरहरु आउने छन्। कार्यक्रमको मूख्य वक्ताका रुपमा आइएमएफका नायव प्रबन्ध निर्देशक नाओयुकी सिनोहारा, विश्व बैंकका उपाध्यक्ष क्लाउस टिल्मेस, एडिबीका उपाध्यक्ष थेह्री डे लङग्युमर, बैंक अफ इन्टरनेशनल सेटलमेन्टन्सका महाप्रबन्धक जेइम फेलिक्स कराउना लेकोरेट रहेका छन्। सिनोहारा र टिल्मेस आइएमएफ र विश्व बैंकबाट अहिलेसम्म नेपाल आएकामध्ये उच्च अधिकारीहरु हुन्। 

कार्यक्रममा अथोरिटी मनिटरी ब्रुनाइ, नेशनल बैंक अफ कम्वोडिया, पिपुल्स बैंक अफ चाइना, रिजर्भ बैंक अफ फिजी, बैंक अफ मंगोलिया, सेन्ट्रल बैंक अफ म्यानमार, बैंक अफ पपुवा न्युगिनी, बैंङको सेन्ट्रल एनजी फिलिपिनास, मनिटरी अथोरिटी अफ सिङगापुर, बैंक अफ थाइल्यान्ड, स्टेट बैंक अफ भियतनामका गभर्नरसहित प्रनिनिधिहरु उपस्थित हुने छन्। 
सम्मेलनमा सहभागी हुन इन्डोनेसिया, कोरिया, मलेसिया, भियतनाम, श्रीलंका, ताइपेइ डेपुटी गभर्नरहरु र प्रतिनिधि उपस्थित हुने छन्। यसवाहेक सिसेनका पदाधिकारी, बैंक अफ इङल्यान्ड, बैंक अफ जापान र डच बैंकका प्रतिनिधिहरु पनि कार्यक्रममा उपस्थित हुने छन्। 
राष्ट्र बैंकले विभिन्न केन्द्रीय बैंक र आमन्त्रीत गरेर ७५ जना पाहुनाहरु आउने जनाएको छ। सम्मेलनमा आउने सबै केन्द्रीय बैंकका गभर्नर र प्रतिनिधिहरुको बारेमा टुङगो लागेपनि स्टेट बैंक अफ भियतनामबाट को आउने भन्ने टुङगो लागिसकेको छैन। राष्ट्र बैंकले स्टेट बैंक अफ भियतनामबाट गभर्नरसहित तीन जनालाई आमन्त्रण गरेको थियो। 
कार्यक्रममा भाग लिन आउने अधिकांस केन्द्रीय बैंकका गभर्नर तथा प्रतिनिधिहरु सम्मेलनका क्रममा लुम्बिनी घुम्न जाने कार्यक्रमसमेत रहेको छ। केही प्रतिनिधिहरु भने लुम्बिनी घुम्नुका साथै …माउन्टेन फ्लाइट' जाने कार्यक्रमसमेत तय भएको छ। केही केन्द्रीय बैंकका प्रतिनिधिहरुले नेपाल आएको मौकामा गल्फ कोर्ष गर्ने पनि कार्यक्रम छ। 
उद्घाटन र छलफल गरेर सम्मेलनलाई दुई भागमा विभाजित गरिएको छ। राष्ट्रपति यादवले कार्यक्रम उद्घाटन गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले सहभागीलाई स्वागत गर्ने छन्। उद्घाटन सत्रलाई राष्ट्रपति यादव, सिसेनका अध्यक्ष नैदानसुरेन जोल्जारगल, आइएमएफका नायव कार्यकारी निर्देशक सिनोहारा, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले शंवोधन गर्ने छन्। 
दोस्रो सत्रमा  मूख्य गरी तीन वटा बिषयमा छलफल हुने छ। पहिलो चरणमा हुने …रिजनल एन्ड इन्टरनेशनल फाइनान्सियल इस्युज' विषयको स्रोत व्यक्तिका रुपमा आइएमएफका निर्देशक ओड् पेर ब्रेक्क हुने छन्। वक्ताहरुले प्रस्तुत गरेको विषयमा सहभागीबीच छलफलसमेत हुने छ।
दोस्रो चरणमा हुने …न्यु फाइनान्सियल आर्किटेक्चर, म्याक्रोप्रुडेन्सियल रेगुलेसन एन्ड सुपरभिजन फर फाइनान्सियल स्टाविलिटी एन्ड ग्रोथ' विषयको स्रोत ब्यक्तिका रुपमा बैंक अफ इन्टरनेशनल सेटलमेन्टका जेम करुआना हुने छन्। त्यसपछि हुने …इमर्जिङ इस्युज अन इन्क्लुसिभ फाइनान्स फर ग्रोथ' विषयको स्रोत व्यक्ति एडिबीका उपाध्यक्ष थेह्री डे लङग्युमर हुने छन्। 



No comments:

Post a Comment

thanks for comment