एनआइडिसीको १३३ प्रतिशत वोनस सेयर, पुर्वाधार बैंकमा परिणत हुन पुँजी बृद्धि

काठमाडौं, मंसिर २४
सरकारले पुर्वाधार विकास बैंकका रुपमा परिणत गर्न लागेको एनआइडिसी डेभलपमेन्ट बैंकले पुँजी आकार दोब्बर बढीले बृद्धि गर्ने भएको छ। बैंकले चुक्तापुँजी १३३ प्रतिशतले बृद्धि गर्ने तयारी गरेको छ।
'पुर्वाधार विकास बैंकमा परिणत गर्ने सरकारी नीति अनुसार पुँजी बृद्धि गर्न लागिएको हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत शिभजी राय यादवले सोमबार नागरिकसँग भने, 'पुर्वाधार विकास बैंकमा लैजानका लागि सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गरिसकेका छौं।' उनले पुर्वाधार विकास बैंकमा परिणत गर्न संभाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए।
बैंकको अहिले चुक्ता पुँजी ४१ करोड ५८ लाख २३ हजार रुपैयाँ छ। बैंकले गत बर्षको नाफा र जगेडा कोषबाट लगानीकर्तालाई १३३ प्रतिशत वोनस सेयर दिएर पुँजी बढाउन लागेको हो। बैंकले ५५ करोड ३० लाख ४४ हजार रुपैयाँ पुँजी थप गर्न लागेको हो। वोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९६ करोड ८८ लाख ६७ हजार रुपैयाँ नाघ्ने छ।
बैंकले गत बर्ष ४४ करोड ८८ लाख २४ हजार रुपैयाँ नाफा गरेको थियो। यो नाफाबाट मात्र १३३ प्रतिशतले पुँजी बृद्धि गर्न सम्भव नभएपछि बैंकले जगेडा कोषबाट १० करोड ४२ लाख रुपैयाँ वोनस सेयरका लागि चलाउने छ। बैंकको गत बर्षसम्म जगेडा कोषमा एक अर्ब २५ करोड १६ लाख रुपैयाँ छ। 
'अघिल्लो बर्ष नाफामा गएपनि बैंकले लाभांस वितरण नगरी जगेडा कोषमा रकम जम्मा गरेको थियो,' यादवले भने, 'दुई बर्षको मिलाएर वोनस सेयर वितरण गर्न लागिएको हो।' बैंक सञ्चालक समितिले वोनस सेयर वितरणका लागि राष्ट्र बैंकसँग पनि स्वीकृति माग गरेको छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको बार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्नु पर्छ, त्यसपछि मात्र लगानीकर्ताले वोनस सेयर पाउने छन्।

बैंकमा सरकारको ९९.२६ प्रतिशत सेयर लगानी छ। उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल औद्योगिक विकास निगमका रुपमा स्थापित एनआइडिसी तीन बर्षअघि विकास बैंकमा परिणत भएको हो। तत्कालिन निगमले उद्योग व्यवसायमा ऋण लगानी गर्थियो। विकास बैंकमा परिणत भएपछि बैंकले निक्षेप संकलनका साथै अन्य बैंकिङ सुविधाहरु पनि उपलब्ध गराउन थालेको छ।
सरकारी पुर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकसँग गाभेर ठूलो बनाउने सरकारी नीति थियो। बजेट कार्यक्रममा समेत आपसमा गाभ्ने भनेर उल्लेख गरिए पनि कर्मचारीले राष्ट्रिय बाणिज्य बैंकसँग नगाभ्न दवाव दिएका थिए। कर्मचारीको दवावपछि सरकारले चालु आर्थिक बर्षको बजेटमा पुरानो नीति परिवर्तन गर्दै पूर्वाधार विकास बैंकका रुपमा परिणत गर्ने उल्लेख गरेको छ।
सरकारले एनआइडिसीलाई १० अर्बको पुँजीसहितको पुर्वाधार विकास बैंक बनाउने नीति लिएको छ। बैंकको आन्तरिक स्रोतबाट मात्र १० अर्ब पुँजी पुर्‍याउन सम्भव नभएकाले सम्भाब्यता अध्ययन गरिएको हो। सम्भाब्यता अध्ययनपछि अन्य सरकारी तथा संस्थागत निकायबाट सहयोग लिने/नलिने बारे टुङ्गो लाग्ने छ। 
बैंकले पुँजी संरचना बलियो बनाउन आफ्नो स्वामित्वमा रहेको अन्य बैंक तथा वित्तीय संस्थाहरुको सेयर बिक्री कार्य पनि सुरु गरेको छ। एनआइडिसीसँग नबिल बैंकको पाँच प्रतिशतभन्दा बढी सेयर छ। यसबाहेक एनआइडिसी क्यापिटल मार्केट, गोरखकाली रबर उद्योग, युनाइटेड इन्स्योरेन्स, वुटवल सुती धागो उद्योगलगायत एक दर्जन संस्थाहरुको सेयर छ। 
चालु आर्थिक बर्षको असोजसम्म बैंकले एक अर्ब २६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकले एक अर्ब ५९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको पुँजी कोष अनुपात करिव ६० प्रतिशत हाराहारीमा छ भने खराब कर्जा २४.१४ प्रतिशत पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात ५३.५९ प्रतिशत रहेको छ।

No comments:

Post a Comment

thanks for comment