नबिलमा नेपालीको विदेशी कम्पनीमार्फत लगानी, राष्ट्र बैंकले विनोद चौधरीको लाभांस रोक्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १०
विदेशी प्रवर्द्धक एनबी इन्टरनेशनलका नामबाट भएको लगानी पारदर्शी नभएको भन्दै नेपाल राष्ट्र बैंकले नबिल बैंक लिमिटेडलाई लाभांस वितरण गर्न रोक लगाएको छ। विदेशी कम्पनी एनबी इन्टरनेशनलमा नेपाली उद्योगपतिको लगानी रहेको पुष्टी भएपछि राष्ट्र बैंकले लाभांस रोक लगाएको हो।
नबिल बैंकले गत आर्थिक बर्षमा गरेको दुई अर्ब २२ करोड ६६ लाख रुपैयाँ खुद नाफाबाट लाभांस घोषणा गरेको थियो। बैंकले सेयर लगानीकर्तालाई २५ प्रतिशत वोनस सेयर र ४० प्रतिशत नगद लाभांस दिने घोषणा गर्दै राष्ट्र बैंकसँग स्वीकृति माग गरेको थियो। विदेशमा नेपालीले लगानी गर्न नपाउने भन्दै राष्ट्र बैंकले एनबी इन्टरनेशनलका प्रवर्द्धकका साथै कम्पनीको सबै विवरण उपलब्ध गराउन निर्देशन दिँदै लाभांस वितरण अस्वीकार गरेको हो।
उद्योगपति विनोद चौधरीले एनबी इन्टरनेशनलमा घुमाउरो बाटो प्रयोग गरी आफूले लगानी गरेको तथ्यसहित आत्मकथा प्रकाशित गरेपछि राष्ट्र बैंकले यसमा प्रश्न उठाउँदै लाभांस वितरणमा रोक लगाएको हो। राष्ट्र बैंकले बार्षिक साधारणसभा गर्न छुट भने दिएको छ। सभाले स्थानीय सेयरधनीलाई भने लाभांस वाँड्न पाउँछन्। 
'नेपालको कानुनले नेपालीलाई विदेशमा लगानी गर्न स्वीकृति दिएको छैन, त्यही भएर चौधरीले गरेको लगानी गैरकानुनी हो,' राष्ट्र बैंकका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'साथै विदेशी बैंक तथा वित्तीय संस्थावाहेक नेपालको बैंकहरुमा कुनै संस्था तथा व्यक्तिले लगानी गर्न पनि पाउँदैन।' एनबी इन्टरनेशनल बैंक तथा वित्तीय संस्था अन्तर्गत पर्दैन। 
आत्मकथा …विनोद चौधरी' मा उनले नबिलको सेयर किन्न नेपालको …सिस्टम'  का कारण घुमाउरो बाटो हिँड्न वाध्य हुनु परेको उल्लेख गरेका छन्। चौधरीको एनबी इन्टरनेसनलका नाममा ५० प्रतिशत सेयर किनेका छन्। वंगलादेशी साझेदारहरुसँगको सहयोगमा चौधरीले सेयर खरिद गरेको पुस्तकमा उल्लेख छ। तत्कालिन अरब बैंकका संस्थापक युएइका सेखहरुको सेयर उनले खरिद गरेका हुन्। 
नबिलमा ५० प्रतिशत वाहेक स्थानीय सेयरधनीका तर्फबाट पनि उनको ५ प्रतिशत सेयर छ। तीन छोरा, श्रीमती र आफ्ना स्थानीय कम्पनीहरुको नाममा उनले  पाँच प्रतिशत सेयर खरिद गरेका छन्। 
उनले विदेशी कम्पनीका नाममा नबिलमा गरेको लगानीका बारेमा 'कर्पोरेट' क्षेत्रका अधिकांसलाई थाहा छ। सरकार र नियमनकारी निकायहरुलाई यस बारे पत्तो भएपनि कसैसँग प्रमाण भने थिएन। पुस्कमा चौधरी आफैले सेयर खरिद गरेको स्वीकार गरेपछि राष्ट्र बैंकले कानुनी कारवाहीमा अगाडि बढेको हो। नेपालको कानुनले यहाँका नागरिकलाई विदेशमा लगानी गर्ने छुट दिएको छैन। 
निजी क्षेत्रको सबैभन्दा वढी नाफा कमाउने नबिल बैंकबाट विदेशी कम्पनीका नाममा उनले वर्षेनी करोडौं रुपैयाँ लाभांस वुझ्छन्। यो रकम विदेशी संस्थाका नाममा डलरका रुपमा वाहिरिन्छ। गत आर्थिक वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको चुक्ता पुँजी तीन अर्ब चार करोड ६० लाख रुपैयाँको ४० प्रतिशत नगद लाभांस पाउनेवाल थिए। यो रकम करसहित ६० करोड ९२ लाख रुपैयाँ हुन्छ। 
लाभांस स्वीकृति रोक लगाएपछि राष्ट्र बैंकमा प्रत्यक्ष अप्रत्यक्ष दवाव पर्न थालेको एक अधिकारीले जानकारी दिए। दवाव धेरै पर्न थालेपछि राष्ट्र बैंकले लाभांस स्वीकृतिका लागि नबिल बैंकका अधिकारीहरुलाई दुई वटा विकल्पसमेत दिएको छ। …एनबी इन्टरनेशनलको सेयर विदेशी बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने,' राष्ट्र बैंकका ती अधिकारीले भने, …वा, नेपाली लगानीकर्ताहरुलाई बेक्री गरेपछि मात्र लाभांस स्वीकृति हुन्छ।'
विदेशी बैंक तथा वित्तीय संस्थाहरुले पुरै ५० प्रतिशत नै सेयर किन्न पाउने सुविधा कानुनमा छ। नेपालीलाई भने एउटा समूहले अधिकतम १५ प्रतिशत मात्र सेयर किन्न पाउने व्यवस्था छ। …ऐन नियम मानेर आउने भए लाभांस वितरण गर्न तुरुन्त स्वीकृति दिन सकिन्छ,' ती अधिकारीले भने, …मूख्य प्रवर्द्धकले नै विदेशीमार्फत सेयर किनेको भन्ने लिखित दस्तावेज हुँदा हुँदै राष्ट्र बैंकले नेपाली पुँजी वाहिर लैजान स्वीकृति दिन सक्दैन।'
संयुक्त  लगानीमा खुलेको पहिलो नेपाली बैंकका तत्कालिन सल्लाहकार जिसी श्रीवास्तवको सहयोगमा सेयर खरिद गरेको चौधरीले पुस्तकमा उल्लेख गरेका छन्। उनले ५० मध्ये ३० प्रतिशत सेयर किन्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेपछि तेर्सिएको कानुनी प्रावधानका कारण विदेशी कम्पनीका नाममा पुरै ५० प्रतिशत सेयर किन्नु परेको प्रस्टीकरण दिएका छन्।
…कहिलेकाहीँ सही काम गर्न ऐन र नियम अपुरो छ वा बाधक छ भने तिनलाई पछाडि छोड्नु नै उद्यमीको साहसको परिचय हो,' चौधरीले आत्मकथामा लेखेका छन्, …मलाई घुमाउरो वाटो हिँड्न वाध्य पारेको यहाँको सिस्टमले नै हो।' 


आत्मकथामा चौधरीको स्वीकारोत्ति
तत्कालिन नेपाल अरब बैंकका सल्लाहकार जिसी श्रीवास्तवको सहयोगमा सेयर खरिद गरेको चौधरीले पुस्तकमा उल्लेख गरेका छन्। विक्री गर्न लागिएको ५० मध्ये ३० प्रतिशत सेयर किन्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेपछि तेर्सिएको कानुनी प्रावधानका कारण विदेशी कम्पनीमार्फत सेयर खरिद गरिएको चौधरीको पुस्तकमा छ। 
'बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै पनि नेपालीले बैंकको आधा प्रतिशतभन्दा वढी सेयर किन्न नपाउने प्रावधान थियो,' पुस्तकमा उल्लेख छ, …साधारणसभाबाट नियमावली शंसोधन गर्न खोज्दा साधारण सेयरधनीले विरोध गरे। प्रावधान हटायो भने बैंक एउटा विजिनेस हाउसको हातमा जान्छ भन्ने उनीहरुको तर्क थियो।'
त्यही पनि सञ्चालक समितिले सेयर विक्री सम्झौता कार्यान्वय गर्न प्रबन्धपत्र नियमावली सशोधनको निर्णय गर्‍यो। यस विरुद्ध  सञ्चालक शम्भु पौडेलले सर्वोच्चमा रिट हालेका थिए। 'सर्वोच्चले अन्तरिम आदेश दियो,' चौधरीको आत्मकथामा छ।
चौधरीका अनुसार, सर्वोच्चले तत्काल सेयर विक्रीमा रोक लगाएपछि  बैंक व्यवस्थापनले अन्य समूहसँग  सेयर विक्री गर्न छलफल गर्न थाल्यो। त्यही बेला दिल्लीमा भएको वर्ल्ड इकोनोमिक फोरमको वैठकमा चौधरीको भेट नेसनल बैंक बंगलादेशका अध्यक्ष महवुव रहमानसँग भयो। त्यही बैंकका अर्का सञ्चालक अब्दुल अवाल मिन्टुसँग पनि उनको सम्बन्ध बन्यो।
'म नेपाली नागरिक भएकाले सेयर किन्न सक्दिन। तर तिमी नेसनल बैंकको तर्फबाट किन्न सक्छौं। जुन दिन नियम संशोधन हुन्छ मेरो अंश मलाई दिनु,' रहमानसँग भएको कुराकानी बारे चौधरीले उल्लेख गरेका छन्, 'उनीहरु मेरो प्रस्तावमा सहमत भए।'
उनले सेयर खरिदको सैद्धान्ति सहमतिपछि नेसनल बैंकले राष्ट्र बैंकसँग सजिलै स्विकृति पाएको थियो। चौधरीले स्वीकृति लिँदा गभर्नरमा सत्येन्द्रप्यारा श्रेष्ठ थिए, जो गभर्नरबाट अवकासपछि सोझै नबिल बैंकको अध्यक्ष भएका थिए। 
'एउटा विदेशी बैंकले आफ्नो नामको सेयर अर्को विदेशी बैंकमा बेच्न कुनै कानुनले रोक्दैन,' चौधरीले उल्लेख गरेका छन्, 'कानुनी अड्चन सल्टिएपछि सेयर फिर्ता   लिन्छु भनेर रहमान र मिन्टुसँग मैले गरेको भद्र सहमतिको कुनै कानुनी आधार थिएन।'
सेयर खरिद गरेको केही वर्षमा नेसनल बैंकका साझेदारबीच मतभेद सुरु भएको थियो। नेसनल बैंकले अरब बैंकबाट हात झिक्ने भयो। 'रहमान र मिन्टुले अरब बैंकको ५० प्रतिशत सेयर एनबी इन्टरनेसनलको नाममा सारे,' आत्मकथामा छ, 'एनबीको प्रवेसपछि अरब बैंक विधिवत रुपमा नबिल बैंकमा परिणत भयो।'

No comments:

Post a Comment

thanks for comment